१५ चैत्र २०८० बिहीबार
समाज

कोरोना संक्रमणको उच्च जोखिममा जुम्ला

नेपाल प्रहरी भ्यान डुलाएर खलंगा बजारमा माइकिङ गर्दै । तस्बिरः डिबी/नागरिक

एकै पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालमा भर्ना भएका बिरामीलाई कोरोना पोजेटिभ देखिएपछि जुम्लामा त्रास बढेको छ। दुई चिकित्सक   २६ जना स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना पोेजेटिभ देखिएको हो। कालिकोटबाट उपचारका लागि अस्पतालमा भर्ना भएका ६ जना बिरामीलाई पनि कोरोना पोजेटिभ देखिएको अस्पताल प्रशासनले जनाएको छ।

कालिकोटबाट स्वाब परीक्षणका लागि पठाएका मध्ये थप ८ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर मेगराज बुढाले जानकारी दिए। उनका अनुसार संक्रमित कालिकोट खाडाचक्र नगरपालिका, पलाता गाउँपालिका र नरहरीनाथ  नगरपालिकाका हुन्। मुगुका दुई जनामा पनि कोरोना पोजेटभ देखिएको हो। दुबै जना मुगु खत्याडका हुन्। यी दुबैको स्वाब संकलन गरेर मुगुबाट परीक्षणका लागि कर्णाली अपस्पतालमा पठाइएको थियो।

मेडिकल रेकर्डर बुढाले भने,‘कर्णाली अस्पतालका दुई जना चिकित्सक, नर्स र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हो। संक्रमित सबै कोही होम आइसोलेसनमा छन्। कोही कर्णाली प्रतिष्ठानको आइसोलेसनमा छन्। बागवानी अनुसन्धान केन्द्रका ८ जना कोरोना संक्रमित देखिएका छन्।  

बिरामीको उपचार गर्ने सिलशिलामा ठूलो संख्यामा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत स्वाथ्यकर्मीहरु संक्रमित हुनुपरेको छ। अस्पताल निर्देशक डा. मंगल रावल भन्छन्,‘सबैको स्वास्थ्य लाभको कामना छ। कोरोना महामारीको अत्यन्तै खतरानक चरणमा प्रवेश गरेका छौ, सबै सचेत बनौ।’

दुई दिनअघि अस्पताल भर्ना भएका एक बिरामीमा कोरोना पोजेटिभ देखिएपछि ट्रेसिङ गर्दा ठूलो संख्यामा संक्रमण देखिएको थियो। सरकारले लक्षण नदेखिएसम्म कोरोना परीक्षण नगर्नु भन्ने आदेश दिएको थियो। बिरामीलाई नै कोरोना देखिएपछि ट्रेसिङ कोरोना देखिएको थियो। कोरोना संक्रमण देखिएपनि कसैलाई लक्षण देखिएको छैन।

जुम्लामा यसअघि २ सय १९ जनाले कोरोना जितेर घर फर्किसकेका छन्। त्यसमध्ये एक सय १८ जना कर्णाली प्रतिष्ठानको आइसोलेसनबाट डिस्चार्ज भएका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नहुँदासम्मका लागि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।  

संक्रमितको संम्पर्कमा रहेका सबैको कन्टयाक्ट ट्रेसिङ नहुँदासम्म अस्पतालका सेवा बन्द हुुने भएका हुन्। एक्कासी ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएपछि चन्दननाथ नगरपालिकामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ।

चन्दननाथ नगरपालिका क्षेत्रमा रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी स्वास्थ्यकर्मी र नगरबासीहरूको स्वाब परीक्षण गर्र्ने क्रममा एकै पटक ३० भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखियो। देखिएकाले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको टेस्टिङ र ट्रेसिङ नहुँदासम्म जुम्ला अनिश्चितकालिन निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिमपुर्ण क्षेत्रमा निषेधाज्ञा जारी गर्न अनुरोध गरेकोले जिल्ला सुरक्षा समितिको बैठकले चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड्, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा छिन लाग्नासम्मको चार किल्लाभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। नगरपालिका क्षेत्रमा औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द भएका छन्। बिहीबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि भिडभाड, जमघट, भेला, पर्व, जात्रा तथा आसन्न चाडपर्वहरू नगर्न र नगराउन निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। कुनै पसल, कार्यालय, व्यवसाय, संघ संस्था खोल्न समेत नपाउने गरी संक्रामक रोग ऐन, २०२० को दफा २(२) तथा स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको  जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।  

कोरोना संक्रमण फैलिएको भन्दै निषेधाज्ञा जारी गरेपछि अर्को विकल्प अपनाउन व्यवसायीले आग्रह गरेका छन्। उनीहरुले लकडाउनले जुम्लाको अर्थतन्त्र तहसनहस हुन थाल्यो। लकडाउनको विकल्प प्रस्तुत गर्न स्थानीय प्रशासनलाई आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी थापाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न जुम्लाबासीलाई आग्रह गरेका छन्। सेनिटाइजरको प्रयोग गर्ने, घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्नेदेखि सामाजिक तथा ब्यक्तिगत दूरी कायम गर्न आग्रह गरिएको उनले बताए।  

निषेधाज्ञा गर्नुअघि नेपाल प्रहरीले स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउनको लागि माइकिङ गरेर आग्रह गरेको थियो।

प्रकाशित: १५ आश्विन २०७७ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App