८ वैशाख २०८१ शनिबार
समाज

केसी समर्थकमाथि प्रहरीको बक्रदृष्टि

माइतीघर क्षेत्रबाट डा. गोविन्द केसीका समर्थकलाई नियन्त्रणमा लिँदै प्रहरी । तस्बिर: मोनिका मल्ल

स्वतन्त्र युवा समूह, अधिकारकर्मी सामाजिक अभियन्तालगायतले शनिबार माइतीघर मण्डलमा भेला भएर डा. गोविन्द केसीको समर्थनमा ऐक्यबद्धता जनाउने कार्यक्रम राखेका थिए। त्यसकै लागि ब्यानर र प्लेकार्ड बोकेर ससानो समूहमा माइतीघर मण्डलतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले रोक्यो, ब्यानर र प्लेकार्ड पनि खोस्यो। सामाजिक दूरी कायम राखेर भेला हुँदै गरेका युवालाई प्रहरीले बोल्न नपाउँदै बल प्रयोग गरी नियन्त्रणमा लियो। शान्तिपूर्ण तवरले बोल्न र माग राख्न पाउने अधिकार संविधानले दिए पनि सरकारले प्रहरी लगाएर कुल्चन खोजेको छ।  

प्रहरी हस्तक्षेपपछि युवा आक्रोशित भए। सामान्य प्रदर्शनमा पनि प्रहरीको जमात आएर रोकसँगै धरपकड सुरु गरेपछि आक्रोशित उनीहरूले प्रहरीले नागरिक अधिकार रक्षाभन्दा सत्तापक्षको चाकरी गरेको बताए। ‘अहिले प्रहरीले सरकारको समर्थन गर्नेलाई मात्रै राम्रो व्यवहार गर्छ, सरकारलाई जिम्मेवार बनाउन र डा. केसीका माग पूरा गराउन सडकमा आउँदा दमन गर्छ,’ प्रदर्शनमा सहभागी हुन आएका उत्तम बस्नेतले भने, ‘के हामी सडकमा उभिनै नपाउने हो।’

‘प्रहरीले नागरिक अधिकारको रक्षाभन्दा सत्तापक्षको चाकरी गरेको छ।’

चिकित्सा शिक्षामा सुधारका माग राखी १९औं पटक सत्याग्रहमा बसेका डा. केसीका माग पूरा गर्न अटेर गरिरहेको सरकारले उनको समर्थनमा सडकमा उत्रिएकालाई समेत प्रहरी लगाएर दबाउन थालेको छ। ‘हामीले शान्तिपूर्ण तरिकाले सडकमा आएर डा. केसीको समर्थन गर्दा पनि प्रहरीले बोल्न र विचार राख्नबाट वञ्चित ग-यो,’ समर्थक उषा लामाले भनिन्।  

शान्तिपूर्ण तरिकाले सडकमा आएका प्रदर्शनकारीलाई व्यवस्थित र सुरक्षित गर्ने जिम्मा प्रहरीकै हुन्छ। तर अहिले प्रहरी डा. केसीका समर्थक भनेपछि देख्नै चाहँदैन। युवाले एकीकृत भएर प्रदर्शन गर्न नपाउँदै प्रहरीले १६ जनालाई नियन्त्रणमा लियो। उनीहरूलाई बेलुकी छाडिएको छ।  

केसीको समर्थनमा शनिबार स्वतन्त्र युवा समूह, राजनीतिक दल, विद्यार्थी नेता, मानव अधिकारकर्मी, सामाजिक अभियन्तालगायत माइतीघर मण्डल क्षेत्रमा भेला भएका थिए। उनीहरूले केसीको समर्थनमा विचार राख्न नपाउँदै प्रहरीले हस्तक्षेत्र गरेको थियो। अधिकारकर्मी चरण प्रसाईंले पछिल्लो समयका घटना हेर्दा प्रहरीको व्यवहारले सीमा नाघ्न थालेको बताए। ‘सरकारले कोभिडका नाममा नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै दबाउन खोजेको छ, प्रहरीलाई बलिको बोको बनाएको छ, अदालतलेसमेत भेला हुन र बोल्न पाउने अधिकार दिएका बेला प्रहरी हस्तक्षेप हुनु गतिलो होइन, यसले दूरगामी असर पार्छ,’ उनले भने। स्वास्थ्य शिक्षा र सेवामा सबैको पहँुच हुनुपर्नेलगायत माग राखेर डा. केसी करिब एक दशकदेखि आन्दोलित छन्। तर सरकारले उनका माग पूरा गर्न सहयोगी भूमिका निर्वाह गर्नुको उल्टै कठोर व्यवहार देखाएको छ।  

घरको गेटबाटै प्रहरीको पिछा

नयाँ बानेश्नरका आयुष केसी बानेश्वर चोक हुँदै डा. केसीको समर्थनमा माइतीघर मण्डलमा आउँदै थिए। बबरमहल पुगेपछि उनलाई प्रहरीले रोक्यो। प्रहरीले रोकेपछि उनी अघि बढेनन्। प्रहरीले रोकेपछि बल्ल उनले थाहा पाए घरको गेटबाटै उनीहरूले पिछा गर्दै आएका रहेछन्। सरकारको विराधमा निस्कने प्रदर्शनकारीमाथि प्रहरीले यसरी नै निगरानी बढाएको छ। उनीहरूलाई सडकमा भेला हुन नपाउँदै प्रहरीले नियन्त्रणमा लिने र धपाउने गर्छ। 

एकाएक सडकमा आएपछि नियन्त्रण गर्न गाह्रो हुने भएकाले प्रहरीले भित्रभित्रै निगरानी राख्दै पक्राउ गर्न थालेको छ। ‘म घरबाट निस्किएको थिएँ, घरको गेट नजिकैबाट एउटा मोटरसाइकल पछिपछि गुडिरहेको थियो, मलाई नै निगरानी राखिएको रहेछ,’ बबरमहलमा भेटिएका केसीले भने। उनले आफू यसअघिका कार्यक्रममा पनि सहभागी हुँदै आएकाले प्रहरीले निगरानी राखेको हुन सक्ने बताए। सडकमा भीडभाड कम गर्न यसो गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।

प्रकाशित: ११ आश्विन २०७७ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App