बहराईनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली गोरखाको मनास्लु हिमाल आरोहण गर्न आउने भएपछि सहयोगका लागि एक टोली सामागाउँ पुगेको छ। ७० जनाको टोली बिहीबार त्यहाँ पुगेको चुमनुब्री गाउँपालिका १ सामागाउँका वडाध्यक्ष बीरबहादुर लामाले बताए।
‘करिब ७० जना, सेर्पा र सहयोगीहरु आउनुभएको छ’ अध्यक्ष लामाले भने ‘समागाउँको होटलहरुमा बस्नुभएको छ, शनिबार मनास्लु बेसक्याम्प तर्फ जाने कुरा छ।’ बहराईनका राजकुमारसहितको टोली लुक्ला रहेको र त्यहाँबाट उत्तरी गोरखाको मनास्लु हिमाल आउने कार्यक्रम यसअघि नै तय भएपछि सहयोगीहरु त्यसतर्फ गएका हुन्।
राजकुमारसहितको टोलीलाई मनास्लु हिमालको बेस क्याम्पमा गाईड गर्ने, खाना बनाउनेसहित बन्दोबस्तीका सामग्री लिएर टोली त्यसतर्फ गएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का फिल्ड अधिकृत अजित तुम्बाहाम्फेले बताए। ‘टोलीमा सहभागी सबै जना पुरुष छन्’ उनले भने ‘सबै नेपाली नै हुनुहुन्छ।’
चुमनुब्री गाउँपालिकाको स्वास्थ्य शाखाले मंगलबार गाउँपालिका प्रवेश गरेका सबैको पिसिआर रिपोर्ट र थर्मल गनले तापक्रम नापेर ‘इन्ट्रि’ गराएको जनाएको छ। राजकुमारको टोली लुक्लाबाट हेलिकप्टरमा सामागाउँ जाने कार्यक्रम छ। सामागाउँबाट उनीहरु चार घण्टा हिँडेर मनास्लुको बेस क्याम्प पुग्नेछन्। वर्षातका कारण मनास्लु पदमार्गको पैदल बाटो बिग्रिँदा राजकुमारका सहयोगीहरुलाई यात्रा गर्न सास्ती भएको छ।
कोभिड-१९ को संक्रमण फैलिएसँगै सुनसान रहेको सामागाउँको होटल राजकुमारको सहयोगी टोली पुगेपछि चलायमान देखिएका छन्। ‘सबै जना सँग पिसिआर रिपोर्ट रहेछ’ वडा अध्यक्ष लामाले भने। ठूलो संख्यामा अन्यत्रबाट मानिस आउँदा कोभिड-१९ को संक्रमणको त्रास हुन सक्ने भन्दै अहिलेका लागि मनास्लु भ्रमण रोकिदिन वडा अध्यक्ष मार्फत स्थानीयले प्रयास गरेका थिए।
‘स्थानीयको चिन्तापछि हामीले रोक्ने प्रयास धेरै गर्यौँ, तर मिलेन, अब सुरक्षित कसरी हुने भन्नेमा छौँ।’ वडा अध्यक्ष लामाले भने। टोलीले मनास्लु आरोहणको अनुमति भने एक साताअघि नै लिईसकेको छ।
प्रकाशित: ९ आश्विन २०७७ ०८:१४ शुक्रबार