coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

घुन्सा दुर्घटनाको स्मरणमा पार्क

ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनाको दिनलाई स्मरण गर्दै संरक्षण दिवस मनाइएको छ। २०६३ असोज ७ गते भएको सो दुर्घटनामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना संरक्षणकर्मीको निधन भएको थियो। सो दुर्घटनालाई स्मरण गर्दै असोज ७ लाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिएको छ।

दुर्घटनामा निधन भएकाहरूको योगदानको स्मरण गर्दै जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले संरक्षण दिवस मनाएको हो। कोषका अध्यक्ष पुष्पलाल पाण्डेले उनीहरूको स्मरणका लागि रामकोटमा पार्कसमेत निर्माण भइरहेको जानकारी दिए। त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट आवश्यक सहयोग भइरहेको उनले बताए।

श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो। दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी पत्नी मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो। विश्वमै पहिलो पटक वनजंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फलेस्थित घुन्चे पहाडमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो। घुन्सा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी २४ जनाको अर्धकदको सालिक काठमाडौंको रामकोटमा स्थापना गरिएको छ। सहिद पार्क नामांकन गरिएको उक्त पार्कभित्र राजारानी ताल, राधाकृष्ण मन्दिर, स्विमिङ पुललगायत अन्य संरचना पनि निर्माण भइरहेको संस्थाका अध्यक्ष पाण्डेले बताए।

प्रकाशित: ८ आश्विन २०७७ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App