coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फोहोर व्यवस्थापनमा 'अटेरी' नगरपालिका

वन क्षेत्रमा स्थापना गरिएको डम्पिङ साइट बाहिरै फ्याँकिएको फोहोर । तस्बिरः पुष्पराज/नागरिक

गौरीगंगा नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोरजन्य पदार्थ व्यवस्थित गर्न एउटा समिति बनायो। समितिले डम्पिङ साइट अध्ययन गरेर नगरपालिकालाई सिफारिस गर्न भन्यो। त्यसका लागि गौरीगंगा नगरपालिका कार्यपालिका सदस्य भक्त विश्वकर्माको संयोजकत्वमा डम्पिङ साइट अध्ययन समिति निर्माण गर्‍यो। नगरपालिकाका इन्जिनियरसहितको टोलीले एक हप्ता लगाएर डम्पिङ साइट सिफारिस गर्‍यो। तर, नगरपालिकाले निर्माण गरेको अध्ययन समितिको सिफारिस लत्याउँदै मेयर भीमबहादुर देउवाले आफूखुसी सामुदायिक वनको जंगल क्षेत्रमा डम्पिङ साइट बनाउने अह्राए।  

कार्यपालिकाको बैठकले नै आफूहरुलाई डम्पिङ साइट अध्ययन गरेर सिफारिस गर्न अह्राएको बताउँदै संयोजक विश्वकर्माले भने,‘हामीले दिएको अध्ययन प्रतिवेदनको सिफारिसलाई लत्याउँदै मेयरले आफूखुसी जंगलमा डम्पिङ साइट बनाउन अह्राए।’ यदि मेयरले आफूखुसी गर्ने भए आफूहरुलाई समिति निर्माण गरेर किन अध्ययन गर्न दिइयो? भन्दै उनले प्रतिप्रश्न गरे। आफूहरुले सिफारिस गरेको डम्पिङ साइटभन्दा बाहिर गएर नगरपालिकाले जंगलमा फोहोर फ्याँक्दै आएको बताउँदै उनले भने,‘हामीले अध्ययन अनुसन्धान गरेर खाली जमिन रहेको ठाउँमा व्यवस्थित रुपमा फोहोर राख्न सिफारिस गरेका थियौँ, तर नगरपालिकाले हामीले सिफारिस गरेको ठाउँलाई लत्याउँदै जंगलमा फ्याँक्न थाल्यो।’ भएन र फेरि बनाइएको डम्पिङ साइटकै बाहिरै फोहोर फाल्दा वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असल पर्न थालेको उनले बताए।

खाली जमिन रहेको ठाउँमा व्यवस्थित रुपमा फोहोर राख्न गरेको सिफारिस लत्याउँदैन नगरपालिकाले जंगलमा फ्याँक्न थाल्यो: डम्पिङ साइट अध्ययन समिति 

नगरपालिकाले पछिल्लो समयमा गौरीगंगा–४, स्थित वसन्ता हरियाली सामुदायिक वन क्षेत्रभित्र बनाइएको डम्पिङ साइट बाहिरै  जथाभावी फोहोर फ्याँक्न थालेको हो। यसरी जंगलमा जथाभावी फोहोर फ्याँक्दा वातावरण प्रदूषित वन्नुका साथै वन्यजन्तुलाई प्रत्यक्ष असर पर्न थालेको छ। यस्तै फोहोरमा संकलित प्लाष्टिक तथा सिसाले जंगल कुरुप बन्न थालेको छ।  

डम्पिङ साइट बाहिरै जथाभावी सामुदायिक वन क्षेत्रमा फोहोर फालिनु राम्रो नभएको स्थानीय फणि सापकोटाले बताए। उनले भने,‘नगरपालिकाले डम्पिङ साइटको बाहिरै फोहोर फ्याँकेको छ, यो गतल हो।’ जंगलमा अव्यवस्थित रुपमा फोहोर फालिँदा वन्यजन्तुलाई असर गर्नुका साथै वातावरणसमेत दुषित बन्दै गएको उनी बताउँछन्। कोरोनाका कारण लकडाउन र निषेधाज्ञाको मौका छोप्दै डम्पिङ साइट बाहिरै फोहोर फ्याँकिदा जंगल क्षेत्र दुषित बन्दै गएको उनले बताए।  

वसन्ता जैविक मार्गसँग जोडिएको वसन्ता हरियाली सामुदायिक वन क्षेत्रमा जथाभावी फोहोर नफ्याँक्न पटक–पटक नगरपालिकालाई निर्देशन दिएको बताउँदै डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भने,‘नगरपालिकाले अटेर गरिरहेको छ।’ जंगल परिसरमा नगरपालिकाले आफूखुसी फोहोर फ्याँक्दा वन्यजन्तुलाई असर पर्न थालेको उनले बताए। ‘सामुदायिक वन क्षेत्रमा आफूखुसी नगरपालिकाले डम्पिङ साइट बनाएर मापदण्डविपरीत काम गरेको छ,’ उनले भने,‘यो सरासर गतल हो।’ सामुदायिक वनमा फोहोरजन्य पदार्थ फाल्नै नपाइने बताउँदै उनले भने,‘हामी तुरुन्तै त्यहाँबाट डम्पिङ साइट हटाउन नगरपालिकालाई पटक–पटक निर्देशन पनि दिइसकेका छौँ।’ 

जंगलमा जथाभावी फोहोर फालिँदा वसन्ता करिडोर रहेको सामुदायिक वनमा आइरहने मृग, चित्तल, बँदेल, निलगाई तथा बाँदरलाई असर पर्ने गरेको उनी बताउँछन्। ‘यो वन क्षेत्रमा मृग, चित्तल, निलगाई र बँदेल प्रसस्त छन्, कहिले काहिँ पाटेबाघ पनि देखापर्छ,’ उनले भने,‘जथाभावी फालिएको फोहोरले यी वन्यजन्तुलाई असर गरिरहेको छ।’ प्लाष्टिकजन्य पदार्थ खाँदा वन्यजन्तुहरु बिरामी पर्ने गरेको पनि उनले बताए। ‘फोहोरमा मिसिएका प्लाष्टिकजन्य पदार्थ यत्रतत्र छरिएका छन्,’ उनले भने,‘त्यही प्लाष्टिक खाएर वन्यजन्तु बिरामी पर्ने सम्भावना अत्याधिक छ।’  

नगरपालिकाका मेयर भीमबहादुर देउवाले जंगल क्षेत्रमा फोहोर राखिँदा वन्यजन्तुलाई असर पर्ने कुरा स्वीकारे। उनले भने,‘विगतदेखि हामीले जंगलमै कर्कटपाताले घेरेर डम्पिङ साइट बनाएका थियौँ, वर्षातले त्यो भित्र ट्याक्टर जान नसकेका कारण अहिले फोहोर बाहिरै फ्याँकिएको हो।’

प्रकाशित: ८ आश्विन २०७७ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App