७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीको पानीले भन्सार क्षेत्र जलमग्न

लगातार पाँच दिनदेखि परेको पानीले रौतहटका नदी तथा खोलाहरुको जलस्तर बढेको छ। खोलाहरुमा बाढीको पानी भरिएर बाहिर आउन थालेपछि कतिपय क्षेत्र जलमग्न भएको छ।

बकैया नदीको बाढीको पानी बाहिर आएर सदरमुकाम गौरको भन्सार क्षेत्रमा पसेको छ। भन्सार क्षेत्र बाढीको पानीले जलमग्न भएको छ। शुक्रबार साँझसम्म पानीको सतह कम नभएकोले स्थानीयमा त्रास देखिएको छ।

बाढीले कैयौँ घरलाई चारैतिरबाट घेरिसकेको छ। यसैगरी हजारौँ बिगाहा धान डुबानमा परेको छ। डुबानमा परेपछि किसान चिन्तामा छन्। भदैया धानखेती डुबानमा परेका किसानहरुको बाली नै सखाप हुने चिन्ता परेको हो।

बाढीले रौतहटको गरुडा नगरपालिका वडा नम्बर १ मा रहेको लमाहा खोलाको पुलमा जाने बाटो पनि कटान गरेको छ। बाटो कटान गरेपछि दर्जन गाउँका बासिन्दालाई आवतजावत गर्न कठिनाइ भएको छ।

निरन्तरको वर्षाले गाउँका बाटाहरु पनि हिलाम्मे भएका छन्। निर्माणको काम पनि अवरुद्ध भएको छ। जताततै पानी नै पानी देखिएको छ।

असोज महिनामा यति धेरै वर्षा भएको र यति धेरै बाढी आएको आफूहरुले नदेखेको धेरैले बताउन थालेका छन्। तीथिले आधा असोज नाघिसकेको भए पनि वर्षा भइरहेकोले सर्वसाधारण किसान आत्तिन थालेका छन्।

जिल्लाको बागमती, बकैया, लमाहा, चाँदी, चानी, तरहारी, भकुवा, अरुवा लगायतका खोलाहरुमा बाढी आएको छ। शुक्रबार बिहानदेखि पानी पर्न रोकिएको भए पनि आकाश सफा नभएकाले किसानहरु अझै चिन्तित देखिएका हुन्।

प्रकाशित: ९ आश्विन २०७७ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App