८ वैशाख २०८१ शनिबार
समाज

वीपी प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक जना प्रदेश नं १ मोरङ जिल्लाका छन् भने अर्का प्रदेश नं २ का सप्तरी जिल्लाका छन्। दुवै जना पुरुष भएको प्रतिष्ठानले जनाएको छ।  

योसँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ३३ पुगेको छ। प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मोरङ कानेपोखरी १ का ५५ वर्षीयको हिजो साँझ साढे ८ बजे निधन भएको थियो। मृतकलाई आन्द्राको क्यान्सर भएर उपचार भइरहेको थियो। उनलाई सर्जिकल आइसियुमा उपचार भइरहदा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा रिफर भएका थिए।

प्रवक्ता डा.सापकोटाका अनुसार मृतकको आन्द्राको क्यान्सर भएपछि जटिल शल्यक्रिया भएको थियो। तर, मृतकको शरीरको अन्य भागमा क्यान्सर फैलिएको थियो। वीपीमा असोज ५ गते भर्ना भएका उनलाई हिजो मात्र संक्रमण पुष्टि भएको थियो। यस्तै, राजविराज ३ सप्तरीका ७० वर्षीय पुरुषको पनि हिजो राती ११ बजे मृत्यु भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए।  

उनी भदौ २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए। ज्वरो, खोकी, श्वासप्रश्वास र निमोनिया भएपछि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले वीपीमा रिफर गरिदिएको थियो। मृतक दुवैको शव नियम अनुसार व्यवस्थान भएको पनि प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७७ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App