८ वैशाख २०८१ शनिबार
समाज

वालिङको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु, १ को उद्दार

स्याङजाको वालिङ १४ तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्यु भएको छ। एक जनाको भने उद्दार गरिएको छ। उद्दार गरिएको युवतीलाई थप उपचारको लागि पोखरा ल्याइएको छ।  

साविक थुम पोखरा हाल वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घर विहीबार बिहान पहिरोले पुरिएको थियो। पहिरोमा परिवारका ९ जनाको मृत्यु भएको स्थानीय वडा सदस्य गमप्रसाद लुईटेडलले जानकारी दिए। पहिरोस्थल गायडाँडा र लुईटेलडाडाँको बीचमा पर्छ।  

मृत्यु हुनेमा ६० वर्षिय सेनी नेपाली, ४८ वर्षिय माया नेपाली, ३४ वर्षिय दिपक नेपाली, २८ वर्षिय कुलदिप नेपाली, १५ वर्षिय विक्रम(शिशिर) नेपाली, ९ वर्षिया विविश नेपाली, २१ वर्षिया विनिता (बुहारी), पाहुना बन्न आएकी बहिनी ३० वर्षिया उमा नेपाली र छ महिनाकी बालक समीर नेपालीको मृत्यु भएको वडा सदस्य लुईटेलले बताए। १८ वर्षिय मनिषा नेपालीको भने उद्दार गरिएको छ।  

घटना भएको झण्डै पाँचघण्टाको पुरिएको अवस्था शव निकालिएको थियो। घरभन्दा माथिबाट झरेको पहिरोले घर पुरिएको हो। पहिलो निकै ठूलो भएकोले उद्दार गर्न कठिनाई भएको स्थानीय स्याङजा वालिङ नगरपालिका–१४ का वडासदस्य गमप्रसाद लुईटेलले जानकारी दिए। पहिरो विहान साढे पाँच बजे झरेको थियो। पहिरो झर्ने वित्तिकै वडा सदस्यसहित गाउँले उद्दारको लागि जुटेका थिए। ‘पहिरो झरेपछि उद्दारमा आयौं। भित्रबाट गुहार–गुहार भन्दै आवाज पनि आएको थियो’उनले भने–‘तर पहिरो ठूलो भएकोले उद्दार गर्न सकिएन्। परिवार नै पहिरोमा पुरियो।’  

घरमाथि बाटो छ। बाटो भन्दा माथिबाट पहिरो झरेको हो। बेला बेलामा पहिरो जादाँ बाटोलाई डोजर लगाई सफाई गर्दै आइएको छ। ‘साना तिना पहिरो आउँदा बाटो अवरुद्ध हुँदै आएको थियो। डोजरले बाटो खुलाउँ सफा गर्दै आउथ्यौं।’ वडासदस्य लुईटेलले बताए। पहिरो सडक भन्दामाथिबाट झर्दा आकार ठूलो लिएको थियो। सदस्य लुईटेलका अनुसार परिवार विहान उठे पनि निस्कन नपाउँदै पहिरोले लपेटेको थियो। ‘तुरुन्तै उद्दार गर्न नसक्दा बढी क्षति हुन पुग्यो।’ उनले थक थक गरे।  

आफु उद्दारमा आउँदै गर्दा प्रहरी प्रशासनलाई खबर गरिएको सुनाए। नेपाल प्रहरी, स्थानीयबासी तथा नजप्रतिनिधि लगायतको उपस्थितिमा शव निकालिएको हो। ‘बाहिर घर बाहिर सुत भनेर समेत भनेका थियौं’ उनले थपे–‘सबै भित्रै सुतेका रहेछन्। उठिसकेको भएपनि पहिरो जादाँ घरभित्रबाट निस्कनै भ्याएनन्।’ परिवार मध्ये माईलो छोरा भने भारतको मुम्बईमा छ। परिवारको जेठो, माईलो र कान्छो छोरासहित बुहारी तथा बालबालिका पहिरोमा पुरिएको वडा सदस्य लुईटेलले बताए।  

 

प्रकाशित: ८ आश्विन २०७७ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App