१६ चैत्र २०८० शुक्रबार
समाज

रसुवागढी नाकाबाट बिहीबार १४ वटा माइक्रोबस भित्रियो

रसुवागढी नाका । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट बिहीबार कपडा रोल र बिक्रीका लागि किनिएको १४ वटा माइक्रोबस भित्रिएको छ। चीनतर्फ गएको पहिरोका कारण आइतबारदेखि बन्द भएको नाका बिहीबार खुलेको हो। नाका खुलेसँगै एउटा चिनियाँ गाडीले सामग्री मितेरी पुलमा झारेका थिए।  

पहिरो पन्छाउनका लागि धेरै समय लागेकाले अन्य गाडीले ल्याएका सामग्री बिहीबार झार्न नसकिएको हो। बाँकी सामग्री शुक्रबार नेपाल आउने छ। रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बिहीबारदेखि नाकाबाट आयात सुरु भएको र आइतबारबाट सामग्री आयात बढ्ने बताए।  

नाका सञ्चालन र कोभिड–१९ नियन्त्रण सम्बन्धी विषयमा दुई देशका अधिकारी बीच भएको छलफलमा चिनियाँ पक्षले पहिरो हटाएर सामग्री ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए। आइतबारसम्म पाँचवटा चिनियाँ सवारीले सामग्री ल्याएर मितेरी पुलमा झार्ने छन्।  

स्वास्थ्य सुरक्षा प्रोटोकललाई पूर्ण रूपमा पालना गर्ने गरी असोज १८ गतेदेखि मालवाहक सवारी साधनको संख्या बढाउने छ। र सोही दिनदेखि चिनियाँ गाडीले नेपाली भूभागमा सामग्री झारिदिने छन्। यसका लागि नेपाली पक्षले व्यवस्थापनको काम गर्नुपर्ने छ।  

कोभिड–१९ कारण पटक पटक बन्द हुँदै आएको नाकाबाट चिनियाँ पक्षले आयातमा कडाइ गरेको छ भने निर्यातका लागि अनुमति नै दिएको छैन। चिनियाँ सामग्री समयमा नै ल्याउन नसक्दा अहिले ल्हासा, सिगात्से, पाङसिङ लगायतका क्षेत्रमा रहेका गोदाममा सामग्री थन्किएको छ।  

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका छन्।  

मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ। चीनको केरुङमा ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भएपनि सामग्रीको आयात न्यून भएको छ। अहिले केरुङस्थित पाङसिङको गोदाममा करिब १२ सय कन्टेनरमा आयात गर्न पुग्ने सामग्री रहेको छ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १५ आश्विन २०७७ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App