४ वैशाख २०८१ मंगलबार
समाज

विस्थापित शिविरमा ६ वर्षपछि खानेपानी

बाढी पहिरोले थातथलो बगाएपछि थापाडेराकी कौशिला सुनारको परिवार सुर्खेत–जुम्ला सडकको गिरीघाट किनारमा बस्न थालेको ६ वर्ष पूरा भयो। उनीसँगै २०७१ साउनको बाढी पहिरोले विस्थापित भएका एक सय ९ घरधुरी यो शिविरमा बस्छन्। गिरीघाट खोला र काशीगाढ खोलाले घेरिएको बस्तीमा खानेपानीको हाहाकार थियो। नजिकै खानेपानीको स्रोत नहुँदा एक गाग्री पानी लिनका लागि घण्टौं लाग्थ्यो।

‘नजिकै खोला भएपनि खानेपानीका लागि एक घण्टा टाढा पुग्नुपर्दथ्यो,’ कौशिलाले भनिन्, ‘परिवारका एक सदस्यलाई खानेपानी बोक्नै ठिक्क हुन्थ्यो।’ वर्खामा बस्तीका दुबैतर्फका खोला बढ्दा खानेपानी दिन जानका लागि समस्या हुन्थ्यो। बस्तीदेखि १ सय  किलोमिटर टाढा खानेपानीको मुहान छ। मुहानदेखि बस्तीसम्म खानेपानी पु¥याउनका लागि पाइप खरिद गर्ने आर्थिक हैसियत विस्थापितहरुसँग छैन।  

‘पाइप दिनुहोस्, पानी आफै ल्याउँछौं भनेर धेरै निकायमा धायौं,’ शिविरका अध्यक्ष नरेन्द्र खत्रीले भने, ‘बस्तीमा आउने दाताहरुसँग ६ वर्षदेखि यहीँ माग राख्दै आएका थियौं।’  

खानेपानीको समस्या भोग्दै आएका गिरीघाट शिविरलाई लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपालले तीन लाखको पाइप हस्तान्तरण गर्‍यो। डिष्ट्रिक गर्भनर शम्भु नकर्मीले विस्थापित बस्तीमा खानेपानीको समस्या समाधान गर्न पाउँदा खुशी लागेको बताए। ‘लायन्स क्लवमा आवद्ध सदस्यहरुबाटै रकम संकलन गरेर पाइप खरिद गरेका हौं,’ उनले भने, ‘चाँडै मुलबाट पाइपमार्फत खानेपानी ल्याएर झुपडीझुपडीमा पुर्‍याउनुहोस्।’

गर्भनर नकर्मीले बाढी पीडितहरुको मागका आधारमा सहयोग गरिएको बताए। ‘विस्थापित शिविरमा शौचालय र खानेपानीको समस्या रहेको हामीले पायौं,’ उनले भने, ‘पहिलो चरणमा खानेपानीको समस्या समाधान गरेका छौं, बाढी पीडितको अर्को समस्या पनि चाँडै समाधान गछौं।’

गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले ६ वर्षदेखि खानेपानीको समस्या अब समाधान भएको बताए। ‘बन्दाबन्दी (लकडाउन)का कारण खानकै समस्यामा रहेका बाढी पीडितहरुलाई विभिन्न दाताहरुसँग सहकार्य गरेर खाद्यान्न वितरण गर्दै आएका थियौं,’ उनले भने, ‘अब खानेपानीको पनि समस्या समाधान भयो।’ उनले शौचालय निर्माणका लागि अरु दाताहरुसँग छलफल भइरहेको बताए।

प्रकाशित: १३ आश्विन २०७७ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App