coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बारामा आर्थिक अपराधका घटनामा वृद्धि

बारा प्रहरीले सार्वजनिक गरेका नेपाली नक्कली रुपैया सहित पक्राउ परेकाहरु र पक्राउ परेकाहरुबाट बरामत गरिएको १२ लाख १६ हजार नक्कली नेपाली रुपैयाँ।

असोज ७ गते सिम्रौनगढ नगरपालिका ९ बँसवरीया नहरखण्डबाट १२ लाख १६ हजार नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई बारा प्रहरीले नियन्त्रणमा लियो।

नहर सडकखण्डमा सवारी साधान चेकजाँच गर्ने क्रममा बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार रहेकाहरुबाट नक्कली रुपैयाँ बरामत गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका  ५ सिहासनीका बलिराम चौधरी र भारत विहार मोतिहारी जिल्ला झरोखरका संदिप कुमार रहेको पंगेनीले बताए।

मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा भारतीय नागरिक कुमारले बाकेको झोलाबाट एक हजारको दरमा रहेको १२ सय १६ थान नक्कली नेपाली नोट बरामद गरिएको उपरीक्षक पंगेनीले दावी गरे।

‘नक्कली रुपैयासहित पक्राउ परेकाहरुसँग बुझदा उनीहरुले ३० थान मोबाइल बेचेर उक्त रकम  जम्मा गरेको खुल्न आएको छ,’ पगेनीले  भने, ‘नक्कली रुपैयाँको कहाँबाट आएको पत्ता लगाउन  मोबाइल खरिद गर्ने  व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेका छौ।’

भदौ ६ गते महागढीमाई नगरपालिका ७ बेनौलीबाट सवारी साधन चेकजाँचको क्रममा बेवारीसे अवस्थामा बारा प्रहरीले  १६ लाख नेपाली रुपैयाँ फेला पारेको थियो।

प्रहरीले बेनौली चौकमा सवारी साधन रोकेर चेकजाँच गरेको देखेर  मोटरसाइकलमा आएका एक जनाले रातो झोला फालेर भाग्न सफल भएको र फालिएको रकम तस्करी गर्न वा हुण्डीको हुन सक्ने अनुमाग गरिएको उपरीक्षक पंगेनीले बताए।

साउन ३ गते महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट   १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेमा आदर्शकोतवाल ६ का नरेन्द्रप्रसाद कुशवाहो, सिम्रौनगढ नगरपालिका ५ का मनोजकुमार साह र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का सुधिरकुमार कुशवाहा रहेका बारा प्रहरीले जनाएको छ।  

केही व्यक्तिहरुले लागुऔषध खरिद बिक्री र ओसारपसार लगाएतको अवैध कार्य गरिरहेको  सूचनाको अधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौ र जिल्ला प्रहरी कार्यालयले ती ब्यक्तिहरुलाई खोजतलाश गर्दै जाँदा नक्कली रुपैयाँसहित उनीहरु पक्राउ परेको पंगेनीले बताए।

पक्राउ परेकाहरुको साथबाट एक हजार दरको १४६५ थान र सय दरको ७४६ थान गरेर १५ लाख ३९ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरिएको छ भने हजार दरको पाँच सय दरको २८४ थान, र ५० दरको ७०६ थान गरेर एक लाख ७७ हजार भारतीय नक्कली रुपैयाँ बरामद गरिको पंगेनीको भनाइ छ।

असार ३१ गते कलैया उपमहानगरपालिकाको मटिअर्वा नाकाबाट अवैध रुपले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको  २५.२ किलो चाँदीको गहनासहित दुई जनालाई  पक्राउ परेको बारा प्रहरीले जनाएको छ।  

कलैया–मटिअर्वा हुलाकी सडक अन्तर्गत पर्ने कलैया उपमहानगरपालिका १२ सितलपुरबाट चाँदीको गहना सहित कलैया उपमहानगरपालिका ५ का इन्द्रदेव यादव र प्रसौनी ६ का वकिस अंसारीलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

भारतबाट चाँदीको गर गहना तस्करी गरि कलैयातर्फ ल्याउदै गरेको सूचना प्राप्त भएपछि त्यसलाई नियन्त्रणमा लिन मटिअर्वाबाट आउने सवारी साधनलाई चेकजाँच गर्न लगाउँदा अबैध चाँदीको गहना सहित उनीहरु पक्रउ परेको उपरीक्षक पंगेनीले बताए।

दुई महिनाकै अन्तरालमा नक्कली रुपैया, अबैध चाँदी, हुण्डी वा तस्करी लगाएतका आर्थिक अपराधमा प्रयोग गरिने रकमलाई बारा प्रहरीले नियन्त्रणमा लिएका घटना प्रतिनिधि घटना मात्रै हुन्।  

कोरोना भाइरस नियन्त्रणमा सुरक्षाकर्मीहरु केन्द्रित भएको अवस्थामा नेपाली र भारतीय नक्कली रुपैयाँ कारोबारी ,सुन चाँदीको तस्कर समूह, हुण्डी  र भारतबाट अबैध मालसमान भित्रियाउने तस्कर समूह भित्र भित्रै सक्रिय बनेका छन्।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भारतसँग खुल्ला सिमानाका फाइदा उठाउन  नक्कली रुपैयाँ, सुन चाँदी, हुण्डी  र अबैध मालसमान भित्रियाउने खोज्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको दावी गरेका छन्।

प्रकाशित: १० आश्विन २०७७ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App