coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भौतिक संरचना अभावमा बाँकेका हुलाक कार्यालय

बाँकेमा सञ्चालित हुलाक कार्यालयको अवस्था दयनीय रहेको पाइएको छ। अधिकांस हुलाक कार्यालयले भौतिक संरचना अभावको समस्या खेपिरहेका छन्। बिगतदेखि नै साविक गाबिस भवनमा रहेर हुलाक कार्यालयले सेवा प्रवाह गरेका हुन्। ती कार्यालयले भौतिक पूर्वाधार सम्बन्धी समस्या खेप्दै आएकाले सेवा प्रवाहमा समस्या भइरहेको जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द पाण्डे बताउँछन्।  

प्रमुख पाण्डेको नेतृत्वमा हालै कोहलपुर नगरपालिका तथा राप्तीसोनारी र नरैनापुर गाउँपालिका अन्र्तगतका इलाका हुलाक कार्यालयहरु कोहलपुर, सुईया र भोजभगवानपुर तथा अतिरिक्त हुलाक कार्यालयहरु कालाफाँटा, कटकुईया, नरैनापुर तथा मटेहिया, फत्तेपुर, बिनौना, बैजापुर, महादेवपुरीको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको थियो। सो क्रममा त्यहाँको सेवा प्रवाहको अवस्था, कार्यालयको भौतिक तथा कर्मचारीका समस्याको बारेमा जानकारी लिनुका साथै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरिएको पाण्डेले बताए।  

राप्तीसोनारी गाउँपालिकाले यसवर्ष वडा नम्बर ५ मा बिनौनामा रहेको अतिरिक्त हुलाकको दुई कोठे भवन तथा वडा नम्बर १ कुसुममा रहेको इलाका हुलाक कार्यालय मर्मत, रंङरोगन तथा बिद्युतीकरण गरिदिने योजना बनाएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन्।  

यस्तै नरैनापुर गाउँपालिकाको केन्द्र रहेको नरैनापुरमा इलाका हुलाक कार्यालयको लागि एक कोठे भवन बनाइदिने योजना रहेको गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साह बताउँछन्। प्रदेश ५ को बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सबै जिल्लाको हुलाक स्टेशनरी र डाँक ब्यवस्थापन गर्दै आएको इलाका हुलाक कार्यालय कोहलपुरको मर्मत सम्भार र स्तरोन्नतीको लागि पहल पनि भइरहेको प्रमुख पाण्डेको भनाई छ।  

उनका अनुसार बाँकेमा जिल्ला हुलाक कार्यालयसहित ११ वटा इलाका हुलाक कार्यालय र ३५ वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन्। जिल्लाका सबै हुलाक कार्यालयमा गरी २६ जना स्थायी, २३ जना करार र १ सय १ जना अतिरिक्त गरी कुल १ सय ५० जना कर्मचारी कार्यरत रहेका छन्। ‘जिल्ला हुलाकले प्रदेश पाँचका बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सबै जिल्लाको हुलाक स्टेशनरी र डाँक ब्यवस्थापनको काम गर्दछ,’ उनले भने। कार्यालयले एफ.एम रेडियो तथा केवलको नवीकरण तथा अनुगमनको काम समेत गर्ने गरेको छ।  

जिल्ला हुलाक कार्यालय बाँकेले हुलाक बचत बैंक सेवा समेत सञ्चालन गर्दै आएको छ। उक्त बैंकमा १ हजार ८ सय ३५ जना वचतकर्ता तथा ११ करोड ८८ लाख ५८ हजार ६ सय ९३ रुपैयाँ बचत रहेको बताइएको छ। प्रमुख पाण्डेले आफू आइसकेपछि हुलाक सुधारको अभियान सुरु गरिरहेको बताएका छन्। 

‘स्थानीय तहसँग समन्वय, हुलाकका संरचना मर्मत सम्भार, सेवा प्रवाहमा सुभारका काम सुरु भएका छन्,’ पाण्डेले भने ‘कोरोना कहरकाबीच पनि यस कर्यालयले स्वस्थ्य साबधानी अपनाउँदै चिठीपत्र, पार्सल आदान प्रदान, बचत बैंकका सेवा, एफएम रेडियो तथा केवलको नवीकरण लगायतका कामलाई निरन्तरता दिएको छ।’

प्रकाशित: ९ आश्विन २०७७ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App