४ वैशाख २०८१ मंगलबार
समाज

पहिरोमा बेपत्ताका आफन्तले किरिया गर्न थाले

घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेपछि बेपत्ताका आफन्तले काजकिरिया गर्न थालेका छन् । पहिरोमा बेपत्ता भएका १५ जनाका परिवारकाले उनीहरूलाई मृतक मानेर अन्तिम संस्कार थालेका हुन् । परम्पराअनुसार बेपत्ताहरूको कुसको शव बनाएर दाहसंस्कार गरी परिवारले किरिया गरेको बाह्रविसे नगरपालिका–७ का वडाध्यक्ष मिनबहादुर श्रेष्ठले बताए । ‘बेपत्ता भएका व्यक्ति जीवित भेटिने सम्भावना नरहेपछि परिवारले किरिया सुरु गरेका छन्,’ उनले भने । शव भेटिएका १६ र बेपत्ता १५ समेत ३१ जनाकै काजकिरिया बिहीबार सकिने उनले जनाए ।  

गत भदौ २७ गते गाउँमाथिको पहाडबाट खसेको ढिस्कोले पहिरो निम्त्याउँदा नगरपालिका–७ घुम्थाङस्थित भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तीका ३२ घर बगाएको थियो । अन्य ५० भन्दा बढी घरमा क्षती पुगेको थियो । सोही स्थानमा गत हिउँदमा सुख्खा पहिरोसमेत गएको थियो । पहिरोमा ३१ बेपत्ता भएकोमा १६ को मात्रै शव फेला प-यो । बेपत्ता भएका १५ भेटिएनन् । बेपत्ता सबै नागपुजे हगामे टोलका हुन् । ९ घरधुरीको हगामे टोल नै पहिरोले बगाएर भोटेकोसी नदीमा पु-याएको थियो । टोलको झण्डै तीन सय मिटरको दूरीमा भोटेकोसी छ । घरसँगै पहिरोले बेपत्ता भएकालाई पनि भोटेकोसीमा पु-याएको हुन सक्ने आशंका गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले बेपत्ताहरू भेटिने सम्भावना नरहेको बताए । ‘लगातार सातासम्म बस्ती रहेको पहिरो क्षेत्रदेखि भोटेकासी किनारसम्म डोजर प्रयोग गरेर खोजी गर्दासमेत बेपत्ता भेटिएनन्,’ उनले भने । 

प्रकाशित: ८ आश्विन २०७७ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App