लगातारको वर्षाका कारण दक्षिण ललितपुर हुँदै उपत्यकालाई हेटौंडासँग जोड्ने कान्तिलोकपथ सडक पहिरोले छियाछिया बनेको छ। वर्षा नरोकिएपछि गएराती पहिरोमा फसेका ५ जनाको उद्वार कार्य अझै हुन सकेकोे छैन।
ओहोरदोहोर गरिरहेका बेला पहिरो आएपछि ५ जना पहिरो छलेर आफ्नै प्रयासमा बाच्न सफल भएपनि उनीहरुको उद्दारकार्य भए हुन सकेको छैन। पहिरो गइरहेको ठाउँमा रहेका उनीहरु बाटो बन्द भएपछि कतै जान सकिरहेका छैनन्। ढुंगा पल्टदा चोट लागेपनि हालसम्म उद्धार हुन नसकेको स्थानीय दीपक घिमिरेले बताए। उनका अनुसार पहिरोमा फसेकाहरुको उद्धारको लागि प्रयास गरिएतापनि वर्षाका कारण सकिने अवस्था छैन।
कान्तिलोकपथअन्र्तगत बागमती गाउँपालिका वडा नं. ३ छपेलीस्थित पाङदुरमा बुधबार ठूलो पहिरो गएको थियो। पहिरोमा फसेका ५ जनाको अझै उद्धार हुन नसकेको प्रहरी चौकी भट्टेडाँडाका प्रहरी नायब निरीक्षक सन्तोष बरालले जानकारी दिए। उनका अनुसार वर्षाका कारण दक्षिण ललितपुरका सबैजासो सडक बिग्रिएका छन्। सदरमुकाम आउने सबैजसो बाटा बन्द भएपछि स्थानीय जनजिवन कठिन बनेको छ। पहिरोमा दुई वटा टिपर र एउटा मोटरसाइकल पुरिएका छन्।
पहिरोमा फसेकाहरुको उद्धार कार्यका लागि हेलिकप्टर पुगेपछि वर्षाका कारण उद्धार हुन नसकेको प्रहरीको भनाई छ। बाक्लो कुहिरो र सबैतिर पहिरो जानसक्ने डर देखिएपछि हेलिकप्टरमार्फत् उद्धार गर्न पनि मुस्किल परेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार पहिरोका कारण दक्षिण ललितपुर क्षेत्रमा ओहोरदोहोर बन्द भएको छ। ग्रामिण क्षेत्रमा पहिरो जान सक्ने भन्दै स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ। जोखिम बढेकाले कान्तिलोकपथ सडक वर्षा नरोकिँदासम्मका लागि बन्द गरिएको छ।
प्रकाशित: ८ आश्विन २०७७ ०७:५५ बिहीबार