१० कार्तिक २०७७ सोमबार
समाज

मोरङमा कोरोना संक्रमित दुई जनाको मृत्यु

मोरङमा बिहीबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। उर्लाबारीकी एक महिला र कारागारमा रहेका एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो।  

मोरङको उर्लाबारी–२ की ८४ वर्षीया महिलाको बिहीबार बिहान ४ बजे घरमै मृत्यु भएको छ। उर्लाबारी नगरपालिकाको स्वास्थ्य महाशाखाका सहसंयोजक सुरेश खड्काका अनुसार होम आइसोलेनसमा बसेकी वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो।  

बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार गर्न भर्ना भएको केही दिनपछि पोजेटिभ रिपोर्ट आएको थियो। असोज १३ गते कोरोना भाइरसको संक्रमण पुष्टिपछि ती वृद्धालाई घर लगिएको थियो।  

‘अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुुष्टि भएपछि घर ल्याइएको थियो,’ सहसंयोजक सुरेश खड्काले भने, ‘वृद्धाको अवस्था गम्भीर भएको र थप उपचारका लागि धरान तथा विराटनगरको कोभिड अस्पतालमा बेड नभएपछि घर ल्याइएको थियो।’

मृतक वृद्धालाई दम, सुगर, प्रेसरलगायत पुरानो रोग भएकाले पनि उपचार गर्न समस्या रहेको भन्दै परिवारले नै घर लैजाने भनेको सहसंयोजक खड्काले बताए।

त्यसैगरी, मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका सुनसरी इटहरी–४ का २७ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

‘मृतक पुरुषलाई श्वासप्रश्वासमा समस्या र प्रेसर ‘लो’ जस्तो भएपछि उपचारका लागि कोसी अस्पताल लगेका थियौं,’ मोरङ कारागारका जेलर सुवास लामिछानेले भने, ‘अस्पताल लगेको केही समयपछि उनको मृत्यु भयो।’ ती पुरुषको मृत्यु भएपछि स्वाबको पिसिआर परीक्षण गरिएको लामिछानेले बताए।  

लागुऔषध मुद्दामा ०७६ मंसिर १८ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए। कोरोना भाइरससँग मिल्ने लक्षण देखिएकाले पुरुषको मृत्युपछि स्वाब संकलन गरिएको र बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको अस्पतालका आइसोलेसन प्रमुख डाक्टर लक्ष्मीनारायण यादवले बताए। उनीमा कुनै दीर्घरोग नदेखिएको डाक्टर यादवले बताए।  

त्यस्तै, मोरङ कारागारकै अर्को कैदीबन्दीमा कोरोना पुष्टि भएपछि बुधबारदेखि कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ। मोरङको बुढीगंगाका २६ वर्षीय पुरुष जवरजस्ती करणी मुद्दामा तोकिएको कैद सजाय भुक्तान गरिरहेको जेलर लामिछानेले बताए।  

‘सास फेर्न गाह्रो भएपछि कोसी अस्पताल सोमबार लगेको र स्वाब पिसिआर परीक्षण गरिएको थियो,’ जेलर लामिछानेले भने, ‘बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आयो। कोरोना संक्रमण पुष्टिपछि कोसीको कोभिड उपचार केन्द्रमा भर्ना गएिको छ।’

संक्रमित पुरुषलाई अदालतले ५ वर्षको सजाय सुनाएको र २ वर्ष ५ महिना सजाय भुक्तान गरिसकेको जेलर लामिछाने बताए। मोरङ कारागारमा ८४१ पुरुष र ८१ महिला गरी ९२२ जना रहेका छन्। यससँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

प्रकाशित: १५ आश्विन २०७७ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App