१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोनाको नयाँ हटस्पट सिरहा

प्रदेश २: सबैभन्दा बढी सक्रिय संक्रमित सिरहामा

आइतबार प्रदेश २ मा ९० जना नयाँ संक्रमित थपिँदा ४८ जना सिरहामै थपिएका छन्। पछिल्लो दुई सातायता यस प्रदेशका बाँकी जिल्लामा संक्रमितको संख्या घट्दै गएपनि सिरहामा बढ्दै गएको तथ्यांकले देखाउँछ।

आइतबार धनुषामा १३ जना, महोत्तरीमा २ जना, बारामा ३ जना, पर्सामा १५ जना, सर्लाहीमा १ जना, रौतहटमा १ जना, सप्तरीमा ६ जना र वयोधा अस्पताल वीरगन्जमा स्वाब संकलन गराएका जिल्ला नखुलेका १ जना थपिएका छन्।

भदौ २६ देखि हालसम्मको दुई सातामा सिरहा जिल्लामा ६ सय १९ जना नयाँ संक्रमित थपिएका छन्। यस अवधिमा सप्तरीमा २ सय ४७ जना, धनुषामा ७६ जना, महोत्तरीमा ४० जना, सर्लाहीमा १ सय ६७ जना, रौतहटमा १ सय ४० जना, बारामा २ सय ४६ जना र पर्सामा १ सय ४३ जना थपिएको तथ्यांक छ। यसै अवधिमा पर्सामा ४ जना, वारामा २ जना, रौतहटमा १ जना, सर्लाहीमा १ जना, महोत्तरीमा १ जना, धनुषामा २ जना, सिरहामा २ जना र सप्तरीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृतकको संख्या पर्सामा ४३, बारामा १८,रौतहटमा ६, सर्लाहीमा ५, महोत्तरीमा १३, धनुषामा १५, सिरहामा १२ र सप्तरीमा १४ पुगेको छ।

यस अवधिमा सिरहामा १ हजार ६ सय ८४ जनाको आरटि पिसिआर परीक्षण भएको छ। पछिल्लो दुई साताको परीक्षण तथ्यांक केलाउँदा परीक्षण गरिएका मध्ये करिब ४० प्रतिशतको नतिजा पोजेटिभ पाइएको छ। उनीहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका समुदायका मानिस छन्। यस जिल्लामा संक्रमितको संख्या १ हजार २ सय २५ पुगेको छ।  

सक्रिय संक्रमितको संख्या ७ सय ६६ छ । कोरोना संक्रमणबाट मृतकको संख्या १२ पुगेको छ। प्रदेश २ मा पाँच सयमाथि सक्रिय संक्रमित रहेको एक मात्र जिल्ला सिरहा हो। एक महिनाअघिसम्म कोरोनाको हटस्पट रहेको पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषामा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ।

सिरहामा सुरक्षाकर्मी, नेपाली सेना, कैदीवन्दी, कर्मचारी, व्यपारी, , समुदायका मानिस, स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।

आइतबार सिरहामा नदी दिवस कार्याक्रम मनाइएको छ। प्रमुख जिल्ला अधिकार प्रदीपराज कँणेल सहभागी रहेको कार्यक्रममै अधिकांश मास्क बिना नै सहभागी भएको पाइएको छ। त्यसमा पनि शरीर टसाएर सहभागीहरु रुख रोपिरहेका र रोपिएका रुखमा पानी हालिरहेका देखिन्थे। प्रमुख जिल्ला अधिकारी आफैपनि सहभागीहरुसँग टाँसिएर फोटो खिचाइरहेको पाइयो।  

सीमादेखि गाउँ हुँदै सहरसम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको समुदायस्तरमा फैलिसकेको लहान नगरपालिकाका स्वास्थ्य संयोजक रामसुन्दर यादवले बताए। सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लो समय बढ्दै गएको संक्रमितको संख्या हो, उनले भने।  

गाउँदेखि सहरसम्म समुदायस्तरमै संक्रमण फैलिरहँदा प्रमुख जिल्ला अधिकारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनतर्फ गम्भीर देखिदैन। दैनिकजसो जिल्ला संकट व्यवसथापन केन्द्रको बैठक बसेर निर्णय गरेपनि त्यसको कार्यान्वयन भएको पाइदैन। जिल्लामा सातसय भन्दा बढी सक्रिय संक्रमित हुँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई नअपनाईनु बिडम्बना भएको सीरहाका बुद्धिजीबीहरुको भनाई छ।

प्रदेश २ मा आइतबारसम्म ७ हजार ७ सय ४९ जना निको भएर घर फर्किसकेका छन्। आइतबार मात्र यस प्रदेशबाट २ सय २३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। आइतबारसम्म यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय १७ छ।

प्रकाशित: ११ आश्विन २०७७ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App