११ कार्तिक २०७७ मंगलबार
समाज

बिपत्तिको मारमा सिन्धुपाल्चोकः बिगत मात्र होइन, भविष्य पनि जोखिममै

यो वर्षायाममा सिन्धुपाल्चोकले लगातार ठूला प्राकृतिक बिपत्ति भोग्यो । त्यसो त हरेक वर्षामा स–साना बिपद् निम्तिरहने जिल्लामा पर्छ सिन्धुपाल्चोक । २०७१ को जुरे पहिरोपछि जिल्लामा बर्सेनि निरन्तर बिपत्तिले मार हानिरहेको छ । ६ वर्षअघिको बिगत हेर्दा हरेक १०–१५ वर्षको अन्तरमा ठूल्ठूला बिपद् निम्तिने गरेको पाइन्छ । खासगरी २०७२ को भूकम्पले बाढीपहिरो जस्ता बिपत्ति शृंखलालाई ह्वात्तै बढाइ दिएको छ ।  

२०७७ को असारयता जिल्लामा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍यायो । असार, साउन र भदौमा लगातार ठूला बिपद् निम्तिरहे । साना–ठूला दर्जन बिपद्का घटनामा ७३ ले ज्यान गुमाए । ३९ बेपत्ता भए भने ४० भन्दा बढी घाइते भए । एक सय २७ घर क्षतिग्रस्त हुँदा सयौँ स्थानीय बिस्थापित हुन बाध्य भए ।

पछिल्लो समय प्राकृतिक बिपत्तिको चक्रब्यूहमा पर्र्दै आएको सिन्धुपाल्चोकसहित बाग्लुङ जिल्लालाई सरकारले बिपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । ‘बिपद्का धेरै घटना भएकाले संकटग्रस्त जिल्ला घोषित गरिएको हो,’ राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नागरिकसँग भने, ‘संकटग्रस्त जिल्लाले बिपत्ति पछिको पुनर्निर्माण र पुनःस्थापनाको काममा प्राथमिकता पाउँछ ।’ मुलुकभरको बिपद् व्यवस्थापनको काम प्राधिकरणमार्फत हुने उनी बताउँछन् ।  

पोखरेलका अनुसार मुलुकभरको बिपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने गरी विश्व बैँकले नेपाल सरकारलाई ६ अर्ब रुपैयाँ ऋण सहयोग प्रदान गरेको छ । ‘यो रकममार्फत नै मुलुकभर काम गर्ने हो । संकटग्रस्त जिल्लाको हिसावले सिन्धुपाल्चोक र बाग्लुङले क्षतिको मूल्यांकनका आधारमा प्राथमिकता साथ केही बढी कार्यक्रम र बजेट पाउँछन्,’ उनले भने ।  

प्राकृतिक बिपत्तिले पुर्‍याएको क्षतिका आधारमा राजमार्ग, सडक, पुल, बस्ती संरक्षण, निजी आवास पुनर्निर्माण र पुर्नस्थापनामा सरकारले बजेट छुट्टाउँने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । मुलुकको जहाँ–जहाँ बिपद् निम्तन्छ, त्यहीँ पुग्ने गरी प्राधिकरणले कार्यबिधि बनाइरहेको छ । खासगरी बिपद् न्यूनीकरणमा स्थानीय तहको क्षमता बढाउँदै आर्थिक र प्राविधिक सहायता उपलब्ध गराउने काम प्राधिकरणले गर्ने पोखरेल बताउँछन् ।  

यो वर्ष बिपद्को शृंखला

गत असारबाट सुरु बिपद्को शृंखला भदौसम्म जारी रह्यो । असार २५ गते स्थानीय खहरे खोल्सीको बाढीले बाह्रविसे नगरपालिका–५ को जम्बु बजार बगाउँदा दुईको मृत्यु भयो भने १४ बेपत्ता भए । सोही दिन भोटेकोसी गाउँपालिका–५ बुल्कुटे गाउँमा त्यस्तै प्रकृतिको बाढीले केही घर बगाउँदा एकको ज्यान गयो, अरु तीन बेपत्ता भए । साउन १ गते बस्ती माथिबाट खसेको पहिरोले घर पुर्दा भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँका एकै परिवारका पाँच महिला पहिरोमा पुरिएर मारिए ।

साउन १९ गते ढिस्को खरेर सुतिरहेको टहरो पुर्दा मेलम्ची नगरपालिकामा आठ मजदुरको ज्यान गएको थियो । सोही दिन पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा दम्पतिले मृत्युवरण गर्नु पर्‍यो । साउन ३१ गते जुगल गाउँपालिका–१ गोल्चेको लिदी गाउँ पहिरोले बगाउँदा २९ ले ज्यान गुमाएर । उक्त पहिरोमा अझै दुई हराइ रहेका छन् । त्यस्तै भदौ २७ गते बाह्रविसे नगरपालिका–७ घुम्थाङमा गाउँमाथिबाट खसेको पहिरोले तीन बस्तीमा क्षति गर्दा १६ को मृत्यु भयो । पहिरोमा अझै १५ हराइ रहेका छन् । तर बेपत्तकका आफन्तले भने उनीहरु जीवित भेटिने सम्भावना नरहेको भन्दै काजकिरियासमेत सिद्धाइसकेका छन् ।  

तथ्यांक हेर्दा बाह्रविसे र भोटेकोसीमा धेरै बाढीपहिरोका घटना भएको देखिन्छ । भूगर्भविद् श्रीकमल द्धिवेदी सिन्धुपाल्चोकमा यो वर्ष भएका धेरै बिपत्ति भेलपहिरो (डेब्रिसफ्लो) सँग सम्वन्धित रहेको बताउँछन् । ‘यो सुरु भएको स्थानदेखि बग्दै अन्तिममा रोकिने स्थानसम्म ठूलो क्षति पुर्‍याउने प्रकृतिको पहिरो हो,’ उनले भने । भेलपहिरोले ठूलो मानवीय क्षति पुर्‍याउँने उनको तर्क छ । भेलपहिरोबारे स्थानीयलाई बुझाउँन नसक्नु ठूलो कमजोरी मान्छन् उनी । भूकम्पको असर र सडक निर्माण लगायत मानवीय क्रियाकलापले समेत पछिल्लो समय सिन्धुपाल्चोकमा लगातार प्राकृतिक बिपत्ति निम्त्याउँन सघाएको उनी सुनाउँँछन् ।  

जुरे पहिरोपछि लगातार बिपद्

२०७१ साउन १७ गते विश्वकै ध्यान खिच्ने गरी भिमकाय जुरे पहिरो निम्तियो । त्यसपछि जिल्लामा निरन्तर प्राकृतिक बिपत्ति जारी छ । जुरे पहिरोले पाँच गाउँ बगाउँदै ११ घन्टा सुनकोसी थुन्दा १ सय ४५ को ज्यान गएको थियो । ३७ दिनपछि कृत्रिम ताल फुट्दा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।  

जुरेको पीडा सेलाउन नपाउँदै २०७२ वैशाख १२ को बिनासकारी भूकम्पले सबैभन्दा जनधनको क्षति सिन्धुपाल्चोकमै पुर्‍यायो । तीन हजार पाँच सय ५१ को ज्यान लिएको भूकम्पमा परी झण्डै एक हजार ६ सय घाइते भएका थिए । शतप्रतिशत घर संरचना क्षति हुँदा जिल्ला खण्डहरमा बदलिएको थियो । लगत्तै २०७३ असार २१ गते तिब्बतको हिमताल फुटेर भोटेकोसी नदीमा बाढी आउँदा तल्लो तटीय क्षेत्रको तातोपानीदेखि बाह्रविसेसम्मका झण्डै सय घरसंरचना बगे भने अरनिको राजमार्ग छियाछिया भयो । २०७४ वर्षाको बाढीले लार्चा पुल र २०७५ वर्षाकै बाढीले साधी खोला पुल बगाउँदा बाह्रविसे–तातोपानीमा लामो समय यातायात सम्पर्क टुटेको थियो ।  

बिपत्तिले भरिएको बिगत  

भोटेकोसीको बाढीले बिपत्तिको विनासलीला मच्चाइ रहन्छ । उसै पनि हिमतालहरु पानी स्रोत रहेको भोटेकोसीलाई तिब्बतको दुःखको रुपमा लिइन्छ । बिगतदेखि नै तिब्बतमा भारी बर्खा हुँदा वा बाढी आउँदा त्यसको प्रत्यक्षमार त्यहाँका नागकिरले मात्र होइन नेपालीले पनि भोग्दै आएका छन् । अझ विशाल मुलुक चीन प्रवेशको मुख्य ढोका तातोपानी र तल्लो तटीय क्षेत्रका बासिन्दाले लामो समयदेखि बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपसँग संघर्ष गर्दै आएको पाइन्छ ।  

बाढी पहिरोको इतिहास पल्टाउने हो भने हरेक १०–१५ वर्षको अन्तरालमा उनीहरु बिपत्तिको मारमा पर्दै आएका छन् । त्यसैले भोटेकासी हाम्रोसमेत दुःख हो । त्यहीँमाथि तातोपानीको भूगोल पहिरोग्रस्त क्षेत्रको रुपमा चिनिन्छ । विज्ञहरुका अनुसार सुनकोसीभन्दा माथि सिँगो तिब्बतसम्कै भू–भाग अत्येन्तै कमलो र जोखिमपूर्ण छ ।  

विभिन्न अध्ययन, अनुसन्धानमा सन् १९६४ देखिका भोटेकोसी विनास समेटिएका छन् । इसिमोडले नै सुनकोसी करिडोर र भोटेकोसी उपत्यकामा आएका बाढी, पहिरोको अध्ययन गरी प्रदिवेदन सार्वजनिक गरेको छ । सन् १९६४ मा तिब्बतको ज्याङलाङ ताल फुटेको थियो । त्यसले त्यतिबेला पुर्‍याएको क्षति कतै नभेटिएको बिज्ञ मूल बताउँछन् । उनका अनुसार सन् १९८२ मा दोस्रो पटक पुनः उक्त ताल फुट्दा तिब्बत र नेपालमा व्यापक क्षति पुगेको थियो । मितेरी र फुल्पिङसहित तिब्बतको समेत तीन पक्की पुल बगेको थियो ।  

त्यसले सुनकोसी हुँदै दोलालघाटसम्म क्षति पुर्‍याउँदा ठूलो जनधनको नोक्सानी पुगेको थियो । त्यतिबेलाको बिनासलीला राम्चे, बाह्रविसेका ६० वर्षीय अर्जुन राउतले अझै बिर्सन सकेका छैनन् । त्यस बखत २५ वर्ष उमेर रहेका राउत ३८ वर्षअघिको बाढी सम्झन्छन्, ‘४० घरधुरीको पूरानो बाह्रविसे बजार पूरै बगाएको थियो ।’ त्यो बाढीले लामो समय स्थानीयलाई सास्ती दिएको उनी सुनाउँछन् ।  

त्यसपछि पनि भोटेकोसी करिडोर (तातोपानी क्षेत्र) मा प्राकृतिक विपत्ति निम्तिएको इसिमोडको प्रतिवेदनमा उल्लेख छ । सन् १९९६ मा तातोपानी नजिकको लार्चामा ठूलो पहिरो गएको थियो । दुई साता लामो अविरल वर्षापछि सात किमीमाथिबाट १ सय ४० मिटर फराकिलो आकारसहितको पहिरो झर्दा ५४ जनाको ज्यान लिँदै ४० घर र लार्चा पुल बगाएको थियो । विज्ञहरुले २०७१ साउन १७ को भीमकाय जुरे पहिरोलाई लार्चा पहिरोसँग तुलना गर्न थालेका छन् । यसपछि पनि थोरै संख्यामा मानवीय क्षति वा मानवीय क्षतिबाहेक भाटेकोसी बाढी र तातोपानीको पहिरोले निरन्तर भौतिक नोक्सानी पुर्‍याउँदै आएको छ ।  

सुनकोसी र ब्रह्मायणी करिडोरसमेत जोखिममा  

विभिन्न अध्ययन र प्रतिवेदन अनुसार भोटेकोसी जस्तै सिन्धुपाल्चोकका सुनकोसी र ब्रह्मायणी (बलेफी) नदी पनि बाढी, पहिरोको उच्च चपेटा पर्दै आएका छन् । इसिमोडकै प्रतिवेदनमा उल्लेख भएअनुसार सन् १९८२ मा बलेफी नजिक झण्डै तीन वर्ग किलोमिटरको डाँडो बग्दा सुनकोसी थुनिएर (मिसिएर बगेपछिको नदी) ९७ जनाको ज्यान गएको थियो । साथै, १५ घर बगेका थिए ।  

सन् १९८७ मा सुनकोसीमा नदी थुन्ने गरी अर्को पहिरो गएको थियो । २ सय २९ घर बगाउँदा ९८ जनाको ज्यान गएको थियो भने १०.०५ मेगावाट क्षमताको सुनकोसी जलविद्युत केन्द्र पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । सुनकोसीले अरनिको राजमार्ग कटान गर्दा केही सयम तातोपानी एक्लिन पुगेको थियो । उता बलेफी करिडोरको पाङताङमा पचासको दशकमा (२०४० पछि) ब्रह्मायणी नदीको बाढीले कात्तिके बजार बगाउँदा ठूलो मानवीय क्षतिसमेत भएको थियो । भोटेकोसी जस्तै सुनकोसी र ब्रह्मायणी उपत्यका पहिरो ग्रस्त क्षेत्र रहेको विज्ञको भनाइ छ ।  

भोटेकोसीले सताइरहन्छ

भोटेकोसी उपत्यकाको तिब्बतमा हिम तालहरु जोखिमपूर्ण अवस्थामा रहेकाले तल्लो तटीय क्षेत्र नेपालमा जुनसुकै बेला प्राकृतिक प्रकोपले सताउन सक्ने खतरा विज्ञ औँल्याउँछन् । भूगर्भविद् द्धिवेदी यो तर्कमा सहमत छन् । ‘तिब्बतमा जोखिमपूर्ण अवस्थामा रहेका हिमताल जतिबेला पनि फुट्न सक्ने सार्वजनिक भइसकेको छ,’ उनले भने, ‘बेलैमा सचेतना अपनाउनु पर्छ ।’  

इसिमोडका तर्फबाट त्रिविका प्राध्यापक नरेन्द्रराज खनाल, विज्ञ मूल र चिनियाँ अनुसन्धानकर्ता सम्मिलित टोलीले चीनतिरका हिमतालको २०७२ मा अध्ययन गरेको थिए । अध्ययन अनुसार टोलीले तिब्बती भोटेकोसी जलाधार क्षेत्रमा ७४ हिमताल रहेकोमा १० वटा जोखिमपूर्ण रहेको निष्कर्ष निकालेका थिए । ‘त्यसमध्ये ६ वटा जुनसुकै बेला विस्फोट हुन सक्छ,’ प्रतिवेदनको निष्कर्ष छ । अहिले पनि चिनियाँ वैज्ञानिक र अनुसन्धानकर्ताले पनि हिमतालको अध्ययन गरिरेको छन् । 

तिब्बतका जोखिमयूक्त ताल अध्ययन गरेका विज्ञहरुका अनुसार भोटेकोसी बाढी त छँदैछ र जोखिमका हिमताल फुट्ने खतरा सँधै रहिरहने भएकाल तल्लो तटीय क्षेत्र खास गरी तातोपानीमा फिजिकल्ली बस्ती बसाउन मिल्दैन ।

प्रकाशित: ८ आश्विन २०७७ १९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App