८ वैशाख २०८१ शनिबार
समाज

प्राकृतिक विपत्: जोखिममा सिन्धुपाल्चोक

गत साउनमा सिन्धुपाल्चोकको लिदीमा गएको पहिरो । फाइल तस्बिर: नागरिक

हरेक वर्ष ससाना विपद् बेहोर्दै आएको सिन्धुपाल्चोकले यो बर्खामा लगातार ठूलाठूला प्राकृतिक विपत्ति भोग्यो । २०७१ सालको जुरे पहिरोपछि जिल्लामा बर्सेनि निरन्तर बिपत्तिले मार हानिरहेको छ ।  

२०७२ सालको भूकम्पले बाढीपहिरोजस्ता विपत्तिको शृंखला ह्वात्तै बढाइदिएको छ । २०७७ असारयता जिल्लामा बाढीपहिरोले ठूलो जनधनको क्षति पु-यायो । असार, साउन र भदौमा लगातार ठूला विपद् निम्तिरहे । सानाठूला दर्जन विपद्का घटनामा ७३ जनाले ज्यान गुमाए । ३९ जना बेपत्ता भए । ४० भन्दा बढी घाइते भए । १ सय २७ घर क्षतिग्रस्त हुँदा सयौं विस्थापित हुन पुगे ।

पछिल्लो समय प्राकृतिक विपत्तिको चक्रव्यूहमा पर्र्दै आएको सिन्धुपाल्चोकसहित बाग्लुङलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । ‘विपद्का धेरै घटना भएकाले संकटग्रस्त जिल्ला घोषणा गरिएको हो,’ राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने ।  

उनले थपे, ‘संकटग्रस्त जिल्लाले विपत्तिपछिको पुनर्निर्माण र पुनःस्थापनाको काममा प्राथमिकता पाउँछ ।’ मुलुकभरको विपद् व्यवस्थापनको काम प्राधिकरणमार्फत हुने उनी बताउँछन् ।

पोखरेलका अनुसार मुलुकभरको विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्नेगरी विश्व बैंकले नेपाल सरकारलाई ६ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ । ‘यही रकमले मुलुकभर काम गर्ने हो । संकटग्रस्त जिल्लाको हिसाबले सिन्धुपाल्चोक र बाग्लुङले क्षतिको मूल्यांकनका आधारमा प्राथमिकता साथ केही बढी कार्यक्रम र बजेट पाउँछन्,’ उनले भने । प्राकृतिक विपत्तिले पु¥याएको क्षतिका आधारमा राजमार्ग, सडक, पुल, बस्ती संरक्षण, निजी आवास पुनर्निर्माण र पुनस्थापनामा सरकारले बजेट छुट्ट्याउने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । मुलुकमा जहाँ–जहाँ विपद् निम्तिन्छ, त्यहीँत्यहीँ पुग्नेगरी प्राधिकरणले कार्यविधि बनाइरहेको छ । खासगरी विपद् न्यूनीकरणमा स्थानीय तहको क्षमता बढाउँदै आर्थिक र प्राविधिक सहायता उपलब्ध गराउने काम प्राधिकरणले गर्ने पोखरेल बताउँछन् ।

पछिल्लो समय प्राकृतिक विपत्तिको चक्रव्यूहमा पर्र्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  

यो वर्ष विपद् शृंखला
गत असारबाट सुरु विपद्को शृंखला भदौसम्म जारी रह्यो । असार २५ गते स्थानीय खहरे खोल्सीको बाढीले बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार बगाउँदा दुईको मृत्यु भयो भने १४ बेपत्ता भए । सोही दिन भोटेकोसी गाउँपालिका–५ बुल्कुटे गाउँमा त्यस्तै प्रकृतिको बाढीले केही घर बगाउँदा एकको ज्यान गयो, अरू तीन बेपत्ता भए । साउन १ गते बस्तीमाथिबाट खसेको पहिरोले घर पुर्दा भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टी गाउँका एकै परिवारका पाँच महिला पहिरोमा पुरिएर मारिए ।

साउन १९ गते ढिस्को खसेर टहरो पुर्दा मेलम्ची नगरपालिकामा सुतेकै ठाउँमा आठ मजदुरको ज्यान गयो ।  

सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा दम्पतीको मृत्यु भयो । साउन ३१ गते जुगल गाउँपालिका–१ गोल्चेको लिदी गाउँ पहिरोले बगाउँदा २९ ले ज्यान गुमाए । उक्त पहिरोमा अझै दुईजना हराइरहेका छन् । त्यस्तै भदौ २७ गते बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा गाउँमाथिबाट खसेको पहिरोले तीन बस्तीमा क्षति गर्दा १६ जनाको मृत्यु भयो । पहिरोमा परेका अझै १५ जना हराइरहेका छन् । तर बेपत्ताका आफन्तले भने उनीहरू जीवित भेटिने सम्भावना नरहेको भन्दै काजकिरियासमेत सिध्याइसकेका छन् ।  

तथ्यांक हेर्दा बाह्रबिसे र भोटेकोसीमा धेरै बाढीपहिरोका घटना भएको देखिन्छ । भूगर्भविद् श्रीकमल द्विवेदी सिन्धुपाल्चोकमा यो वर्ष भएका धेरै विपत्ति भेलपहिरो (डेब्रिसफ्लो) सँग सम्बन्धित रहेको बताउँछन् । ‘यो सुरु भएको स्थानदेखि बग्दै अन्तिममा रोकिने स्थानसम्म ठूलो क्षति पु-याउने प्रकृतिको पहिरो हो,’ उनले भने । भेलपहिरोले ठूलो मानवीय क्षति पु-याउने उनको तर्क छ । भेलपहिरोबारे स्थानीयलाई बुझाउन नसक्नु ठूलो कमजोरी मान्छन् उनी । भूकम्पको असर र सडक निर्माणलगायत मानवीय क्रियाकलापले समेत पछिल्लो समय सिन्धुपाल्चोकमा लगातार प्राकृतिक विपत्ति निम्त्याउन सघाएको उनी बताउँँछन् ।  

जुरे पहिरोपछि लगातार विपद्
२०७१ साउन १७ गते विश्वकै ध्यान खिच्ने गरी भिमकाय जुरे पहिरो निम्तियो । त्यसपछि जिल्लामा निरन्तर प्राकृतिक विपत्ति जारी छ । जुरे पहिरोले पाँच गाउँ बगाउँदै ११ घन्टा सुनकोसी थुन्दा १ सय ४५ जनाको ज्यान गएको थियो । त्यसको ३७ दिनपछि कृत्रिम ताल फुट्दा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पु-याएको थियो ।  

जुरेको पीडा सेलाउन नपाउँदै २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सबैभन्दा बढी जनधनको क्षति सिन्धुपाल्चोकमै पु-यायो । ३ हजार ५ सय ५१ को ज्यान लिएको भूकम्पमा परी झन्डै १ हजार ६ सय घाइते भएका थिए । शतप्रतिशत घर संरचना क्षति हुँदा जिल्ला खण्डहरमा बदलिएको थियो । लगत्तै २०७३ असार २१ गते तिब्बतको हिमताल फुटेर भोटेकोसी नदीमा बाढी आउँदा तल्लो तटीय क्षेत्रको तातोपानीदेखि बाह्रबिसेसम्मका झन्डै सय घर–संरचना बगे भने अरनिको राजमार्ग छियाछिया भयो । २०७४ सालको बर्खामा लार्चा पुल र २०७५ सालको बर्खामा बाढीले साधी खोला पुल बगाउँदा बाह्रबिसे–तातोपानीमा लामो समय यातायात सम्पर्क टुटेको थियो ।  

विपत्तिले भरिएको विगत  
भोटेकोसीको बाढीले बेलाबेलामा विनाशलीला मच्चाइरहन्छ । विगतदेखि नै तिब्बतमा भारी वर्षा हुँदा वा बाढी आउँदा त्यसको प्रत्यक्ष मार त्यहाँका नागरिकले मात्र होइन, नेपालीले पनि भोग्दै आएका छन् । चीन प्रवेशको मुख्य ढोका तातोपानी र तल्लो तटीय क्षेत्रका बासिन्दाले लामो समयदेखि बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपसँग संघर्ष गर्दै आएको पाइन्छ ।  

बाढीपहिरोको इतिहास पल्टाउने हो भने हरेक १०–१५ वर्षको अन्तरालमा उनीहरू विपत्तिको मारमा पर्दै आएका छन् । त्यसैले भोटेकोसी हाम्रोसमेत दुःख हो, त्यसमाथि तातोपानीको भूगोल पहिरोग्रस्त क्षेत्रका रूपमा चिनिन्छ । विज्ञहरूका अनुसार सुनकोसीभन्दा माथि सिंगो तिब्बतसम्मकै भूभाग अत्यन्तै कमलो र जोखिमपूर्ण छ । विभिन्न अध्ययन–अनुसन्धानमा सन् १९६४ देखिका भोटेकोसी विनाश समेटिएका छन् । इसिमोडले नै सुनकोसी करिडोर र भोटेकोसी उपत्यकामा आएका बाढीपहिरोको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । सन् १९६४ मा तिब्बतको ज्याङलाङ ताल फुटेको थियो । त्यसले त्यतिबेला पु-याएको क्षति कतै नभेटिएको विज्ञ मूल बताउँछन् । उनका अनुसार सन् १९८२ मा दोस्रोपटक पुनः उक्त ताल फुट्दा तिब्बत र नेपालमा व्यापक क्षति पुगेको थियो । मितेरी र फुल्पिङसहित तिब्बतको समेत तीन पक्की पुल बगेको थियो । त्यसले सुनकोसी हुँदै दोलालघाटसम्म क्षति पु-याउँदा ठूलो जनधनको नोक्सानी भएको थियो ।

त्यतिबेलाको विनाशलीला राम्चे, बाह्रबिसेका ६० वर्षीय अर्जुन राउतले अझै बिर्सन सकेका छैनन् । त्यसबखत २५ वर्ष उमेर रहेका राउत ३८ वर्षअघिको बाढी सम्झन्छन्, ‘४० घरधुरीको पुरानो बाह्रबिसे बजार पुरै बगाएको थियो ।’ त्यो बाढीले लामो समय स्थानीयलाई सास्ती दिएको उनी सुनाउँछन् । त्यसपछि पनि भोटेकोसी करिडोर (तातोपानी क्षेत्र) मा प्राकृतिक विपत्ति निम्तिएको इसिमोडको प्रतिवेदनमा उल्लेख छ । सन् १९९६ मा तातोपानी नजिकको लार्चामा ठूलो पहिरो गएको थियो । दुई साता लामो अविरल वर्षापछि सात किमिमाथिबाट १ सय ४० मिटर फराकिलो आकारसहितको पहिरो झर्दा ५४ जनाको ज्यान लिँदै ४० घर र लार्चा पुल बगाएको थियो । विज्ञह्रूले २०७१ साउन १७ को भीमकाय जुरे पहिरोलाई लार्चा पहिरोसँग तुलना गर्न थालेका छन् । यसपछि पनि थोरै संख्यामा मानवीय क्षति वा मानवीय क्षतिबाहेक भाटेकोसी बाढी र तातोपानीको पहिरोले निरन्तर भौतिक नोक्सानी पु¥याउँदै आएको छ ।  

सुनकोसी र ब्रह्मायणी करिडोरसमेत जोखिममा  
विभिन्न अध्ययन र प्रतिवेदनअनुसार भोटेकोसीजस्तै सिन्धुपाल्चोकका सुनकोसी र ब्रह्मायणी (बलेफी) नदी पनि बाढी, पहिरोको उच्च चपेटा पर्दै आएका छन् । इसिमोडकै प्रतिवेदनमा उल्लेख भएअनुसार सन् १९८२ मा बलेफी नजिक झन्डै तीन वर्ग किलोमिटरको डाँडो बग्दा सुनकोसी थुनिएर (मिसिएर बगेपछिको नदी) ९७ जनाको ज्यान गएको थियो । साथै १५ घर बगेका थिए । सन् १९८७ मा सुनकोसीमा नदी थुन्ने गरी अर्को पहिरो गएको थियो । २ सय २९ घर बगाउँदा ९८ जनाको ज्यान गएको थियो भने १०.०५ मेगावाट क्षमताको सुनकोसी जलविद्युत् केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । सुनकोसीले अरनिको राजमार्ग कटान गर्दा केही सयम तातोपानी एक्लिन पुगेको थियो । उता बलेफी करिडोरको पाङताङमा पचासको दशकमा (२०४० सालपछि) ब्रह्मायणी नदीको बाढीले कात्तिके बजार बगाउँदा ठूलो मानवीय क्षतिसमेत भएको थियो । भोटेकोसीजस्तै सुनकोसी र ब्रह्मायणी उपत्यका पहिरो ग्रस्त क्षेत्र रहेको विज्ञको भनाइ छ ।  

भोटेकोसीले सताइरहन्छ
भोटेकोसी उपत्यकाको तिब्बतमा हिमतालहरू जोखिमपूर्ण अवस्थामा रहेकाले तल्लो तटीय क्षेत्र नेपालमा जुनसुकै बेला प्राकृतिक प्रकोपले सताउन सक्ने खतरा विज्ञ औंल्याउँछन् । भूगर्भविद् द्विवेदी यो तर्कमा सहमत छन् । ‘तिब्बतमा जोखिमपूर्ण अवस्थामा रहेका हिमताल जतिबेला पनि फुट्न सक्ने सार्वजनिक भइसकेको छ,’ उनले भने, ‘बेलैमा सचेतता अपनाउनुपर्छ ।’  

इसिमोडका तर्फबाट त्रिविका प्राध्यापक नरेन्द्रराज खनाल, विज्ञ मूल र चिनियाँ अनुसन्धानकर्ता सम्मिलित टोलीले चीनतिरका हिमतालको २०७२ मा अध्ययन गरेको थिए । अध्ययनअनुसार टोलीले तिब्बती भोटेकोसी जलाधार क्षेत्रमा ७४ हिमताल रहेकोमा १० वटा जोखिमपूर्ण रहेको निष्कर्ष निकालेका थिए । ‘त्यसमध्ये ६ वटा जुनसुकै बेला विस्फोट हुन सक्छ,’ प्रतिवेदनको निष्कर्ष छ । अहिले पनि चिनियाँ वैज्ञानिक र अनुसन्धानकर्ताले पनि हिमतालको अध्ययन गरिरहेका छन् । तिब्बतका जोखिमयूक्त ताल अध्ययन गरेका विज्ञहरूका अनुसार भोटेकोसी बाढी त छँदैछ र जोखिमका हिमताल फुट्ने खतरा सधैं रहिरहने भएकाल तल्लो तटीय क्षेत्र खास गरी तातोपानीमा बस्ती बसाउन मिल्दैन ।

प्रकाशित: १० आश्विन २०७७ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App