८ वैशाख २०८१ शनिबार
समाज

पाक्नै लागेको धान नष्ट भएपछि किसानको विचल्ली

भक्तपुर तचपालका किसान विष्णु लावजूका छोरा, बुहारी, चाँगुनारायण नपा वडा नं. ९ ताथलीस्थित खेतको ढलेको धान उठाउँदै ।

सोमबारदेखिको लगातारको वर्षा र हुरीले पाक्नै लागेको धान नष्ट भएपछि भक्तपुरका हजारौं किसान विच्चल्लीमा परेका छन्। मानो रोपेर मुरी फलाउने धान काट्न ठिक्क परेको बेला ढलेर नष्ट भएपछि यहाँंका किसानको रुवाबासी चलेको छ। वर्षभरि खाएर परिवार पाल्नुपर्ने धान नष्ट भएपछि उनीहरुवीच रुवाबासी चलेको हो।  

‘ठूलो पानी पर्यो, बोटले ठाम्नै सकेन, अझ हावा पनि बेस्कन चल्यो, धान ढल्यो’ एकजना किसान माइला लवजूले भने, ‘नउठाइ सुक्खै छैन, नउठाए, पानी जमेको खेतम लत्रेको धानै टुसाउँछ।’ पानी पर्दापर्दै ढलेको धान उठाउन पर्नाको कारण खुलाए, किसान लावजूले।

किसान लावजूको मात्र हैन, अहिले जिल्लाका अधिकांश किसानहरुले लगाएको धान ढलेको छ। धान ढल्दा किसानहरु चिन्तित बनेका छन्। दुई दिन अघिदेखि (सोमबार/मंगलबार) परेको भारी वर्षा र चलेको हावाहुरीका कारण सयौं रोपनीमा लगाइएको धानबालीमा क्षति पुगेको छ। पाक्ने बेलाको धान ढलेपछि जिल्ल्लाका चारवटै नगरपालिकाका किसानहरु चिन्तित बनेका हुन्।

अहिले किसानहरु बिहानैदेखि ढलेको धान उठाउँदै बाँध्न व्यस्त छन्। केही दिन यतादेखि पटक–पटक गरी हावाहुरीसहितको वर्षा हुँदा अधिकाँश धान ढलेको छ। पाक्ने बेलामा धान ढलेपछि गेडा पुष्टिन नपाउने हुँदा उत्पादनमा समेत गिरावट आउने भएपछि किसान चिन्तित बनेका हुन्।

‘जेठ, असारमा लगाएको धान अहिले पाक्ने तरखरमा थियो, केही दिनमै काट्न समेत तयारी थियो, तर अत्यधिक परेको पानीले धान ढलेको छ, हाम्रो मिहिनेत खर जाने भयो, चाँगुनारायण नगरपालिका वडा नं. ९ फैढोकास्थित खेतमा धान ढलेको बाँध्दै गरेका किसान आशमति कोजूले भनिन्। कतै पँहेलपुर भइसकेको, कतै भने पुष्ट हुने बेलाको धान खेतमै लडेका छन्।

‘सुकुल ओछ्याएकोजस्तै गरी धान लडेको छ, सोत्तरै भयो’ किसानहरुले सामूहिक गुनासो पोख्। धान ढलेर क्षति पुगेपछि आफ्नो वर्षभरिको महेनत खेर गएको किसानहरुले बताएका छन्। ‘पानीमात्र परेको भए केही नहुने थियो, बेस्कन हावाहुरी चल्दा धान ढलेको छ’ उनीहरुले भने।  

ढलेको धान उठाउन नपाए, धानमै टुसा पलाउने हुँदा ढलेको धान उठाउनुको विकल्प छैन। ‘असारमा मानो रोपेर मुरी फलाउने किसानहरुको सपना खत्तम भएको छ, भएको धान पनि अब भुस होला कि भन्ने लागेको छ’ किसान केशव खड्का भन्छन्। उनले यो वर्ष किसानको मेहनत खेर जाने सम्भावना बढेको बताए।

पानीसहितको हावाहुरीले लहलह झुलेको धानमा असर पुगेको बताउँदै कृषि सेवा केन्द्र झौखेलका प्रमुख मणिराम दवाडीले क्षतिको विवरणबारे जानकारी नभएको उनले बताए। धेरै किसानले लगाएको धानबालीमा क्षति पुगेको र धान ढलेको जानकारी दिँदै सोही कारणले यो वर्षको धान उत्पादनमा असर पर्न सक्ने पनि बताए।  

यो वर्ष लगाएको स्थानीय ताइचुन, मंन्सुली, खुमल जातका धानमात्र नभएर हाइब्रीड धान पनि लडेको किसानहरुले जानकारी दिएको उनको भनाइ छ। त्यस अलावा किसानहरुले आफ्नो खेतको उत्पादकत्व बढाउने नाममा अत्यधिक मात्रामा युरिया मलको प्रयोग गर्नु, धान बाक्लो गरी रोप्नु, बीऊको उपचारै नगरीकन रोप्नाले पनि धान ढल्ने सम्भावना रहने उनी बताउँछन्।

भक्तपुरको ११ हजार एक सय ६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार तीन सय ५२ हेक्टरमा धानखेती गरिने तथ्यांक छ। भक्तपुरमा वार्षिक २५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। जिल्लामा प्रतिहेक्टर ६ टन धान उत्पादन हुने गरेको छ। यो वर्ष समयमै धान रोप्न पाएका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा भए पनि धान ढलेपछि उत्पादनमा कमी आउने भएको छ।

प्रकाशित: ९ आश्विन २०७७ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App