१६ चैत्र २०८० शुक्रबार
समाज

पहिरोका कारण ऐसेलुखर्कका ११ घर जोखिममा

पहिरोका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ११ घर जोखिममा परेका छन् । असोज २ गतेको भारी वर्षाका कारण ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी मावाका ११ घर स्थानीय जोखिममा परेका हुन् । बस्तीभन्दा तलबाट सुरु भएको पहिरोले स्थानीयको घर जोखिममा परेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

पहिरोले दिलबहादुर राई, टेकबहादुर राई, जुनकिरी राई, लालबहादु राई, पर्शुराम राई, पुर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्बीर राई र नैनकुमार राईको घर जोखिममा पारेको हो । केही समयअघि गाउँभन्दा माथि र तलबाट खनिएको सडकबाट पहिरो सुरु भएपछि जलेश्वरी मावाको वस्ती उठाउनुपर्ने अवस्था देखिएको छ । ‘वस्तीभन्दा माथि र तलबाट पहिरो गएको छ । अति नै जोखिम देखिएको छ,’ अध्यक्ष निरौलाले भने, ‘पहिरोको जोखिमका कारण वस्ती नै उठाउनुपर्ने अवस्था छ ।’  

बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो सुरु हुँदा माथिल्लो क्षेत्रका वस्ती जोखिममा परेको हो । पहिलोभन्दा माथिका दिलबहादुर राई, टेकबहादुर राई र एकल महिला जुनकिरी राईको घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताए । पहिरो नरोकिए उनीहरुको घरभन्दा माथिको घर समेत क्रमशः जोखिममा पर्ने खतरा देखिएको छ । २०७२ सालको भूकम्पपछि सो स्थानमा पलाएको पानी पनि पहिरोको कारण बनेको छ । हाल पाखा लच्किँदै क्रमशः पहिरोकारुपमा खस्ने क्रम जारी छ । वस्तीभन्दा माथिको पहिरो भने गत वर्ष जाली सहितको पर्खाल हालेर नियन्त्रण गरिएको वडाध्यक्ष राईले बताए ।  

यस्तै, पहिरोका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ । वर्षाका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड अन्तरगत ऐसेलुखर्क गाउँपालिका–७ माक्पाको भदौरेमा पहिरो खस्दा असोज २ गतेदेखि सडक अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

प्रकाशित: ८ आश्विन २०७७ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App