८ वैशाख २०८१ शनिबार
समाज

इलाम हाललाई कोरोना पोजिटिभ शून्य जिल्ला

इलाम जिल्लामा कोरोना संक्रिमतको संख्या शून्य भएको छ। गत जेठ २७ गते जिल्लामा पहिलो संक्रमित फेला परेकामा ३ महिनापछि कोरोना पोजिटिभको संख्या शून्य भएको हो।  

जिल्लामा अहिलेसम्म ९३ व्यक्ति संक्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका कोभिड–१९ फोकल पर्सन कुलबहादुर पौडेलले जिल्लामा अहिले कुनैपनि सक्रिय संक्रमित व्यक्ति नभएको जानकारी दिए। उनका अनुसार पछिल्लो पटक चुलाचुली गाउँपालिकाका १ युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ।  

जिल्लामा अहिलेसम्म ४६ सशस्त्र प्रहरी, ३ जनपद प्रहरी, २ सैनिक, १ स्वास्थ्यकर्मी, १ सरसरफाइकर्मी, १ सुरक्षा गार्डसहित वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र समुदायमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले बताए। कार्यालयका अनुसार २३ जनाको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) को नतिजा आउन बाँकी छ। अहिलेसम्म जिल्लामा ४ हजार ९ सय ७७ जनाको पिसिआर परीक्षण गरिएकामा ४ हजार ८ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। जिल्लामा गत जेठमा २, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो।  

जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिकामा ५७, सूर्याेदय नगरमा १५, सन्दकपुर गाउँपालिकामा ८, माई नगरमा ५, देउमाई नगरमा ४, चुलाचुलीमा ३ र रोङ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको थियो। माइजोगमाई, फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा अहिलेसम्म कोही व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छैन।  अहिले जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा ६४ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित: १२ आश्विन २०७७ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App