खोटाङको जन्तेढुंगा गाउँपालिकाका किसानले पालेको बाख्रामा अज्ञात रोग फैलिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी (खुटा)का किसानले पालेको बाख्रामा विगत तीन महिना अघिदेखि अज्ञात रोग फैलिएको हो । गत असारदेखि बाख्रामा छेर्ने, ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गार्हो हुने लगायतका लक्षण देखिने रोग फैलिएको हो । अज्ञात रोगका कारण कतिपय किसानको खोर नै रित्तिएको छ । धमाधम बाख्रा मर्न थालेपछि बाख्रा पालनबाट आयआर्जन गर्दैआएका किसान मारमा परेका छन् । खोरमा पालिएका ९ वटा बाख्रा मर्दा खोर रित्तिएको खुटाकी रिता खत्रीले बताईन् ।
‘मैले पालेको बाख्रामा असारदेखि रोग देखिएको हो । आज छेरेको बाख्रा भोलीपल्ट खोरमै मरिरहेको हुन्थ्यो,’ खत्रीले भनिन्, ‘खोर रित्तो भएपछि पुःन चार वटा बाख्रा ल्याएर हालेको छु ।’ बाख्रामा फैलिएको रोग नियन्त्रणका लागि हालसम्म कुनै पनि प्रयास नभएको किसानको गुनासो छ । अज्ञात रोगबाट बाख्रा मर्नेक्रम अहिले पनि जारी छ । स्थानीय मिनबहादुर खड्काले भने दुई वर्ष अगाडिदेखि नै बाख्रामा रोग देखिन थालेको बताए । ‘खोरमा पालिएका ७ वटा बाख्रा मर्यो । स–साना पाठापाठीको हिसाव छैन,’ खड्काले भने, ‘यो समस्या अहिलेदेखिको होईन । दुई वर्ष अगाडिदेखि नै फैलिएको हो । यसको रोकथाममा कसैको ध्यान गएको छैन ।’
अज्ञात रोगले चिसापानी खुटाका ढकबहादुर परियारको पनि खोर रित्तिएको छ । उनको ५ वटा बाख्रा र २ वटा खसी मरेको छ । यस्तै, गोपाल पौडेलको ३ वटा बोका, १ वटा खसी र १ वटा बाख्रा, गणेश खड्काको १ वटा खसी, दुर्गा खड्काको ३ वटा बोका, डाईश्वर कार्कीको एक वटा बोका मरेको कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टले बताए । यसबीचमा बालबहादुर खड्काको ७ वटा, झुना खत्रीको ५ वटा, रिता खत्रीको ९ वटा, मिनबहादुर खड्काको ६ वटा, जितबहादुर कार्कीको ४ वटा, बीरबहादुर खड्काको ४ वटा, जानुका खड्काको तीन वटा र शुभ सुवेदीको ४ बाख्रा मरिसकेको छ ।
बाख्रामा फैलिएको रोगको विषयमा हालसम्म जानकारी नआएको जन्तेढुंगा गाउँपालिकाका पशुशाखा संयोजक मनमायाँ योन्जनले बताईन् । ‘बाख्रामा फैलिएको समस्यका बारेमा हामीलाई अहिलेसम्म जानकारी आएको छैन,’ योञ्जनले भनिन्, ‘समस्याको बारे जानकारी आए प्राविधिकलाई फिल्डमा पठाइन्छ, बिरामी बाख्राको औषधि उपचारको व्यवस्था गर्न तयार छौँ ।’ गत वर्ष बाख्रामा रोग देखा परेपछि यसवर्ष औषधिको पुर्वतयारी गरिएको योञ्जनको भनाई छ ।
खोटेहाङ गाउँपालिकामा समेत बाख्रामा रोग देखा परेको किसानको भनाई छ । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका भविन कार्की र प्रेमकुमार राईको बाख्रा फर्ममा समेत बाख्रा मर्न थालेको बताइएको छ । हालसम्म खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका लोमस ढकालका ४ वटा, तुलसीराम चौंलागाईको ६ वटा, डम्बर चौंलागाईको ७ वटा, गोपाल ढकालको ५ वटा, मानबहादुर मगरको ७ वटा बाख्रा लगायत मरिसकेको छ ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका विभिन्न वडाका किसानले पालेका बाख्रामा समेत रोग देखा परेको छ ।
प्रकाशित: ८ आश्विन २०७७ ०९:४६ बिहीबार