७ वैशाख २०८१ शुक्रबार
समाज

मनसुन अवधिमा मात्र गण्डकी प्रदेशमा १२६ जनाको ज्यान गयो, २३ अझै बेपत्ता

भदौ तेश्रो साता बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले पुर्‍याएको क्षति । फाइल तस्बिरः नागरिक

नेपालमा हरेकवर्ष प्राय जुन १० मा मनसुन सुरु भई सेप्टेम्बर २३ मा सकिन्छ । जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर २३ मा मनसुन सकिने बताएपनि यो पटक त्यो तिथि पछाडि धकेलिँदै जाँदा यतिबेला नियमित र भीषण वर्षा भईरहेको छ । त्यही वर्षाका कारणले निम्तिएको बाढी पहिरोले बिध्वंश मच्चाउँदा मानवीय क्षति पनि बढाउँदै लगेको छ ।

मनसुनको यो अवधिमा गण्डकी प्रदेशमा भएको मानवीय क्षतिको आकार पनि बढ्दो छ । सकिने बेलाको मनसुनको वितण्डाको मार त झनै डरलाग्दो हुँदै गएको मौसमविदले बताएका छन् । सकिने बेलाको मनसुनले विध्वंस मच्चाउँदा स्याङजाको एउटा परिवार नै विहीबार बिहान पहिरोमा बगेको छ । विहीबार बिहान पहिरोले घर पुरिँदा स्याङजाको वालिङ नगरपालिका–१४ तमादीको एकै परिवारका नौजनाको मृत्यु भएको छ भने एक जनाको उद्दार गरिएको छ । स्थानीय माया नेपालीको घर विहीबार बिहान खसेको पहिरोले पुरिँदा परिवारका नौजनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

यसबाहेक मनसुनको यो अवधिमा मात्र गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु भएको छ । २३ जना अझै बेपत्ता छन् । प्रदेशका ११ मध्ये हिमाली जिल्लामनाङमा बाहेक अन्यत्र सबैतिर बाढीपहिरोले क्षति पु¥याएको छ । प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार सबैभन्दा बढी क्षति बागलुङमा ३६ जनाले मनसुनको यो अवभिमा बाढीपहिरोमा परेर ज्यान गुमाए । बागलुङमा १६ जना अझै बेपत्ता छन् । त्यसपछि म्याग्दीमा ३१ जनाको ज्यान गएको छ भने पाँचजना बेपत्ता छन् । स्याङजामा भएको मानवीय क्षतिको संख्या अहिलेसम्म १५ पुगेको छ भने एकजना हराएका छन् ।  

अहिलेसम्म कास्कीमा ११ र लम्जुङमा चारजनाको ज्यान गएको छ । त्यस्तै तनहुँमा १३, पर्वतमा १० जनाको मृत्यु भएको छ । गोरखामा तीनजनाले ज्यान गुमाउँदा एकजना बेपत्ता छन् । हिमालपारिको जिल्ला मुस्ताङमा एक र नवलपुरमा पनि दुईजनाको बाढीपहिरोमा परेर ज्यान गएको छ । ‘बाढी पहिरोमा परेर ज्यान गुमाउनेसँगै बेपत्ता हुने पनि छन,’ रेग्मीले भने, ‘बेपत्ता भएका व्यक्तिको खोजी भईरहेको छ । तर, हराएको लामो समय भएकोले भेटन कठिन छ ।’  

जिल्लास्थित प्रहरी कार्यालयको टोली बेपत्ता व्यक्तिको खोजीमा खटिएको उनले बताए । रेग्मीमा अनुसार यो अवधिमा बिस्थापित भएका घरको संख्या एकहजार ६ सय १५ रहेको छ । ती घरका ६ हजार ७ सय ७३ जना नागरिक बिस्थापित भएका छन् भने पहिरोको जोखिममा रहेका घरको संख्या ९७० रहेको छ । क्षति भोगेका सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद् समितिमार्फत बिस्थापित नागरिक र जोखिममा रहेका घरको व्यवस्थापन हुने उनले बताए ।  

नेपालमा मनसुन जाने मिति सेप्टेम्बर २३ रहेपनि यो वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेकोले बाढीपहिरोको आकार पनि बढिरहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको पोखरास्थित कार्यालयका प्रमुख राजारामप्रसाद ढकालका अनुसार भारतको मध्यप्रदेशमा रहेको न्युन चाँपीय क्षेत्र पश्चिम–उत्तर–पश्चिम तर्फ सर्ने क्रममा रहेकोले अझै केहीदिन नेपालमा भारी वर्षा हुने आँकलन गरिएको छ । मनसुन सकिने तिथि पछाडि धकेलिने भएकोले अझै केहीदिन वर्षा हुने र बाढी पहिरोको जोखिम रहेको उनले बताए । ‘मनसुन सकिने बेलाको यो वर्षादले अहिले धेरैतिर विध्वंस मच्चाएको छ,’ उनले भने, ‘अझै केहीदिन भीषण वर्षा हुने आँकलन छ । सेप्टेम्बर ३० सम्म नेपालमा वर्षा हुने प्रक्षेपण गरिसकेको छ ।’  

यो पटक मनसुनमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएकोले पनि बाढीपहिरोको क्षति बढाएको ढकालले बताए । पोखरा क्षेत्रमा योवर्ष (सेप्टेम्बर २४ सम्म) ५ हजार २ सय ५० मिलिमिटर वर्षा भईसकेको छ । जल तथा मौसम विज्ञान विभागको पोखरास्थित कार्यालयका अनुसार पोखरामा वर्षमा ३ हजार देखि ३२ सय मिलिमिटर वर्षा हुनुलाई औषत मानिन्छ । तर, अहिले त्यो औषत झन्डै दोब्बरको आकारमा पुगिसकेको छ । यसअघि पोखरामा सन् १९९८ मा सबैभन्दा बढी ४८७९ मिलिमिटर वर्षा भएको थियो । त्यसबाहेक सेप्टेम्बरमा पोखरामा ६४० मिलिमिटर वर्षा हुनुलाई औषत मानिन्छ । तर यो सेप्टेम्बरमा विहीबारसम्म औषत भन्दा दोब्बर बढी वर्षा भईसकेको छ । सेप्टेम्बरको विहीबारसम्म (२४ दिन)मा पोखरामा १३ सय २५ मिलिमिटर वर्षा भईसकेको छ ।  

भूगर्भका जानकारहरु पनि नियमित अनि भीषण वर्षाले यो पटक मानवीय क्षति बढाएको बताउँछन् । भूगर्भविद् श्रीकमल द्विवेदीका अनुसार २०५० पछि योवर्ष बढी क्षति भएको छ । ‘झन्डै दुईदशकपछि यो वर्ष बढी क्षति भयो,’ उनले भने । उनका अनुसार क्षति बढ्नुमा प्राकृतिकसँगै मानवीय कारण छन् । ‘आफैमा निरन्तर वर्षा भएको छ । त्यसबाहेक मोटरबाटो पनि उत्तिकै खनिएका छन । बाटो खन्दा खोल्सीमा माटो फ्याकिएको छ । गाउँका डाँडाकाँडा स्काभेटर लगाएर सम्याइएको छ,’ उनले भने, ‘जहाँतही गह्रौ उपकरण प्रयोग गर्दा पनि क्षति निम्तिएको छ ।’ सबैभन्दा त्रास हिउँदमा डाँडा काट्ने र माटोजति खोल्सामा फ्याकेर साँघुरो बनाइदिँदा त्यसले वर्षामा क्षति पु¥याएको उनले बताए ।

जर्बजस्ती संरचना निर्माण गरेर खोला र खोल्सी साँघुरो बनाउँदा पनि क्षति बढ्न थालेको उनले बताए । सडक खनेपनि नाला नबनाउने, पानीको निकास नदिने गर्दा पनि क्षति बढाउन सहयोग पुगेको द्विवेदीले बताए । ‘सुख्खा हुँदा संरचना निर्माण गरिन्छ, तर वर्षामा त्यसको असर देखिन्छ,’ उनले भने, ‘हिउँदमा संचरना बनाउँदा वर्षामा असर पर्छ भन्नेमा हेक्का राखिँदैन ।’  

उनका अनुुसार पछिल्लो समय हाँडीघोप्टे (क्लाउड ब्रस्ट) जसरी पानी परिरहेको छ । महिनाभर पानी नपर्ने तर एकैपटक छोटो समयमा भीषण वर्षा हुने गर्दा पनि एकाएक क्षति बढ्ने उनले बताए । भीषण वर्षासँगैको भेलपहिरोले पनि क्षति निम्त्याउन थालेको उनले बताए । ‘पहिरोले निम्त्याएको भेलले बगाएर पनि क्षति भएका छ । बागलुङ र सिन्धुपाल्चोकमा यस्तै घटना भएका हुन् । माथिबाट झरेको पहिरो तल्लो भेगमा भेलमा बदलिँदै जाँदा क्षति बढेको द्विवेदीले बताए ।

प्रकाशित: ८ आश्विन २०७७ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App