१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक हिलाम्य भएपछि स्थानीयलाई सास्ती

रौता–रानीबास खण्डको हिलाम्य सडकमा । तस्विरः महेश्वर

लगातार वर्षाका उदयपुरको पहाडी भेगका सडक अवरुद्ध भएको छ। बुधबार विहानदेखि निरन्तरजस्तो भईरहेको वर्षाले पहिरो जानुका साथै कच्ची सडकमा पानी जमेर हिलाम्य भएपछि  सानाठूला सवारी सञ्चालनमा अवरोध हुन पुगेको हो।  

भर्खर खनिएका कच्ची सडक रहेको जिल्लाको पहाडी भेगमा जताततै पहिरो र हिलोले चारपाङग्रे त के मोटरसाईकलसम्म सञ्चालन गर्न कठिनाई हुन पुगेको स्थानीयले बताएका छन्। पहिरो र हिलोका कारण जिल्लाका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढीका आन्तरिक सडकहरु सबै चल्न नसक्ने अवस्थामा पुगेका छन्। वर्षाले पहिरो गएर ती गाउँपालिकाबाट सदरमुकाम गाईघाट आउन पनि धेरै कठिनाई भएको  सर्वसधारण बताउँछन्।  

हिउँदमा धुलाम्य हुने कच्ची सडकहरु वर्षायाममा हिलाम्य हुने समस्या त छदैछ, पहिरो पनि थपिएर सडक अवरुद्ध पारेपछि आउजाउ गर्न धेरै कठिनाई भोग्नु पर्ने लिमचुङबुङका यातायात व्यवसायी मनोज बुढाथोकीले बताए। केहीदिनअघि उपभोग्य सामान लिएर गाउँ जाँदै गरेको उनको ट्याक्टर लिमचुङबुङ ५ को खोस्टुङनजिकै पहिरो गएको सडक धस्केर दुर्घटना हुँदा अढाईलाख बढी क्षति हुन पुगेको बुढाथोकीले बताए। गाईघाटदेखि चामल, नुन, तेललगायत उपभोग्य सामग्री लिएर गएको उनको ट्याक्टर बुईखा–खोस्टु–चौलाने खण्डको कच्ची बाटोमा दुर्घटना हुँदा सडकभन्दा ५० मिटर तल खसेर क्षति पुगेको उनले बताए।  

स्थानीयका अनुसार गाउँपालिकाका आन्तरिक तथा अन्तरपालिकास्तरीय दर्जनौं सडकहरु पहिरो र हिलोले सवारी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्। रौतामाई र लिमचुङबुङ जोड्ने रौता–भुट्टार–लाफागाउँ–जाँते खण्ड, बाराहा–माझखर्क–पुँवारे भन्ज्याङ, उदयपुरगढी–रौतामाई, उदयपुरगढी–ताप्ली जोड्ने सडक र कटारी–ताप्ली जोड्ने सडकहरु वर्षाले हिलाम्य भएर मोटरसाईकल नै आउजाउ गर्न नसक्ने अवस्थामा पुगेका छन्। लिमचुङबुङका जाँते–माझखर्क–बाराहा खण्ड, माझखर्क–बाराहा–बलम्ता, बाराहा–ताम्लीछा–बाँसबोटे र जाँते–बलम्ता–ताम्लीछा खण्डका आन्तरिक सडकहरुको पनि हालत उस्तै रहेको स्थानीय पदम राईले बताए।  

उता उदयपुरगढी–डुम्रे, गढी–बर्रे, गढी–तावाश्री जोडिएका आन्तरिक सडकहरु पहिरोसँगै हिलोले आउजाउमा अवरोध गरेको उदयपुरगढीका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताएका छन्। त्यस्तै ताप्लीका रुपाटार–ओख्ले, कटहरे–रुपाटार, रुपाटार–इनामे बिभिन्न स्थानीयतहको सदरमुकामसँग सम्बन्ध बिच्छेद हुने अवस्था आएको स्थानीय शुसीला लामिछानेले बताइन्। रौतामाईका भुटार–लाफागाउँ, लाफागाउँ–रसुवा–आँपटार खण्ड पनि वर्षाले अवरोध गरेको छ।  

हिउद वर्खा दुवै याममा फोरह्विलसहितका बोलेरो जीप र ट्याक्टर मात्र चल्ने ती सडकहरुमा अहिले ती पनि चल्न नसक्ने अवस्था आएको यातायात व्यवसायी बताउँछन्। उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटका अनुसार वर्षाका कारण आएको बाढी पहिरो र डुबानका कारण पहाडी भेगसँगै समथर ठाउँका सडकमासमेत यातायात सञ्चालनमा कठिनाई आएको छ। केन्द्रका महासचिव उमेश बस्नेतले भर्खरै खुलेको लकडाउनले सीमित तरिकाले यातायात सञ्चालन गर्न थालिएकोमा निरन्तर वर्षा भएपछि यात्रु मारमा परेको बताए। लामो समयको लकडाउनले थलिएको यातायात व्यवसाय सञ्चालन गर्न थालिए पनि वर्षाले अवरोध गरेपछि नजिकिएको चाडपर्वमा व्यवसायी र उपभोक्ता दुवैपक्ष मारमा पर्ने संकेत देखिएको बस्नेतले बताए।  

प्रकाशित: ११ आश्विन २०७७ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App