coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कारका ४२० घटना

साउन र भदौमा मात्र बलात्कारका ४ सय २० वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन्। दुई महिनामै बलात्कार ‘ग्राफ’ यति धेरै बढ्नु सामान्य होइन। कोरोना महामारीकै समयमा पनि बलात्कारका घटना बढेपछि प्रहरी पनि सोचमग्न भएको छ। अन्य अपराधमा केही कमी आए पनि बलात्कारका घटना बढेको प्रहरी निष्कर्ष छ।  

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको साउनमा मात्रै देशभर २ सय ६० वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। पछिल्लो तथ्यांक हेर्दा साउनमा सबैभन्दा बढी बलात्कारका घटना भएको प्रहरी भनाइ छ।  

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले अधिकतर घटना परिचित र आफन्तबाट हुने गरेको बताए। उनले भने, ‘धेरै घटना ‘क्लोज रिलेसनसिप’ बाटै भएका छन्, आफ्नैलाई बलात्कार गर्दा घटना बाहिर जाँदैन भन्ने मनशाय पनि राखेको देखिन्छ, कतिपयले धम्की दिएर पनि बलात्कार गरेका छन्।’ उनका अनुसार बलात्कारका घटना बढ्न थालेपछि नेपाल प्रहरीले केही समयअघि विशेष अनुसन्धान गरेको थियो। अनुसन्धानबाट सामाजिक सञ्जालको दुरुपयोग र अश्लील भिडियो सामग्रीले बालमनोविज्ञानमा असर पारेको पत्ता लागेको छ।

बलात्कृतमध्ये ६० प्रतिशतजति १५ वर्षमुनिका बालिका छन्। त्यसमा पनि ११ देखि १५ वर्षबीचका धेरै छन्।

बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र निमुखा बढी छन्। प्रहरी तथ्यांकअनुसार बिरामी, अपांगता भएका, स्कुल जाने उमेर नभएका, पाको उमेरका, गर्भवती र वृद्धासम्म बलात्कारीको सिकार हुने गरेका छन्।  

प्रहरीको समग्र तथ्यांक हेर्दा बलात्कृत हुनेमध्ये सबैभन्दा धेरै पीडित कम उमेरका छन्। बलात्कृतमध्ये ६० प्रतिशतजति १५ वर्षमुनिका बालिका छन्। त्यसमा पनि ११ देखि १५ वर्षबीचका सबैभन्दा धेरै छन्। गत आवमा यो उमेर समूहभित्रका ७ सयभन्दा बढी बलात्कृत र बलात्कारको प्रयासबाट पीडित भएको प्रहरी तथ्यांकमा उल्लेख छ।  

प्रहरीले तयार पारेको ग्राफिक्समा सुन्दै अचम्म लाग्ने बलात्कारका घटना समावेश छन्। ६ महिनाकी शिशुसमेत बलात्कारीको मारमा परेको प्रहरी तथ्यांक छ। त्यस्तै ७५ वर्षसम्मका वृद्धसमेत यस्तो घिनलाग्दो अपराधको सिकार भइरहेका छन्।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेयता अन्य अपराधमा कमी भए पनि केही अपराध भने रोकिएनन्। आत्महत्या गने र बलात्कृत हुनेको संख्या यो अवधिमा हवात्तै बढेको छ। चैत ११ यता देशभर हरेक दिन कम्तीमा पनि २ वटाका दरले बलात्कारका घटना भएका छन्। सबैभन्दा धेरै उपत्यका र प्रदेश ५ मा बलात्कारका घटना भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार चैतदेखि साउन मसान्तसम्म प्रदेश ५ मा सबैभन्दा धेरै ९० बढी मुद्दा दर्ता भएका छन् भने उपत्यकामा ८७ वटा मुद्दा दर्ता भएका छन्। यसबाहेक उपत्यकामा १२ वटा बाल यौन दुराचारका घटना भएका छन्।

प्रकाशित: ११ आश्विन २०७७ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App