१५ चैत्र २०८० बिहीबार
समाज

पर्साका स्वास्थ्यकर्मीको कोरोना उपचारका क्रममा काठमाडौंमा मृत्यु

पर्सा जिल्लाको जगरनाथपुर पालिकामा कार्यरत सिनियर अहेब (अधिकृत) रामशिकल साहको कोरोनाको कारण मृत्यु भएको छ।  ‘उहाँको मृत्यु उपचारको क्रममा काठमाडौंमा भएको हो,’ घट्नाको पुष्टि गर्दै जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भने। जगरनाथपुर गाउँपालिकाका ९ जना स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका २ जना कार्यालय सहयोगिमा संक्रमण पुष्टि भएकोमा त्यस मध्ये साहको मृत्यु भएको हो।  

‘सुरुमा भदौ १ मा यहाँ गाउँपालिकामा आएको रिपोर्ट अनुसार १५ जना कोरोना पोजेटिभ मध्ये म सहित ५ जना स्वास्थ्यकर्मी थियौं, त्यसपछि ट्रेसिङ्ग गर्दा ३ जना स्वास्थ्यकर्मीमा कोरोना देखियो, जसमा रामशिकल साहजीको रिपोर्ट नेगेटिभ थियो,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख परबिन्दर साहले नागरिकलाई भने, ‘त्यसको १० दिनपछि उहाँ जनकपुरस्थित आफ्नो घरमा बिदा लिएर जानु भयो, त्यहाँ उहाँमा कोरोना पोजेटिभ देखियो। ’ स्वास्थ्य शाखा प्रमुख साहका अनुसार रामशिकिल साहलाई पर्सामै काम गर्ने दौरान संक्रमण लागेको आँकलन गरिएको छ।  

१० दिन अगाडि जनकपुरबाट काठमाडौं लगिएकोमा उपचारको क्रममा सोमबार बिहान करिब साढे ८ बजे मृत्यु भएको मृतकका ज्वाई सन्तोष साहले बताए।  ज्वरो र रुघा लागेका उनको जनकपुरमा पिसिआर जाँचमा संक्रमण पुष्टि भएपछि त्यहाँ नै कोरोना अस्पतालमा भर्ना गरिएको थियो।  स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई काठमाडौं पठाइएको थियो।  ‘काठमाडौंका ठूला र राम्रा भनिएका अस्पतालहरुले भर्ना लिएनन्, अन्तमा करुणा अस्पतालमा उहाँलाई भर्ना गर्न पाइयो,’ ‘चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  आज बिहान मृत्यु भयो। ’ काठमाडौंमै नेपाली सेनाको टोलीले आर्यघाटमा उनको अन्त्येष्टि गर्न लागेको ज्वाई सन्तोषले जानकारी दिए।  

 

प्रकाशित: १२ आश्विन २०७७ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App