१२ कार्तिक २०७७ बुधबार
समाज

लागुऔषधसहित ८ जना पक्राउ परेको २४ घण्टा नबित्दै थप ३ किशोर पक्राउ

लागुऔषधसहित पक्राउ किशोरहरु । तस्बिरः महेश्वर

उदयपुरका ३ किशोर अवैध लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको चौदण्डीगढी नगरपालिका ४ को नमूना चोकबाट लागुऔषध नाईट्राभेटसहित स्थानीय ३ किशोर बिहीबार राति पक्राउ परेका हुन्।  

बसाहा प्रहरी चौकीबाट खटेको टोलीले चोकमा टहलिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ लाफाचोकका २० वर्षीय जुजुहाङ राई, चौनपा ७ साकेलाचोकका १५ वर्षीय सुजन परियार र सोही वडाको लामेचौरीका १८ वर्षीय नविन परियार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

बिहीबार साँझ ७ः३० बजे पक्राउ परेका उनीहरुको साथबाट २१ थान नाईट्रभेट नामक लागुऔषध बरामद भएको छ। पक्राउ तीनैजनालाई इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जनाएका छन्।  

प्रहरीले अघिल्लो दिन मात्र भारी परिमाणको लागुऔषधसहित १ महिला र ७ पुरुषलाई पक्राउ गरेको थियो। जिल्लाको सप्तरीसँग जोडिएको दक्षिणी सीमानाका फत्तेपुरबाट र पश्चिमी सीमानाका लालपत्ताबाट भित्रिएको लागुऔषधसहित उनीहरु पक्राउ परेका थिए। फत्तेपुरबाट सदरमुकाम त्रियुगा नगरपालिका १ जोगीदह भित्र्याएको १ सय ५ थान लागुऔषधसहित ८ जना र पश्चिमी नाका त्रियुगा नगरपालिका ६ लालपत्ताबाट भित्र्याएको १ सय ८० थान लागुऔषधसहित एक दम्पति पक्राउ परेका थिए।  

दुईतिरबाट २ सय ८५ थान लागुऔषध जिल्ला भित्र्याउनेलाई बिहीबार दिउँसो जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। उनीहरुलाई सार्वजनिक गरेको २४ घण्टा नबित्दै प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो।  

जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले जिल्लाभित्र हुने अवैधानिक गतिबिधि र आपराधिक क्रियाकलापमाथि रोक लगाउन थालिएको अभियान अन्तर्गत अपराधिक कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेको बताए। उनका अनुसार कोभिडका कारण देशभर लागू भएको लकडाउनका बेलामासमेत कम नभएको आपराधिक घट्ना लकडाउन खुलेपछि झन् बढेको छ।

प्रकाशित: ९ आश्विन २०७७ १८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App