६ वैशाख २०८१ बिहीबार
समाज

सोति घटना: जिल्ला अदालतको आदेशविरुद्ध प्रतिवादी उच्च अदालतमा

उच्च अदालत अगाडि खबरदारी गर्दै पीडित परिवार र दलित अधिकारकर्मी। तस्विरः गणेश /नागरिक

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतिमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषी भनिएकाहरू (प्रतिवादी) जिल्ला अदालत रुकुम पश्चिमको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा निवेदन दिएका छन्। प्रतिवादीहरूले उक्त आदेशविरुद्ध आफूहरु सामान्य तारेख रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन्।

जिल्ला अदालत रुकुम पश्चिमले तीनजनालाई साधारण तारेख, एकजनालाई एक लाख रूपैयाँ धरौटी, दुईजनालाई बालसुधार गृह र अन्यलाई थुनामा राखेर अनुसन्धान गर्न थुनछेक आदेश दिएको थियो। उक्त आदेशको विरुद्धमा उनीहरू उच्च अदालत सुर्खेत पुगेका हुन्। ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दा जिल्ला अदालत रुकुम पश्चिममा दर्ता भएको थियो। अहिले २८ जना थुनामा छन्।

प्रतिवादीले पटकपटक गरी २२ वटा निवेदन उच्च अदालत सुर्खेतमा दर्ता गराएको उच्च अदालत सुर्खेतका प्रवक्ता थिरेन्द्रकुमार सुवेदीले जानकारी दिए। उनका अनुसार सरकारी पक्षबाट उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने एउटा मात्र निवेदन छ। उच्च अदालतमा उक्त निवेदनसम्बन्धी बिहीबार बहससमेत भएको थियो। बिहीबार प्रतिवादीतर्फका पाँचजना कानुन व्यवसायीले बहस गरेका थिए। सोही दिन निवेदनमाथिको बहस नसकिएकाले उक्त बहस आउने बिहीबारसम्मका लागि सरेको छ। हाल उक्त निवेदन हेर्दाहेर्दैमा राखिएको उच्च अदालत सुर्खेतका नायब सुब्बा धर्मराज न्यौपानेले जनाए। ‘आउने बिहीबार वादी पक्षकाले बहस गर्नुहुन्छ,’ उनले भने, ‘उक्त दिन बहस सकियो भने आदेश हुन्छ नत्र पुनः अर्काे दिनका लागि सर्छ।’ उच्च अदालत सुर्खेतले उक्त मुद्दाका विषयमा आधार, प्रमाण र सुरु सक्कल मिसिल जिल्ला अदालतबाट माग गरेको थियो।

उच्च अदालतले प्रतिवादीहरूको निवेदनमा जिल्ला अदालत रुकुम पश्चिमले गरेको थुनछेक आदेश न्यायोचित छ या छैन भन्ने विषयमा मात्र आदेश दिने उच्च अदालत सुर्खेतले जनाएको छ। उच्च अदालतले प्रतिवादीको पक्षमा आदेश गरेमा प्रतिवादीहरू सामान्य तारेखमा रहेर मुद्दा लड्न पाउने छन् भने जिल्ला अदालतकै आदेश सदर गरे उनीहरू थुनामा रहेर मुद्दा लड्न पाउने छन्।  

साथै यही विषयलाई राजनीतिकरण गर्न नदिने भन्दै पीडित परिवार र दलित अधिकारकर्मीहरूले उच्च अदालत सुर्खेतमा खबरदारी कार्यक्रम गरेका छन्। उनीहरू कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र ढंगले आदेश आउनु पर्ने माग गरेका छन्। अदालतप्रतिले विश्वास नगुमाउने ढंगले आफ्नो विवेक प्रयोग गर्ने आशामा रहेको मृतक नवराजकी दिदी सरिता विकले बताइन्। ‘यो मुद्दा कञ्चनपुरकी निर्मला पन्तजस्तो नहोस्,’ उनी भन्छिन्, ‘यसलाई न्यायोचित ढंगले किनारा लगाइयोस्।’ प्रमाण मृतकका लास भएको भन्दै उनले प्रश्न गरिन्, ‘लास र लासमा देखिएको दृश्यभन्दा अरु के प्रमाण चाहिन्छ।’

‘अहिले यो घटना कमजोर गराउन राजनीतिकरण हुँदैछ,’ दलित अधिकारकर्मी चन्द्रकला विकले भने, ‘घटनामा राजनीतिकरण नहोस् भनेर खबरदारी गरेका हौं।’ यदि यो मुद्दा राजनीतिकरण भए आफूहरू प्रतिवादमा लाग्ने उनको भनाइ छ। नवराजसहित ६ जनाको सामूहिक हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने अधिकारकर्मी सरु सुनारले बताइन्। उक्त घटना राजनीतिक करण नगरि न्यायोचित ढंगले टुंग्याउनु पर्ने उनको भनाइ छ। ‘पीडकलाई कुनै पनि बहानामा छुटकारा दिनु हुँदैन,’ उनले भनिन्, ‘न्यायको देशमा न्याय नमरोस्। पीडितलाई क्षतिपूर्ति र पीडकलाई दण्ड सजाय होस्।’

प्रकाशित: १० आश्विन २०७७ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App