८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा संक्रमण बढेको बढ्यै, खै नियन्त्रण योजना ?

केही सातायता काठमाडाैं उपत्यकामा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको छ । मुलुकका कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा छन् ।  

उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गए पनि नियन्त्रणका लागि भने सरकारसँग कुनै ठोस योजना छैन् । नियन्त्रण तथा रोकथामको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले संयुक्त प्रयासबिना मन्त्रालय एक्लैले केही गर्न नसक्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण रोक्न उपत्यका बाहिरबाट भित्रिएका मानिस र संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने, उनीहरूको निगरानी गर्नेलगायत काम गरिरहेको छ । यसमा सरोकारवाला सबै पक्षको सहयोग भएमात्र संक्रमण नियन्त्रण प्रभावकारी हुन सक्ने मन्त्रालयको भनाइ छ । ‘सरोकारवाला निकाय र नागरिकको सहभागिताबिना स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले काठमाडौंमा कोरोना नियन्त्रण सम्भव हुँदैन,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले भने ।  

डा. अधिकारी मन्त्रालयसँगै स्थानीय निकाय, गृह प्रशासन, जनप्रतिनिधिले नियन्त्रणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने र नागरिक पनि स्वयं सचेत बन्नुुपर्ने बताउँछन् । उनी २५ हजारभन्दा बढी सक्रिय सक्रमित भए व्यवस्थापन गर्न नसकिने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । नेपालको स्वास्थ्य प्रणाली कमजोर र सुरुवाती चरणको रहेकाले नागरिक स्वयंले पूर्वसावधानी अपनाए मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्रालयका अधिकारी बताउँछन् । ‘सरकारले के गर्दैछ भन्दा पनि हामी स्वयंले सचेतता अपनाउनु जरुरी छ । आफैंले सचेतना अपनाएनौं भने सरकारले केही गर्न सक्दैन । त्यस्तो अवस्थामा कोरोना नियन्त्रण होइन, कोरोनाले हामीलाई नियन्त्रण गर्ने अवस्था आउँछ,’ मन्त्रालयका अर्का एक उच्च अधिकारीले भने ।  

उपत्यकालगायत देशभर कोरोना संक्रमण दर बढ्दो छ । संक्रमण बढे अकल्पनीय जोखिम हुन सक्छ । सरकारले अझै जोखिमको पूर्वानुमान गर्ने अवस्था नआइसकेको बताएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनाको जोखिमबारे अहिले नै पूर्वानुमान गर्न नसकिने बताए । यो भनाइले पनि सरकार कोरोना संकट समाधानप्रति गम्भीर नभएको बुझिन्छ । यसबाट सरकारले कोरोना असर कुन अवस्थासम्म देखिन सक्छ र नियन्त्रणका लागि के कस्ता उपाय अपनाउन सकिन्छ भनेर गृहकार्य नगरेको पनि स्पष्ट हुन्छ ।  

देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडाैं उपत्यकामा १० हजार चार सय २९ जना छन् । सरकार भने संक्रमण नियन्त्रणका लागि ठोस काम गर्नुको सट्टा जनतामाथि दोष लगाएर उम्किन खोजिरहेको छ ।  

हाल देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडाैं उपत्यकामा मात्र १० हजार चार सय २९ जना छन् । काठमाडौंमा आठ हजार चार सय ५९, भक्तपुरमा नौ सय १९ र ललितपुरमा एक हजार ५१ जना सक्रिय संक्रमित छन् । उपत्यकामा हालसम्म एक सय ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।  

उत्तरी छिमेकी मुलुक चीनले सरकारी निकायको सशक्त भूमिकाका कारण कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरिसकेको छ । दक्षिणी छिमेकी मुलुक भारतले पनि राजधानी दिल्लीमा कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरिरहेको छ । दुई मुुलुकका बीचमा रहेको नेपालले भने छिमेकीले कोरोना नियन्त्रणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदा पनि प्रभावकारी योजना बनाउन सकिरहेको छैन ।  

कोरोना नियन्त्रणमा सबै तहका सरकार र जनप्रतिनिधि एकजुट भएर प्रभावकारी योजना बनाउनुपर्नेमा उनीहरूले यसलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने अवसरका रुपमा उपयोग गरिरहेका छन् । कोरोना नियन्त्रण्का लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिदमा सरकारी निकायकै संलग्नतामा भएका अनियमितताले यसलाई पुष्टि गरेको छ ।  

सत्तारुढ दलभित्रको कुर्सीको खेल, कमजोर विपक्षी दल र भागभण्डाको राजनीतिले पनि कोरोना संकट मोचन प्रयास प्रभावकारी हुन सकिरहेका छैनन् । विश्व समुदाय महामारीविरुद्ध एकजुट भएर लडिरहेका बेला नेपालमा भने संकट पार लगाउने प्रभावकारी योजनासम्म बन्न सकेको छैन । सरकार भने संक्रमण नियन्त्रणका लागि ठोस काम गर्नुको सट्टा जनतामाथि दोष लगाएर उम्किन खोजिरहेको देखिन्छ ।

प्रकाशित: १३ आश्विन २०७७ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App