१६ चैत्र २०८० शुक्रबार
समाज

प्राकृतिक विपत्: गण्डकीमा २७ वर्षपछि बढी क्षति

भदौ तेस्रो साता बागलुङको भुजीखोलामा बाढीले पु-याएको क्षति । फाइल तस्बिर: नागरिक

नेपालमा हरेक वर्ष प्रायः जुन १० तिर मनसुन सुरु हुन्छ र सेप्टेम्बर २३ सम्म रहन्छ । त्यसैलाई आधार बनाएर जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर २३ मा मनसुन सकिने बताए पनि यसपटक त्यो समय पछाडि धकेलिँदै गएको छ । त्यसकारण यतिबेला नियमित र भीषण वर्षा भइरहेको छ । त्यसले गर्दा निम्तिएको बाढीपहिरोले विध्वंस मच्चाउँदा मानवीय क्षति पनि बढाउँदै लगेको छ ।

मनसुनको यो अवधिमा गण्डकी प्रदेशमा भएको मानवीय क्षतिको आकार पनि बढ्दो छ । सकिने बेलाको मनसुनले मच्चाएको वितण्डाको मार निकै डरलाग्दो हुँदै गएको मौसमविद्ले बताएका छन् । बिहीबार मात्र स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा सिंगै परिवार परिवारमा पर्दा नौजनाको मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ । पहिरोले स्थानीय माया नेपालीको घर बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

मनसुनको यस अवधिमा मात्र गण्डकी प्रदेशमा १ सय २६ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । प्रदेशका ११ मध्ये हिमाली जिल्ला मनाङबाहेक अन्यत्र सबैतिर बाढीपहिरोले क्षति पु¥याएको छ । प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार बाढीपहिरोको सबैभन्दा बढी क्षति बागलुङमा भएको छ । त्यहाँ ३६ जनाले ज्यान गुमाएका छन् । बागलुङमा १६ जना अझै बेपत्ता छन् । त्यसपछि म्याग्दीमा ३१ जनाको ज्यान गएको छ भने पाँचजना बेपत्ता छन् । स्याङ्जामा भएको मानवीय क्षतिको संख्या अहिलेसम्म १५ पुगेको छ भने एकजना हराइरेका छन् ।  

अहिलेसम्म कास्कीमा ११ र लम्जुङमा चारजनाको ज्यान गएको छ । त्यस्तै तनहुँमा १३ र पर्वतमा १० जनाको मृत्यु भएको छ । गोरखामा तीनजनाले ज्यान गुमाउँदा एकजना बेपत्ता छन् । हिमालपारिको जिल्ला मुस्ताङमा एक र नवलपुरमा दुईजनाको बाढीपहिरोका कारण ज्यान गएको छ । ‘बाढीपहिरोमा परेर ज्यान गुमाउनेसँगै बेपत्ता हुने पनि छन्,’ रेग्मीले भने, ‘बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ । तर हराएको लामो समय भएकाले भेट्न कठिन छ ।’ 

दिगो विकासको अवधारणा नमान्दा र सर्वेक्षणबिना जथाभाबी सडक खन्दा बाढीपहिरोले वितण्डा मच्चाएको विज्ञहरू बताउँछन् । 

जिल्लास्थित प्रहरी कार्यालयको टोली बेपत्ता व्यक्तिको खोजीमा खटिएको उनले बताए । रेग्मीका अनुसार यो अवधिमा विस्थापित भएका घरको संख्या १ हजार ६ सय १५ रहेको छ । ती घरका ६ हजार ७ सय ७३ नागरिक विस्थापित भएका छन् भने पहिरोको जोखिममा रहेका घरको संख्या ९ सय ७० छ । क्षति पुगेका सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद् समितिमार्फत विस्थापित नागरिक र जोखिममा रहेका घरको व्यवस्थापन हुने उनले बताए ।  

नेपालमा मनसुन सकिने मिति सेप्टेम्बर २३ रहे पनि यो वर्ष हालसम्म सक्रिय रहेकाले बाढीपहिरोको आकार पनि बढेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको पोखरास्थित कार्यालयका प्रमुख राजारामप्रसाद ढकालका अनुसार भारतको मध्यप्रदेशमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले अझै केही दिन नेपालमा भारी वर्षा हुने आँकलन गरिएको छ । मनसुन सकिने मिति पछाडि धकेलिने भएकाले अझै केही दिन वर्षा हुने र बाढीपहिरोको जोखिम रहेको उनले बताए । ‘मनसुन सकिने बेलाको यो वर्षाले अहिले धेरैतिर विध्वंस मच्चाएको छ,’ उनले भने, ‘अझै केही दिन भीषण वर्षा हुने आँकलन छ । सेप्टेम्बर ३० सम्म नेपालमा वर्षा हुने प्रक्षेपण गरिसकेको छ ।’  

यसपटक मनसुनमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएकाले पनि बाढीपहिरोको क्षति बढेको ढकालले बताए । पोखरा क्षेत्रमा यो वर्ष (सेप्टेम्बर २४ सम्म) ५ हजार २ सय ५० मिलिमिटर वर्षा भइसकेको छ । जल तथा मौसम विज्ञान विभागको पोखरास्थित कार्यालयका अनुसार पोखरामा वर्षमा ३ हजारदेखि ३२ सय मिलिमिटर वर्षा हुनुलाई औसत मानिन्छ । तर अहिले त्यो औसत झन्डै दोब्बरको आकारमा पुगिसकेको छ । यसअघि पोखरामा सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिलिमिटर वर्षा भएको थियो । त्यसबाहेक सेप्टेम्बरमा पोखरामा ६ सय ४० मिलिमिटर वर्षा हुनुलाई औसत मानिन्छ । तर यो वर्ष सेप्टेम्बरमा बिहीबारसम्म औसतभन्दा दोब्बर बढी वर्षा भइसकेको छ । सेप्टेम्बरको बिहीबारसम्म (२४ दिन) मा पोखरामा १३ सय २५ मिलिमिटर वर्षा भइसकेको छ ।  

भूगर्भका जानकार पनि नियमित अनि भीषण वर्षाले यसपटक मानवीय क्षति बढाएको बताउँछन् । भूगर्भविद् श्रीकमल द्विवेदीका अनुसार २०५० पछि यो वर्ष बढी क्षति भएको छ । ‘झन्डै अढाइ दशकपछि यो वर्ष बढी क्षति भयो,’ उनले भने । उनका अनुसार क्षति बढ्नुमा प्राकृतिकसँगै मानवीय कारण पनि छन् । ‘आफैंमा निरन्तर वर्षा भएको छ । त्यसबाहेक मोटरबाटो पनि उत्तिकै खनिएका छन् । बाटो खन्दा खोल्सीमा माटो फ्याँकिएको छ । गाउँका डाँडाकाँडा स्काभेटर लगाएर सम्याइएको छ,’ उनले भने, ‘जहाँतहीँ गह्रौँ उपकरण प्रयोग गर्दा पनि क्षति निम्तिएको छ ।’ सबैभन्दा त्रास हिउँदमा डाँडा काट्ने र माटोजति खोल्सामा फ्याँकेर साँघुरो बनाइदिँदा त्यसले वर्षामा क्षति पु¥याएको उनले बताए ।

जबर्जस्ती संरचना निर्माण गरेर खोला र खोल्सी साँघुरो बनाउँदा पनि क्षति बढ्न थालेको उनले बताए । सडक खने पनि नाला नबनाउने, पानीको निकास नदिने गर्दा पनि क्षति बढाउन सहयोग पुगेको द्विवेदीले बताए । ‘सुक्खा हुँदा संरचना निर्माण गरिन्छ तर वर्षामा त्यसको असर देखिन्छ,’ उनले भने, ‘हिउँदमा संरचना बनाउँदा वर्षामा असर पर्छ भन्नेमा हेक्का राखिँदैन ।’ उनका अनुुसार पछिल्लो समय हाँडीघोप्टे (क्लाउड ब्रस्ट) जसरी पानी परिरहेको छ । महिनाभर पानी नपर्ने तर एकैपटक छोटो समयमा भीषण वर्षा हुने गर्दा पनि एकाएक क्षति बढ्ने उनले बताए । उनका अनुसार भीषण वर्षासँगैको बाढीपहिरोले पनि क्षति निम्त्याउन थालेको छ । ‘पहिरोले निम्त्याएको भेलले बगाएर पनि क्षति भएको छ । बागलुङ र सिन्धुपाल्चोकमा यस्तै घटना भएका हुन् । माथिबाट झरेको पहिरो तल्लो भेगमा भेलमा बदलिँदै जाँदा क्षति बढेको द्विवेदीले बताए ।

प्रकाशित: १० आश्विन २०७७ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App