७ वैशाख २०८१ शुक्रबार
समाज

तीनवटा प्रदेशबाट बाहिरियो मनसुन

नेपालका तीनवटा प्रदेशबाट मनसुन बाहिरिएको मौसमविद्ले जानकारी दिएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान १० बजे ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ को केही पश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।  

देशका बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन अझै लाग्ने देखिएको महाशाखाले जनाएको छ।  

‘हाल बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले नेपालका बाँकी भूभागबाट मनसुन बहिर्गमन हुन केही दिन लाग्ने सम्भावना छ,’ सूचनामा भनिएको छ। 

यसैकारण अझै केही दिन केही ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको छ।  

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबारसम्म यस्तो छ वर्षाको सम्भावना : 

असोज १५ गते बिहीबार

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना छ।  

राती : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई  स्थानहरूमा  हल्का वर्षाको सम्भावना छ।  

असोज १६ गते शुक्रबार

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना छ।  

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा  तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १७ गते शनिबार

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा  तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने मिति सामान्यतया सेप्टेम्बर २७ भए पनि केही समय लम्बिएको हो। 

अझ अन्तिम समयमा केही दिन देशभर ठूलो वर्षासमेत भएको थियो। तर केही दिनयता वर्षा हुने क्रम निकै घटेको छ। मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।  

प्रकाशित: १५ आश्विन २०७७ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App