रौतहटका उखु किसानहरुले आफूहरुले गत वर्षसम्म उद्योगलाई बेचेको उखुको भुक्तानी तत्काल पाउनुपर्ने माग राख्दै चिनी मिल अगाडि नै चक्का जाम गरेका छन्। शनिबार एक घन्टा चक्का जाम गरेका उखु किसानहरुले आइतबार दुई घन्टा जाम गरेका छन् भने सोमबार तीन घन्टा चक्का जाम गर्ने कार्यक्रम नै सार्वजनिक गरेका छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गत बुधबार ज्ञापनपत्र बुझाउँदै किसानहरुको गत वर्षसम्मको ४१ करोड रुपैयाँ भुक्तानी तत्काल पाउनुपर्ने, उद्योगका मजदुरको पनि सेवा–सुविधा प्रदान गरिनुपर्ने र उद्योग संचालन गरिनुपर्ने माग अगाडि बढाएका थिए। तीन दिनभित्र माग पूरा नभए उद्योगकै अगाडि चक्का जाम गर्ने ज्ञापनपत्रमै उल्लेख गर्दै उखु उत्पादक संघले सोमबारसम्म माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
किसानहरुको आन्दोलनमा उद्योगका मजदुरहरुको पनि समर्थन रहेको छ। मजदुरहरुले पनि आफ्नो माग सम्बोधन गराउन किसानलाई आन्दोलनमा साथ दिएका हुन्। यसैगरी स्थानीय प्रमुख राजनैतिक दलको पनि किसानहरुको आन्दोलनप्रति समर्थन रहेको छ।
किसानहरुले माग पूरा गराउन पूर्व–पश्चिम राजमार्गसित सदरमुकाम गौरलाई जोड्ने सहायक राजमार्गको गरुडास्थित श्रीराम सुगर मिल्स अगाडि मूल सडकमै टेन्ट गाडेर चक्काजाम गर्दै आएका छन्। किसानहरुको माग पूरा नभए अझ कडा आन्दोलन गरिने चेतावनी उखु उत्पादक संघ रौतहटका सचिव सफिन्द्रप्रसाद यादवले दिएका छन्।
प्रकाशित: ११ आश्विन २०७७ १०:५५ आइतबार