१६ चैत्र २०८० शुक्रबार
समाज

पहिरोले भत्किएको घर पुनर्निर्माणका लागि वृद्धवृद्धालाई सहयोग

बाँझेच्यानडाँडाका मानबहादुर खत्री दम्पत्तिको भत्किएको घर । तस्बिर : नागरिक

संयुक्त आवाज परिवर्तन समाज नेपालले खोटाङका पहिरो पीडित वृद्ध दम्पत्तिलाई आर्थिक सहयोग गरेको छ। पहिरोका कारण भत्किएको घर पुनर्निर्माणका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७५ वर्षीय मानबहादुर खत्री र जानुकामाया खत्रीलाई आर्थिक सहयोग गरेको हो। गत असार ३२ गतेको भारी वर्षाका कारण भत्किएको घर पुनर्निर्माणका लागि सहयोग अभियान चलिरहेका बेला समाजले वृद्ध दम्पत्तिलाई १७ हजार १५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो।  

समाजले संकलन गरेको रकम शुक्रबार खोटाङखबर साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईमार्फत खत्री दम्पत्तिका छिमेकी ईच्छुराम रानालाई हस्तान्तरण गरिएको छ। वृद्धवृद्धाको घर निर्माणका लागि संकलन गरिएको रकम छिमेकीमार्फत पठाइएको संयुक्त आवाज परिवर्तन समाज नेपालका संस्थापक सदस्य कृष्णकला राईले बताईन्। पहिरोले ढलेको घर ठड्याउन सक्ने अवस्था नभएका कारण वृद्ध दम्पत्तिलाई सहयोग संकलन गरे पठाइएको समाजले जनाएको छ।  

वृद्धवृद्धाको घर निर्माणका लागि छिमेकी थिरेन्द्र भट्टराईको नेतृत्वमा सहयोग अभियान सञ्चालन भइरहेको छ। खत्री दम्पत्तिको सहयोगमा हालसम्म दुई लाख ५० हजारको हाराहारीमा रकम संकलन भइसकेको अभियान्ता भट्टराईले बताए। एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पत्ति मात्र बसिरहेका छन्। ‘वृद्धवृद्धाको घर बनाउनका लागि थिरेन्द्र भट्टराईले अभियान चलाइरहनु भएको छ,’ संस्थापक राईले भनिन्, ‘त्यही भएर हामीले पनि आर्थिक सहयोग पठाएका हौँ। असहाय परिवारको सहयोगमा हातेमालो गरेका हौँ।’  

केही समयअघि यूकेमा रहेकी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर वृद्धवृद्धाको घर बनाउनका लागि २० हजार सहयोग पठाएकी थिईन्।

प्रकाशित: ९ आश्विन २०७७ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App