coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शहिदलखनमा सामाजिक सुरक्षा भत्ता बैंकबाट

गोरखाको शहिदलखन गाउँपालिका ।

आर्थिक पारदर्शिता र सुशासन कायम गराउन भन्दै गोरखाको शहिदलखन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण थालेको छ। सामाजिक सुरक्षा भत्ता पाउन योग्य तीन हजार एक सय ९१ जनाको करिब तीन करोड ९० लाख रुपैयाँ बैंक मार्फत पठाएको गाउँपालिकाले जनाएको छ।  

‘हरेक वडामा पाएक पर्ने गरी बैंक मार्फत सामाजिक सुरक्षा रकम वितरण सुरु गरेका छौँ’, गाउँपालिका अध्यक्ष रमेश थापा मगरले भने। उक्त गाउँपालिकामा यसअघि समाजिक सुरक्षा रकम वडा कार्यालय मार्फत वितरण भइरहेको थियो। ‘यो चौमासिक असारदेखि कात्तिकसम्मको सामाजिक सुरक्षा रकम बैंक मार्फत दिन थालेका हौँ’ थापाले भने।  

वडा नम्बर १, २, ३ र ४ को ग्लोबल आइएमी बैंक मार्फत र ५, ६, ७, ८ र ९ को प्राईम बैंक मार्फत वितरण गरिने उनले बताए। ग्लोबल आइएमई बैंकको शाखा मनकामना, कुरिनटार, गोरखा र खैरेनीमा रहेको छ भने प्राईम बैंकको गाउँपालिका केन्द्र, गोरखा सदरमुकाममा रहेको छ। ‘धेरै ठाउँमा शाखा रहेको बैंक भएकाले सामाजिक सुरक्षा भत्ता लिन स्थानीयलाई पाएक पर्ने गरी ब्यवस्थापन गरेका छौँ’ उनले भने।  

९० वर्ष उमेरमाथिका वृद्ध र पूर्ण अपाङ्गता भएकालाई बैंकले घरैमा गएर सामाजिक सुरक्षा रकम वितरण गर्ने सम्झौता भएको गाउँपालिकाका पञ्जिकरण अपरेटर सोम आलेले बताए।  

७० वर्षमाथिका सबै, ६० वर्ष माथिका दलित, एकल महिला, ५ वर्ष मुनिका दलित बालबालिका र पूर्ण अपाङ्गता भएकाहरुलाई अहिले स्थानीय तहले सामाजिक सुरक्षा रकम वितरण गर्दै आएको छ। घटना दर्ता चुस्त राख्न, दोहोरोपन आउन नदिन पञ्जिकरण बिभागले सामाजिक सुरक्षा भत्ता वितरण बैंकबाट गर्न पटक–पटक ताकेता गर्दै आएको छ।  

आएपछि स्थानीय तहहरुले बैंकबाट वितरण गर्न थालेपछि अधिकांशले अझै वडा कार्यालय मार्फत भत्ता वितरण गर्दै आएका छन्। केही पालिकाले बैंक मार्फत वितरण गरेपनि नियमित गर्न सकेका छैनन्।

प्रकाशित: १५ आश्विन २०७७ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App