६ चैत्र २०८० मंगलबार
समाज

पाँच जनालाई थुनामा राख्न आदेश

कसेनी सामूहिक आक्रमण र हत्या घटना

भदौ १२ गते मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको दुई पक्षीय (ग्याङफाइट)आक्रमणमा एक जनाको मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले १९ जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दर्ता गरिएकामध्ये ५ जनालाई पूर्पक्षका लागि थुनामा राख्न र दुई जनालाई धरौटीमा छाड्न शुक्रबार अदालतले आदेश दिएको छ।

मोरङ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले पछि ठहरे बमोजिम हुने गरीभन्दै तत्काल प्राप्त प्रमाणका आधारमा पाँच जनालाई पूर्पक्षका लागि थुनामा कारागार चलान गर्न र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए।  

घटनामा संलग्न मुख्य अभियुक्त बेलबारी–५ का ३१ वर्षीय विनयकुमार सरदार, बेलबारी–५ का ३२ वर्षीय राजेन भनिने राजेन्द्रथुलुङ राई, ग्रामथान गाउँपालिका– ६ का ३३ वर्षीय वीरेन्द्रकुमार खाँ, ग्रामथान–५ का ३१ वर्षीय दीपेन भनिने दीपेन्द्रकुमार चौधरी र बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास (गच्छदार) थुनामा राख्न भनेको छ भने ग्रामथान–६ का ३४ वर्षीय जितेन्द्रकुमार चौधरीलाई ४ लाख र २० वर्षीय यानव थुलुङ राईलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। जितेन्द्रले धरौटी रकम बुझाएर भने यानव धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भए।  

घटनामा संलग्न भएका अन्य १२ जना फरार रहेका छन्। ग्रामथान–२ का २७ वर्षीय कृष्णकुमार चौधरी, ७ का २५ वर्षीय प्रभात चौधरी, ६ का ३५ वर्षीय अनोज भनिने अनोदकुमार माझी, ३४ वर्षीय बलराम चौधरी, ४ का  ३७ वर्षीय ओम धामी, ५ का ३४ वर्षीय दिनेश चौधरी माझी र७ का २५ वर्षीय प्रेम चौधरी फरार छन्।  

त्यस्तै सुन्दरहरैँचा–२ का २५ वर्षीय अशोक खवास, ११ का ३३ वर्षीय शम्भु भनिने दिनेश मास्के, २५ वर्षीय राजिन राई, २ का ३५ वर्षीय कचालु भनिने गितार खवास, १ का २४ वर्षीय नलिन खवास फरार छन् भने घटनाका मुख्य योजनाकार र नाइके विनयकुुमार सरदार र कृष्णकुमार चौधरी रहेको प्रहरीले जनाएको छ।

खोलामा लगाइएको बाँसको पुल प्रयोग गर्दा एउटा मोटरसाइकलसँग २५ रुपैयाँ उठाउँदै आएको विषयलाई लिएर उत्पन्न विवाद ज्यानै लिने गरी सामूहिक आक्रमणको घटनासम्म पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ। आक्रमणमा उत्रिएको समूहले बन्चरो, खुकुरीलगायत घरेलु हतियारले प्रहार गर्दा घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको थियो। गाउँमा भइरहेको झगडा छुट्याउन गएका उनीमाथि खुकुरी र बन्चरो प्रहार भएको प्रहरीले जनाएको छ।  

त्यही समूहले आक्रमण गर्दा चन्द्रकुमारका दाइ ४२ वर्षीय सइकुमार, भाइ ३२ वर्षीय समुन्द्र र भतिज (सइकुमारका छोरा) १६ वर्षीय गौरव घाइते भएका थिए। प्रहरीका अनुसार पुलको विवादमा उक्त समूहले स्थानीय दिनेश भनिने घनेन्द्र श्रेष्ठलाई कुटपिट गरिरहेको देखेपछि सम्झाउन पुगेका चन्द्रकुमार र उनको परिवारकै अरु सदस्यमाथि आक्रमण भएको प्रहरीले बताएको छ।

प्रकाशित: १० आश्विन २०७७ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App