८ वैशाख २०८१ शनिबार
समाज

निषेधाज्ञापछि संक्रमण दोब्बर, एकैदिन १७ को निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लकडाउन अर्थात् निषेधाज्ञा खुलेपछि कोरोना संक्रमण दोब्बर बढी भएको छ भने मृत्यु संख्या पनि ह्वात्तै बढेको बताएको छ। निषेधाज्ञा खुलेपछि विशेषगरी काठमाडौ उपत्यका र चितवनमा कोरोना संक्रमण ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। ‘निषेधाज्ञा खुलेपछि काठमाडौंलगायत घनाबस्ती भएका सहरमा संक्रमण ह्वात्तै बढेको छ, घनाबस्ती भएको ठाउँमा दूरी कायम गर्न नसकिएको देखिन्छ,’ प्रवक्ता डा. गौतमले भने।

तथ्यांकअनुसार भदौको तेस्रो साता अर्थात् भदौ २२ गतेसम्ममा ९ सय ७९ र उपत्यकामा ३ सय २६ जना संक्रमित थिए भने बिहीबार २४ घण्टामै १४ सय ९७ जना संक्रमित भएका छन्। यसैगरी बुधबार ११ सय १४ जना, मंगलबार १३ सय ५६ जना संक्रमित थिए। संक्रमितमध्ये काठमाडौं उपत्यकाभित्र मात्र ५० प्रतिशतभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ। बिहीबार उपत्यकाका एकैदिन ७ सय ५५ जना संक्रमित भएका छन्। त्यसैगरी चितवनमा बिहीबार मात्र १ सय ३७ जना संक्रमित भएका छन्। थपसहित नेपालका कुल संक्रमित संख्या ६९ हजार ३ सय १ पुगेको छ।

निषेधाज्ञा खुलेपछि आइसोलेसन सेन्टर आइसियुमासमेत लक्षण तथा जटिल समस्या भएका बिरामीको संख्या बढिरहेको छ। दुई साताअघिसम्म आइसियुमा जम्मा १ सय ७१ जना संक्रमित उपचाररत थिए भने बिहीबारसम्म आइपुग्दा २ सय ३१ पुगेको छ। बागमती प्रदेशमा १ सय ४१ जना आइसियु र भेन्टिलेटरमा २६ जना छन्। उपत्यकामा ८६ जनको मृत्यु भइसकेको छ।

पछिल्लोसम एकैदिन थप १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र ६ जना छन्। थप मृतकसहित नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ। यो हिसाबले कुल संक्रमितमध्येमा ०.६५ प्रतिशतको मृत्यु भएको छ।

कुल संक्रमितमध्ये हालसम्म ५० हजार ४ सय ११ अर्थात् ७२.७ प्रतिशत निको भएका छन्। कुल संक्रमितमध्येमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा र ८ हजार ६ सय १४ जना संस्थागत आइसोलेसनमा छन्। तीमध्ये २ सय ३२ जना आइसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको थियो। हालसम्म ९ लाख ५५ हजार ९ सय २३ जनाको परीक्षण भइसकेको छ।

संक्रमण संख्या,लक्षण भएका बिरामी संख्या र जटिल बिरामी संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सबैलाई थप सचेत हुन अपिल गरेका छ। ‘वृद्धाहरु र दीर्घरोग भएका जोखिम समूह सकेसम्म घरबाहिर ननिस्कनु’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। सोही क्रममा उनले आउँदै गरेको बडादसंैमा घर जानेले घरमा वृद्धाहरु तथा दीर्घरोगीमा संक्रमण गराउने थप सम्भावना भएको संकेत गरे। ‘दसंैमा घर जाँदा कोशेली कोरोना लिएर जाने सम्भावना देखिन्छ,’ उनले भने।

सक्रिय संक्रमित संख्या २५ हजार पुगेमा भने पुनः निषेधााज्ञा जारी गर्नुपर्ने स्थिति आउने गौतमको भनाइ छ। हाल १८ हजार मात्र संक्रमित रहेकोले व्यवस्थापन गर्न कठिनाइ नपरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७७ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App