७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु

रौतहटको गरुडास्थित महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ। गुजरा नगरपालिका २ कटानी बजारकी राधिका राउतको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा मृत्यु भएको हो।

वडाध्यक्ष अशोककुमार थारुको रोहबरमा महिलालाई प्रहरी चौकी रंगपुरलाई बुधबार साँझ बुझाइएको थियो। रंगपुर प्रहरी चौकीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई बुझाएको थियो। चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा महिलालाई राख्न असहज भएपछि गरुडामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको थियो।

गुजरा नगरपालिकाकै कटानी बजारका एक युवकसित राधिकालाई अनैतिक सम्बन्ध कायम गर्दै गरेको फेला पारेपछि महिलाका श्रीमान् सुमन राउतले वडाध्यक्षको रोहबरमा प्रहरीलाई बुझाएका थिए।

मृतक महिला लामो समयदेखि छारे रोगको बिरामी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको महिलाले नै प्रहरीलाई जानकारी गराएको बुझिएको छ। स्वास्थ्य जाँच गर्ने क्रममा पनि महिलाले आफू छारे रोगको बिरामी भएको जानकारी गराएको प्रहरीको भनाइ छ।

मृतक महिलाका श्रीमान् राउत र वडाध्यक्ष थारुले पनि मृतक महिला लामो समयदेखि छारे रोगको उपचार गराइरहेको बताएको प्रहरीको भनाइ छ।  

महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा एक महिलाको मृत्यु भएको र हिरासतमा रहेकी महिलाको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी गराएका छन्।

गत भदौ महिनामा इलाका प्रहरी कार्यालय गरुडामा एकजना दलित युवकको मृत्यु भएको थियो। दलित युवकको मृत्युपछि जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपिसहित छ जनालाई कारबाहीको सिफारिश गरिएको थियो।

प्रकाशित: १५ आश्विन २०७७ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App