८ वैशाख २०८१ शनिबार
समाज

धरान–धनकुटा अवरुद्ध सडक खुल्यो

भारी वर्षाको कारण कोशि लोकमार्ग अन्तर्गत गरजुवा, घण्टे, ४ गोलाई र रुद्रबारी–गुठीटार लगायत दर्जनौ स्थानमा पहिरो झरेर अवरुद्ध भएको सडक शुक्रबार अपरान्ह पछि खुलेको छ। अबिरल वर्षाका कारण माथिबाट झरेको पहिरोले सडक अवरुद्ध हुँदा शुक्रबार विहानदेखि अवरुद्ध धरान–धनकुटा लोकमार्गको विभिन्न स्थानमा भएको अवरुद्ध सडक अपरान्ह पछि खुलेको हो। 

अवरुद्ध सडक डिभिजन सडक कार्यालय धनकुटाको डोजरको सहायताले पहिरो पन्साएपछि खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले वताए। शुक्रवार विहान एक्कै पटक लोकमार्गको दर्जनौ स्थानमा पहिरो झरेको कारण सडक अवरुद्ध हुँदा पहिरो पन्साउन घण्टौं समय लागेको खड्काले बताए।  

सडक अवरुद्ध हुँदा धरानवाट कोशी पहाड जाने यात्रु विचैबाटोमा अलपत्र परेका थिए भने कोशी पहाडी जिल्ला भोजपुर संखुवासभा, तेह्रथुम र धनकुटाको विभिन्न स्थानबाट तराई झर्दै गरेको यात्रु पनि सडक अवरुद्ध हुँदा जाममा फसेका थिए। उक्त सडकमा कोशि लोकमार्गमा यात्रा गर्ने यात्रुहरुले ३ महिना अघिदेखि यसरी नै सास्ती व्यहोरी रहनु परेको छ। उक्त सडक खण्डको खुरिला, चार गोलाई, घण्टे, गर्जुवामा नियमित रुपमा परिरहेको वर्षाको कारण सडक पुरिने क्रम अझैसम्म रोकिएको छैन। 

पछिल्लो समय लगतार परिरहेको अविरल वर्षाको कारण निरन्तर सडकमा माथिबाट यत्रतत्र पहिरो झर्ने क्रम नरोकिने हो भने अझै यात्रुले कहिलेसम्म सास्ती व्यहोर्नु पर्ने हो, सवैलाई प्रश्न उब्जाएको छ।डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानकुमार शाक्यले सडक जति मर्मत गरे पनि निरन्तर रुपमा पहिरो झरिरहेकाले गर्दा यात्रा गर्न जोखिम कायमै रहेको बताए। शुक्रवार विहान कोशि लोकमार्गको विभिन्न स्थानमा झरेको पहिरो साँझसम्ममा पन्साई सकेको शाक्यले बताए।

 उनले वर्षाको कारण जोखिम बनेको सडकलाई लक्षित गरेर डिभिजन सडक कार्यालयले २४ सै घण्टा डोजर तयारी अवस्थामा राखिएको वताए। सामान्य वर्षा हुँदा त ठिक्कै हुने थियो तर अत्याधिक वर्षा भएकै कारण यातयात संचालनमा चुनौती थपिएको शाक्यले भने।

प्रकाशित: १० आश्विन २०७७ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App