१६ चैत्र २०८० शुक्रबार
समाज

उदयपुरका ३ सय बढी कुकुरलाई रेविजविरुद्ध सुई

रेविजविरुद्ध खोप दिन कुकुर लिएर पशु कार्यालय आएका सेवाग्राही । तस्विरः महेश्वर

उदयपुरका स्थानीय तहहरुले घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप दिएका छन्। ‘१४ औं विश्व रेविज दिवस’को अवसर पारेर मंगलबार सदरमुकाम त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले कुकुरलाई रेविजविरुद्ध खोप दिएका हुन्।  

नगरपालिकाका पशु सेवा शाखाले बिभिन्न ४ ठाउँमा शिविर राखेर कुकुरलाई रेविजबिरुद्धको खोप दिएको हो। शिविरमा २ सय १३ कुकुर र ८ वटा बिरालोलाई निःशूल्क रेविजविरुद्धको खोप दिइएको पशु सेवा शाखा प्रमुख इन्द्रनारायण चौधरीले बताए। कुकुरले टोकेमा रेविजजस्तो प्राणघातक रोग लाग्ने र यसको समयमा उपचार नभए मृत्यु हुने जोखिम भएकाले त्यसबाट कुकुरलाई रेविजविरुद्ध खोप दिनु आवश्यक भएर यो शिविर राखिएको चौधरीले बताए।

‘प्राणघातक रोगलाई बुझौँ, आआफ्नो घर पालुवा कुकुर बिरालोलाई रेविजविरुद्ध खोप लगाऔं र यसलाई परास्त गरौँ’ भन्ने नाराका साथ आयोजित दिवसमा घरपालुवा कुकुर विरालोलाई खोप लगाइएको उनले बताए। नगरबासीलाई सहज सेवा दिने उद्देश्यले वडा नं. १० बोक्सेस्थित पशु विज्ञान केन्द्र, वडा नं. ४ को पशु सेवा केन्द्र देउरी, वडा नं. २ को मोथियाही र ८ नं. को राजावास पशु कार्यालयमा शिविर राखेर खोप लगाइएको हो।  

त्यसबाहेक नगरबासीले आफूलाई पायक पर्ने पशु सेवा कार्यालयमा आएर आफ्ना कुकुर विरालोलाई खोप दिलाएको चौधरीले बताए। प्रत्येक वर्ष रेविजविरुद्धको दिवसको अवसर पारेर नगरपालिकाले निःशूल्क रेविजविरुद्ध खोप शिविर सञ्चालन गर्दै आएको पनि उनले बताए। शिविरमा आउने पहिलो सेवाग्राहीलाई खादा र माला लगाएर कर्मचारीले स्वागतसमेत गरेका थिए।

उता कटारी नगरपालिकाले पनि दिवसको अवसर पारेर ८३ वटा कुकुरलाई रेविज खोप दिएको छ। नगर स्वास्थ्य तथा पशु शाखाले नगरमै आएका र आसपासका सेवाग्राहीका कुकुर विरालालाई खोप दिएको हो।

प्रकाशित: १४ आश्विन २०७७ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App