coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाका कारण धरान उपमहानगरपालिकाको सेवा प्रभावित

धरान उपमहानगरपालिका कार्यालय । तस्बिर : रोहित

धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिन थालेपछि सेवा प्रवाह प्रभावित भएको छ। संक्रमित कर्मचारीहरु आइसोलेसनमा र नजिक सम्पर्क भएकाहरु होम क्वारेन्टिनमा बसेपछि उपमहानगरपालिकाको सेवा प्रवाह प्रभावित भएको हो।  

उपमहानगरपालिकाले संक्रमण देखिएको शाखाहरुको सेवालाई तत्कालको लागि बन्द गरेको छ। प्रमुख प्रशासकीय अधिकृत विदुर खनालका अनुसार दुई दिनयता ५० प्रतिशत कर्मचारीहरु मात्र कार्यालयमा उपस्थिति छन्। अन्य कर्मचारीहरु आइसोलेसन र क्वारेन्टिनमा बसेको उनले बताए।  

उपमहानगरपालिकाको प्रशासन महाशाखा, सूचना शाखा र घरनक्सा शाखाका कर्मचारीहरुलाई संक्रमण पुष्टि भएको थियो। अहिले ती शाखाहरुको सेवा प्रवाह प्रभावित भएको छ। नयाँ भवनको माथिल्लो तलामा बसेर काम गर्ने योजना महशाखाका कर्मचारीलाई पनि संक्रमण देखिएको थियो। ‘प्रशासन, सूचना, घरनक्साका संक्रमण भएका कर्मचारी साथीहरु आइसोलेसनमा छन्। अरु होम क्वारेन्टिनमा भएकोले सबै सेवा प्रवाह हुन सकेको छैन,’ प्रमुख प्रशासकीय अधिकृत खनालले भने।

पछिल्लो समय धरानमा संक्रमणको संख्या बढ्दै गएको छ। बिहीबारसम्म धरानमा संक्रमितहरुको संख्या ५ सय ३२ पुगेको छ। सर्वसाधारण, वीपीमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि जनप्रतिनिधिसमेतलाई संक्रमण पुष्टि भइरहेको छ। धरानका मेयर तिलक राई संक्रमण देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाइने बताउँछन्। ‘कार्यालयमा पनि कुन शाखामा देखिएको हो, त्यहाँ मात्र काम रोक्छौं। क्लोज कन्ट्याकमा भएकालाई क्वारेन्टिनमा पठाउछौं,’उनले भने,‘बजार, पसलतिर पनि स्वास्थ्य मापदण्ड पालना सबैले गर्नुपर्छ।’

वडा कार्यालयहरु पनि बन्द हुँदै

कोरोना संक्रमणकै कारण धरानका विभिन्न वडा कार्यालयहरु पनि धमाधम बन्द हुन थालेका छन्। वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि संक्रमण देखिन थालेपछि धरानको वडा कार्यालयहरु पनि बन्द हुन थालेको हो।

वडा नं १६ मा कार्यरत इन्जिनियरलाई संक्रमण भएपछि संक्रमण फैलन नदिन तीन दिनदेखि सेवा बन्द गरिएको अध्यक्ष दिलकुमार गिरीले बताए। वडाका थप २ जना कर्मचारीलाई पनि लक्षण देखिएकोले कार्यालय बन्द गरिएको उनले बताए।

वडाका २ जना कर्मचारीलाई बुधबार संक्रमण पुष्टि भएपछि वडा नं १५ को कार्यालय आज(बिहीबार)देखि एक साताको लागि बन्द गरिएको सूचना जारी गरेको छ। यसैगरि, वडा सदस्यलाई संक्रमण देखिएपछि वडा नं १२ को कार्यालय शुक्रबारदेखि बन्द हुने भएको छ। थप एक महिला वडा सदस्यलाई र कर्मचारीलाई पनि लक्षण देखिएपछि कार्यालय बन्द गर्ने निर्णय लिइएको वडा अध्यक्ष टंक राईले जानकारी दिए।  

बुधबार नै वडा नं ३ का एक सदस्यलाई संक्रमण पुष्टि भएको थियो। उक्त वडाका थप २ कर्मचारीहरुलाई पनि ज्वरो आएकोले कार्यालयको सेवा प्रवाहबारे शुक्रबार निर्णय गरिने अध्यक्ष आशाकुमार श्रेष्ठले बताए।

प्रकाशित: १५ आश्विन २०७७ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App