१५ चैत्र २०८० बिहीबार
समाज

ताप्लेजुङका केही स्थानमा लकडाउन, सेवा प्रवाह स्थगित

संक्रमण पुष्टि हुनु अघिल्लो दिनसम्म पनि दर्जनौं व्यक्तिसंग भेटघाट र सम्पर्कमा रहेका २ जनामा कोरोना संक्रमण देखिएपछि ताप्लेजुङमा सतर्कता स्वरुप ठाउँ–ठाउँमा अघोषित लकडाउनसंगै सेवा प्रवाह स्थगित गरिएको छ।  

फुङ्लिङस्थित प्राइम बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै बिहीबार रातीबाट बीरेन्द्रचौक स्थित प्राइम बैंक आसपासको बजार पसल समेत सिल गरिएको छ। बैंक आसपास रहेका फुङ्लिङ नगरपालिका वडा नं ५ र स्थानीय बित्तीय संस्थाहरुले केहिदिनका लागि सेवा प्रवाह स्थगित गरेका छन्। फक्ताङ्लुङ गाउँपालिकाले आउँदो १६ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको जनाएको छ भने घरभन्दा बाहिर नजान,अनावश्यक हिड्डुल र भेटघाट बन्द गर्न सार्वजनिक आह्वान गरेको छ।  

संक्रमित व्यक्तिको बसोबास रहेको क्षेत्र छिरुवा बजारका प्रत्येक घरधुरीका सदस्यलाई घर बाहिर नजान उर्दी गरिएको छ। नगरपालिका क्षेत्रका विद्यालयहरुले पनि सुरु भएको पठनपाठन तत्काललाई स्थगित गर्ने योजना बनाएका छन्। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले पूर्ण रुपले सावधानी अपनाउन, अत्यावश्यक काम बाहेक अनावश्यक हिड्डुल नगर्न, बाहिरी जिल्लाबाट फर्किएकालाई अनिवार्य होम क्वारेन्टिनमा बस्न जिल्लावासीलाई आग्रह गरेको छ।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्र्रप्रसाद चापागाँईले अब व्यक्ति–व्यक्तिले सावधानी अपनाउनु पर्ने बताए। सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान सुरु भएको बेला बाहिरी जिल्लाबाट आउनेले पनि कम्तिमा १४ दिन होम आइसोलेसनमा अनिवार्य बस्न तथा घरपरिवारका सदस्य तथा आफन्तले पनि जिल्ला भित्रिनेलाई प्रभावकारी ढंगले आइसोलेसनमा बस्ने वातावरण बनाउन प्रजिअ चापागाँईले आग्रह गरेका छन्।  

उपचारका लागि झापाको कन्काइ र मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराउन गएका फक्ताङ्लुङ गाउँपालिकाका एक ८० वर्र्षीय वृद्ध स्वाब दिएर त्यसको नतिजा नआउँदै अस्पताल नोबेल मेडिकल कलेजबाट घर आएका थिए। घर आएको ३ दिनपछि मात्र ति वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। नतिजा नआउँदै घर फर्किएका ती वृद्धले ताप्लेजुङ सदरमुकाम र उनको आफ्नो घर रहेको क्षेत्र पुग्दा दर्जनौंसंग भेटघाट गरेको बिवरण संक्रमण खोज पड्तालका क्रममा भेटिएको छ।  

बिराटनगरबाट उनी सार्वजनिक यातायात चढेर झापासम्म आएको र त्यसपछि मात्र उनले ताप्लेजुङकै एम्बुलेन्समा फुङ्लिङ फर्किएर फेरि आफ्नो घर पुग्दा १२÷१३ जना सवार सार्वजनिक गाडीमा चढेर फर्किएका थिए। उता संक्रमित देखिएका बैंकमा काम गर्ने कर्मचारीले समेत संक्रमण पुष्टि हुनु अघिल्लो दिनसम्म बैंकमा दर्जनौं सेवाग्राहीसंग कारोवार गरेका थिए। बैंकको क्यासियर भएर अधिकांस समय ब्यतित गर्ने उनले आफूलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै अस्पताल पुगेको दिनसम्म बैंकमै रहेर कारोवारका काममा दिन बिताएको संक्रमण खोज पड्ताल टोलीले बिवरण संकलन गरेको छ।  

संक्रमण पुष्टि हुनु अघिल्लो दिनसम्म संक्रमित दुबैजनाको सयौं व्यक्तिसंग भेटघाट र सम्पर्क भएको अवस्थाले उनीहरुमार्फत संक्रमण समुदायस्तरमा पुग्ने आशंकाले ताप्लेजुङमा थप सन्त्रास बढाएको छ । ‘उपचारका लागि गएका वृद्धले पीसीआर रिपोर्ट आउञ्जेल पर्खिएको वा संक्रमणका हिसावले जोखिम रहेको क्षेत्रबाट फर्किएका युवाले कम्तिमा १४ दिन सावधानीपूवर्क होम आइसोलेसनमा बसेको अवस्थामा संक्रमण बाहिर फैलने अवस्था हुदैनथ्यो’ कोेरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य एवम् जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले भने।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले सावधानी अपनाउनु नै संक्रमणबाट बँच्न सकिने एकमात्र उपाय भएको बताउँछन्।

प्रकाशित: ९ आश्विन २०७७ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App