१५ चैत्र २०८० बिहीबार
समाज

नियमित गर्भजाँच गराउने महिलालाई नुन, तेल, अण्डा र सावुन

स्वास्थ्य संस्थामा लगेर सुत्केरी गराउन सहयोग गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम प्रदान गर्दै वडाध्यक्ष रमेत राउत लगायत। तस्बिर: नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा नियमित गर्भजाँच गराउने महिलालाई आयोडिन नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेको छ। गर्भवती महिलालाई नियमित गर्भ जाँच गर्न प्रोत्साहित गर्नका लागि वडा कार्यालयले प्रोत्साहन स्वरुप नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेको हो। गर्भवतीलाई अनिवार्य गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पु-याउने वातावरण बनाउन नुन, तेल, अण्डा र सावुन दिन सुरु गरिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए।  

पहिलो तीन महिनाभित्र गर्भजाँच गराएका गर्भवतीलाई पहिलोपल्ट तथा नौ महिनामा अन्तिम गर्भजाँच गराएका गर्भवतीलाई वडा कार्यालयले दोश्रोपल्ट प्रोत्साहनको व्यवस्था गरेको हो। अन्तिममा प्रोत्साहन पाउनका लागि गर्भवतीले नियमित गर्भजाँच गरेको हुनुपर्ने नियम बनाइएको वडाध्यक्ष राउतले बताए। ‘नियमित गर्भजाँचमा नआउँदा गर्भवती महिलाको क्याल्सियम र आइरन चक्की पनि छुट्दो रहेछ। आमा र बच्चाको अवस्थाका बारेमा पनि थाहा नहुदो रहेछ,’ वडाध्यक्ष राउतले भने, ‘कम्तीमा नियमित गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामा पुग्ने वातावरणका लागि हामीले गर्भवतीलाई नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेका हौँ। नियमित गर्भ जाँच गराएको रहेछ भने अन्तिम गर्भजाँचपछि पनि प्रोत्साहन गर्ने व्यवस्था मिलाएका छौँ।’  

नियमित गर्भजाँच गर्नका लागि प्रोत्साहित गर्न वडा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ देखि गर्भवती प्रोत्साहनका कार्यक्रम सुरु गरेको हो। तीन महिनाभित्र गर्भजाँच गराएका चार जना र अन्तिम नौ महिनामा गर्भजाँच गराएका तीन जना गर्भवतीलाई प्रोत्साहन प्रदान गर्दै वडा कार्यालयले नुन, तेल, अण्डा र सावुन प्रदान सुरु गरेको हो।  

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता  
यस्तै, गर्भवतीलाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा पु-याउने मंगलटारका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। आ–आफ्नो टोलका गर्भवती महिलालाई वर्थिङ सेन्टरमा लगेर गर्भवती गराउन सहयोग गर्ने ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयले प्रतिसुत्केरी तीन सयका दरले प्रोत्साहन रकम प्रदान गरेको हो। ६ जनाले १८ गर्भवतीलाई स्वास्थ्य संस्थामा लगेर सुत्केरी गराउन सहयोग गरेको वडाध्यक्ष राउतले बताए।  

हलेसी तुवाचुङ नगरपालिकालाई २०७५ साल असार ३० गते पूर्ण बर्थिङ सेन्टरयुक्त नगर घोषणा गरिसकिएको छ। नगरपालिकाका ११ वटै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको केही समयपछि नगरपालिकालाई पूर्ण बर्थिङ सेन्टरयुक्त वडा घोषणा गरिएको थियो। 

प्रकाशित: १० आश्विन २०७७ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App