coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विभिन्न भागमा भारी वर्षा

यो वर्षको मनसुन बुधबार अन्त्य हुने भनिएको थियो । तर त्यही दिनमै भारी वर्षा भएको छ । मौसमविद्हरूका अनुसार नेपालमा वर्षायाम अन्त्य हुने समय केही दिन पर सर्दै गएको छ । नेपालमा बर्खे मनुसन सामान्यता जुन १० बाट सुरु भई सेप्टेम्बर २३ सम्म रहन्छ । केही वर्षदेखि भने नेपालमा बर्खे मनसुन अन्त्य हुने समय सर्दै गएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आजभोलि सक्रिय भएको मनसुन वर्षा याममध्येकै गतिविधि हो । ‘शनिबारसम्म मनुसन सक्रिय हुन्छ । त्यसपछि क्रमशः कम हुँदै जान्छ,’ उनले भनिन्, ‘तर यो मनसुन वर्षायाम मध्यकै गतिविधि हो ।’

मौसमविद्हरूले यसपालि अघिल्ला वर्षभन्दा बढी वर्षा भएको निष्कर्ष निकालेका छन् । सामान्यतया वर्षायाममा काठमाडौंमा १ हजार १ सय ३० मिलिमिटर औसत वर्षा हुने गर्छ तर यसपालि वर्षा सुरु भएको दुई महिना नपुग्दै मनसुनी वर्षाको  

आधाभन्दा बढी वर्षा भयो । यसबाट अघिल्ला वर्षको तुलनामा यसपटक बढी वर्षा भएको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार विगत केही वर्षदेखि नै नेपालमा वर्षायाम सकिने समय पर सर्दै गएको छ ।

गत वर्ष हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा भएको छ । हिउँदयाममा औसतभन्दा बढी वर्षा भएपछि त्यसको प्रभाव वर्षायाममा परेको मौसमविद्को भनाइ छ । देशभरका १६ वटा स्टेसनबाट आएका सूचना र स्याटेलाइट इमेजका आधारमा मौसमको पूर्वानुमान गर्ने गरिन्छ । यसैगरी विविध नमुना अध्ययनबाट पनि मौसम पूर्वानुमान गर्ने गरिएको छ ।  

अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वर्षायाममा नेपालमा सक्रिय हुने गरेको छ । सोही वायुकै कारण नेपालमा वर्षा हुने गरेको मौसमविद्हरू बताउँछन् ।  

उनीहरूका अनुसार मदागस्करबाट उत्पत्ति भएको जलवाष्पयुक्त वायुले लामो यात्रा गर्दै नेपालमा आउँछ हरेक वर्ष यो क्रम दोहरिन्छ । मदागस्करनजिकै टापुमा उच्चचापीय प्रणाली विकसित भई मनसुनी वायु उत्पत्ति हुने मौसमविद्हरू बताउँछन् । त्यहाँ उत्पन्न भएको वायु सोमालियाबाट मोडिएर भारतीयद्वीप बंगालको खाडी हुँदै नेपालमा आइपुग्छ ।  

शनिबारसम्म  नरोकिने
मौसमविद्का अनुसार शनिबारसम्म सामान्यता देशभर वर्षा जारी रहन्छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

बिहीबार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी शुक्रबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका धेरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबारसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित: ८ आश्विन २०७७ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App