८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा एक महिलाको हत्या, श्रीमान् गम्भीर

गए राति रौतहटमा एक महिलाको हत्या भएको छ। खुँडा र खुकुरी प्रहारबाट महिलाको हत्या भएको र महिलाका श्रीमान् गम्भीर घाइते भएका छन्। रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका महेश तिवारी र उनकी श्रीमती जगरामीदेवीमाथि खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गरेपछि महिलाको मृत्यु भएको छ।

शुक्रवार अबेर साँझ स्थानीय प्रजित मुखिया, सोनालाल मुखिया, बलिराम मुखियासहितको समूहले तिवारी दम्पत्तिमाथि आक्रमण गरेको थियो। आक्रमणमा परेर महेश तिवारी चिच्याउन थालेपछि बचाउन जाँदा उनकी श्रीमती जगरामीदेवीमाथि पनि आक्रमण भएको थियो।  

आक्रमणबाट जगरामीदेवीको मृत्यु भएको छ, भने महेश तिवारीको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको तिवारीका आफन्त कृष्णा तिवारीले जनाएका छन्।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले घटनामा संलग्न रहेको भनिएकामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको बताएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र फरार अन्य आरोपीको खोजी भइरहेको प्रहरीको भनाइ छ।  

प्रहरीले घटनामा संलग्न रहेको भनिएका बलि मुखिया, कमेन्द्र मुखिया, अच्छेलाल मुखियालाई पक्राउ गरेको छ। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।  

प्रकाशित: १० आश्विन २०७७ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App