१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोना परीक्षण गराउन आउनेको अत्यासलाग्दो भीड

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा स्वाब दिन आउनेको भिड। तस्बिर: शिवहरी/नागरिक

सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ। संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ।

अस्पताल प्रशासनले पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड व्यवस्थापन गर्न सकिरहेको छैन। त्यहाँ स्वाब दिन आउनेहरूलाई ठेलमठेल हुनेगरी उभ्याइन्छ। त्यहाँको भद्रगोल देखेर स्वाब दिन पुग्नेहरू आतंकित बन्ने गरेका छन्। कर्मचारीले जसोतसो स्वाब संकलन गरिरहे पनि प्रशासनले भीड व्यवस्थापन गर्न नसक्दा उक्त अस्पतालमा भद्रगोल स्थिति सिर्जना भएको हो। साँघुरो ठाउँमा कोचाकोच गरी उभिँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै कतिपय सर्वसाधारण स्वाब नै नदिई फर्कने गरेका छन्। पिसिआर गराउन आउँदा उल्टै रोग सर्न सक्ने डर भएपछि फर्कनुको विकल्प नभएको आइतबार अस्पताल प्रांगणमा भेटिएका सूर्यकुमार बस्नेतले बताए। ‘कन्ट्याक्ट ट्रेसिङमा परें। स्वाब दिऊँ भनेर आएको थिएँ,’ उनले भने, ‘यस्तो भीड छ, उल्टै कोरोना सर्ने सम्भावना देखें।’ एकअर्कालाई धकेल्दै स्वाब दिन जाँदा कोरोना संक्रमण भएकाबाट नभएकालाई सर्ने डर देखिएको छ।

खासगरी विपन्न मजदुर पिसिआर परीक्षणका लागि टेकुमै आउँछन्। उनीहरूले भौतिक दूरी कायम राख्दैनन्। एकअर्कालाई घचेट्दै अघि बढिरहेको हुन्छन्। एकातिर भीड व्यवस्थापन गर्न नसक्नु अस्पतालको कमजोरी भए पनि र अर्कातिर स्वाब दिन आउनेहरूबाटै पनि लापर्बाहीले भएको देखिन्छ। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कतिपय ठाउँमा सरकारबाट तोकिएको स्वास्थ्य मापदण्ड मिचेर जानीजानी भीडभाड गर्न थालिएको बताए। त्यसकारण स्थिति झन् भयावह हुने खतरा बढेको उनको भनाइ छ। ‘कोरोनालाई धेरै गम्भीर रूपमा पनि नलिऔं र धेरै हल्का रूपमा पनि नलिऔं, कम्तीमा स्वास्थ्य सुरक्षा अपनाऔं, त्यासो गरे संक्रमणबाट बच्न सकिन्छ, अस्पताल र भीडभाड हुने ठाउँमा अझ सर्तक र जिम्मेवार हुनु जरुरी छ,’ उनले भने। उनले कतिपय ठाउँमा स्वाब संकलन गर्दा भीडभाडको वास्ता नगरिएको र त्यहीबाट पनि कोरोना संक्रमण फैलन सक्ने देखिएकाले जिम्मेवार रहन आग्रह गरे।

सरुवा रोग अस्पतालमा हिजोआज दैनिक ६ सयको हाराहारीले कोरोना परीक्षण। त्यसमध्ये ३५ प्रतिशतमा कोरोना पोजेभिट देखिएको अस्पतालले जनाएको छ। चार दिनयता परीक्षण गर्न आउनेको संख्या बढेपछि परीक्षण दायरा पनि बढाइएको अस्पतालले जनाएको छ। स्वाब दिन आएकामध्ये अधिकांश विपन्न समुदायका छन्। त्यसबाहेक उपत्यकाका स्थानीय, मजदुर र सर्वसाधारण रहेको अस्पतालका प्रवक्ता रूपनारायण खतिवडाले बताए। ‘अहिले भीडभाड बढेको छ, सकेसम्म दूरी कायम राख्न र सुरक्षा अपनाउन भनेका छौं तर कतिपय व्यक्ति आफैं जिम्मेवार नहुँदा समस्या भएको हो।’ उनले माइकिङ गरेर र बोर्ड राखेर सूचना दिइए पनि स्वाब दिन आउनेहरूले लार्पबाही गरेको दाबी गरे। ठूलो संख्यामा परीक्षण गराउन आएकाले कर्मचारीले व्यवस्थापन गर्न कठिन परेको उनको भनाइ छ।

पछिल्लो समय उपत्यकाबाहिरबाट आउनेमा भन्दा स्थानीयमा संक्रमण बढी फैलिरहेको प्रवक्ता खतिवडाले बताए। उनले काठमाडौंका नेवार समुदायमा कोरोना संक्रमण व्यापक बढेकाले उच्च सतर्क रहन आग्रह गरे। ‘पहिलेपहिले उपत्यकाबाहिरबाट आएकालाई परीक्षण गर्दा धेरै संक्रमण देखिएको थियो,’ उनले भने, ‘अहिले यहाँको स्थानीय समुदायमा कोरोना संक्रमण बढी देखिएको छ, जिल्ला प्रशासन कार्यालयले परीक्षण गराउन आउनेको संख्या अझै एक साता बढ्ने जानकारी गराएको छ।’

विपन्न र मजदुर धेरै
सरकारले पिसिआरको मुल्य निर्धारण गरे पनि निजी स्वास्थ्य संस्थामा जान नसक्ने विपन्नहरू टेकुमा पुग्ने गरेका छन्। सरुवा रोग अस्पतालमा ३० रुपैयाँको टोकन लिएपछि स्वाब संकलन हुन्छ। पछिल्लो समय मजदुर र विपन्न वर्ग टेकुमै पुग्ने गरेका छन्। विभिन्न निर्माण कम्पनीमा काम गर्ने मजदुर ठेकेदारमार्फत ठूलो संख्यामा एकैपटक आउँदा भीड बढेको प्रवक्ता खतिवडाले बताए। ‘पिसिआर रिर्पोटबिना घरबेटीले घरमा प्रवेश नदिएको, रोजगार नपाएको, गाउँ फर्कन नसकेकोजस्ता समस्या लिएर आउँछन्,’ उनले भने, ‘यहाँ आएकाहरूलाई सकेसम्म पिसिआर परीषण गराएका छौं।’

प्रकाशित: १२ आश्विन २०७७ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App