७ वैशाख २०८१ शुक्रबार
समाज

बेपत्ता बाबु खोज्दै बालबालिका पञ्जाबदेखि जुम्लामा

तीन वर्षदेखि बाबु बेपत्ता भएको भन्दै चार जना बालबालिका बाबु खोज्दै भारतको पञ्जाबदेखि जुम्ला पुगेका छन्। १७ वर्षीया मधु विक आफ्ना भाइबहिनी लिएर बाबु खोज्दै जुम्ला पुगकी हुन्।

उनीहरुले कैलाली जिल्ला घर भएको बताएका छन्। मधुका बुबा पञ्जाबमा नोकरी गर्थे। जुम्लामा १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, ९ वर्षीय नवीन विक र ३ वर्षका आशीष विक जुम्ला सदरमुकाम खलंगा पुगेका हुन्।

उनीहरु सबै भारतको पञ्जाबमा जन्मिएका थिए। नेपालको कैलाली जिल्लामा घर छ भन्ने सुनेका थियौं। मधुले सुनाइन्,‘तर, कुन ठाउँ, कुन टोल हो, पत्ता लगाउन सकेनौँ। त्यही भएर भौतारीएर जुम्ला पुगेका हौँ।’

कान्छो छोरा एक महिनाको हुँदै आमाको मृत्यु भयो। आमाको निधनपछि बाबुले अर्की आमा लिएर भागेको मधुले बताइन्। बुबाको अहिले सम्म कुनै अत्तोपत्तो नै छैन। उनीहरुले बाबुलाई बेपत्ताको सुचीमा राखेका छन्। भारतको पञ्जाबमा बाबु नहुँदा विचल्लीमा परेको सुनाउँदै मधुले भनिन्,‘तीन वर्षको भाइ बोकेर बाबु र घर खोज्दै नेपाल प्रवेश गर्यौँ।’

भारतमा मजदुरी गरेरै हुर्काएको १ महिनाको भाइ तीन वर्ष पुगेको छ। भारतमा कोरोना महामारी फैलिएपछि मजदुरी गर्ने ठाउँ भएन। सबै नेपालीहरु नेपाल फर्केन थाले। हामी पनि बाबु खोज्दै नेपाल आयौँ। न अहिले सम्म बाबु पायौँ, नत घरको नै ठेगान लाग्यो,‘मधुले भनिन्,‘विचल्लीमा परेर जुम्ला आइपुग्यौँ।’

कैलालीमा पनि घरजग्गा बाबाले बेचेको रहेछन्। नेपालगन्ज, सुर्खेत हुँदै जुम्ला आएका हौं।’ जुम्लामा आइपुगेको झण्डै एक साता हुन थालेको छ।

जुम्लामा पुगेको दुई चार दिन जनता मावि महत गाउँका भवन निर्माणमा काम गर्ने मजदुरको खाना पकाएर गुजारा चलाएका थिए। दैनिक पाँच सय रुपैयाँ खाना पकाए बापत पाए। त्यही रकमले बिहान बेलुकाको छाक टार्न सकेको मधु बताउँछिन्। त्यही काम धेरै दिन चलेन। खलंगाको बिजयनगरमा आएर विचल्लीमा परे। स्थानीय छिरिङ ल्हामु तामाङले बालबालिका अलपत्र परेको खबर स्थानीय प्रशासनलाई गरिन्।

जिल्ला प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएर बालबालिकाको उद्धार गरेको छ। प्रहरी नायव उपरीक्षक माधव काफ्ले बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएको खबर पाउने वित्तिकै उद्धार गरिएको बताउँछन्। बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका बालबालिकाबारे विस्तृत अध्ययन भइरहेको छ। डिएसपी काफ्ले भन्छन्,‘उनीहरुलाई प्रहरीको उद्धारपछि अल्पकालीन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ। अहिले बालबालिका सुरक्षित नै छन्।’

‘बालबालिकाले अझै आफ्नो स्थानीय ठेगाना र अभिभावकको नाम बताउन सकेका छैनन्। प्रहरी संयन्त्रमार्फत कैलालीमा पनि खोजीकार्य भइरहेको छ। बालबालिकालाई मेडिकल परीक्षणसहित सेवा केन्द्रमा राखिएको थियो। अल्पकालीन सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठ अस्थायी रुपमा सेवा केन्द्रमा राखिएपनि २ बालिका १६ र १७ वर्षका भएकाले दुव्र्यवहारमा पर्न सक्ने देखिएर सुरक्षित राखिएको बताइन्। बिचल्लीमा परेका बालबालिकाको अभिभावक राज्य नै हो। त्यसका लागि प्रशासनसँग कुरा चलाएका छौं।’

प्रकाशित: १३ आश्विन २०७७ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App