८ वैशाख २०८१ शनिबार
समाज

पर्यटन बोर्डको प्रदेश नं १ कार्यालय धरानमा स्थापना गरिने

पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाबीच भएको समझदारी पत्र आदानप्रदान गरिदै । तस्बिरः नागरिक

नेपाल पर्यटन बोर्डले प्रदेश नं १ को कार्यालय धरानमा स्थापना गर्ने भएको छ।

बोर्डको १ नम्बर प्रदेशको कार्यालय धरानमा स्थापना गर्नेबारे बोर्ड र धरान उपमहानगरपालिकाबीच लिखित सम्झौता भएको छ। समझदारी पत्रमा बोर्डकोतर्फबाट कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र निमित्त निर्देशक लक्ष्मण गौतमले हस्ताक्षर गरेका छन् भने धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीले हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा पर्यटन बोर्डको १ नम्बर प्रदेशको कार्यालयय धरानमा स्थापना र सञ्चालनको लागि उपमहानगरपालिकाले आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्ने उल्लेख छ। कार्यालयको लागि कम्तीमा २ वटा कोठा भएको घर व्यवस्थान उपमहानगरले गर्नुपर्नेछ। यसैगरि, उपमहानगरले गर्ने नीति, योजना निर्माणको लागि आयोजना गर्ने पर्यटन सम्बन्धी बैठक, सेमिनार, गोष्ठीलगायत कार्यक्रमहरुमा बोर्डको भुमिका सुनिश्चित गर्ने पनि समझदारीमा उल्लेख भएको उपमहानगरका सुचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए।

बोर्डले पनि प्रादेशिक कार्यालय सञ्चालनको लागि आवश्यक संख्यामा कर्मचारीहरुको प्रबन्ध गरि ती कर्मचारीहरुको लागि नियमित खर्चहरुको व्यवस्था गर्ने भुमिकामा रहने समझदारी पत्रमा उल्लेख छ। यस्तै, प्रदेश सरकार, स्थानीय निकायको समन्वयमा नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, अनुसन्धान, विकास र प्रर्वद्धनमा विज्ञ सहयोग र समन्वय गर्ने, प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धनका लागि मन्त्रालयको समन्वयमा फेम ट्रिपलगायत बजारीकरणका कार्यक्रमहरु आयोजनामा समन्वय र बजारीकरण गर्ने उल्लेख छ।

उपमहानगर र पर्यटन बोर्डबीचको यो समझदारीले यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन्। कोरोना महामारी र लकडाउनले थला परेको पर्यटन क्षेत्रलाई गति दिलाउने उनीहरुको अपेक्षा छ। ‘यो समmभदारी धरान र पूर्वको पर्यटनका लागि कोसेढुंगा नै हो,’पर्यटन व्यवसायी वासुदेव बरालले भने,‘बोर्डले बनाएको नीति र कार्यक्रमहरुमा अब पूर्व क्षेत्रको पर्यटनको प्रत्यक्ष संलग्नता, सहभागिता र पहुँच हुन्छ। अहिलेसम्म पूर्व क्षेत्र राज्यको दृष्टिमा परेको थिएन, अब पर्छ, र त्यसको नेतृत्व धरानले गर्छ।’

प्रकाशित: ९ आश्विन २०७७ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App