८ वैशाख २०८१ शनिबार
समाज

मिडियाका समस्या सुल्झाउन एलाइन्स

सञ्चारमाध्यमलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै सञ्चार उद्यममा देखापरेका साझा समस्या समाधान गर्न मिडिया एलाइन्स तदर्थ समिति गठन भएको छ । बुधबार सम्पन्न भेलाले समान उद्देश्य राख्ने संस्था तथा अन्य निकायसँग समन्वय गरी सञ्चार उद्यममा देखिएका समस्या समाधान गर्न एलाइन्स गठन गरेको हो ।

एभिन्युज टिभीका भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको तदर्थ कार्यसमितिमा उपाध्यक्षहरू महेन्द्र शेरचन (राजधानी न्युज पब्लिकेसन) र राजु कँडेल (माउन्टेन टिभी), महासचिव लक्ष्मण हुमागाईं (इमेज च्यानल), कोषाध्यक्ष उज्ज्वल शर्मा (इम्प्रेसन पब्लिकेसन) छन् । सदस्यमा विजय पौडेल (जनता प्रकाशन तथा प्रसारण), ऋषि धमला (प्राइम टिभी), राजेन्द्र शाक्य (एपी वान टिभी) र समृद्धि ज्ञवाली (नेपाल रिपब्लिक मिडिया) छन् । सल्लाहकारमा विनोद ज्ञवाली (नेपाल रिपब्लिक मिडिया) र रामेश्वर थापा (अन्नपूर्ण नेटवर्क) छन् ।

सञ्चार उद्यममा देखापरेका समस्याको एकीकृत समाधान गर्दै तटस्थ, निष्पक्ष र जनउत्तरदायी सूचना समाजको निर्माणमा एलाइन्स सक्रिय रहने बताइएको छ । सञ्चारसम्बन्धी नीति र कानुन बन्दा सञ्चार उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने, कार्यरत पत्रकार, कर्मचारी, कामदारको हकहित संरक्षण, उद्यमीको लगानीको संरक्षणमा पहल गर्ने एलाइन्सको उद्देश्य छ । ‘आम सञ्चारमा अत्याधुनिक प्रविधि प्रयोग गरी पहुँचका आधारमा स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय, स्वामित्वका आधारमा सार्वजनिक, निजी, सार्वजनिकमा सरकारनियन्त्रित वा राज्यनियन्त्रित तथा निजीतर्फ नाफामूलक र गैरनाफामूलक, विषयवस्तुका आधारमा समेत मिश्रित, समाचारमूलक र मनोरञ्जनात्मकमा वर्गीकरण गरी तिनको सञ्चालनमा उपयुक्त वातावरण सिर्जना गर्नेतर्फ पहल गर्ने,’ संस्थाका उद्देश्यअन्तर्गत लेखिएको छ, ‘सबै वर्ग, क्षेत्र, भाषाभाषी जातजातिको उचित प्रतिनिधित्व हुनेतर्फ पहल गरी सञ्चारमाध्यममा सबैको स्वामित्व कायम गराउने र प्रकाशित तथा प्रसारित सामग्रीलाई मर्यादित बनाई सभ्य समाज निर्माणमा योगदान गर्ने ।’

विचार र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सबै प्रकारका गतिविधिलाई निस्तेज गर्दै बहुलवादी, लोकतान्त्रिक समाज निर्माणमा पहल गर्ने, समाजमा विद्यमान अवाञ्छित गतिविधिमाथि निगरानी गर्दै त्यसविरुद्ध एकीकृत रूपमा आवाज उठाउने, सञ्चारमाध्यमहरूलाई आत्मनिर्भर गराई गुणस्तर कायम गरी विदेशी सञ्चारमाध्यमको प्रभावलाई बिस्तारै कम गर्दै लाने उद्देश्य पनि एलाइन्सको छ । कोरोना महामारीका कारण आर्थिक चापमा परेका सञ्चार उद्योगलाई निर्बाध रूपमा सञ्चालनको वातावरण बनाउन सहुलियतपूर्ण ऋण व्यवस्थाका लागि पनि एलाइन्सले पहल गर्नेछ ।  

एलाइन्सले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ कार्यान्वयनमा भएको ढिलाइप्रति तत्काल प्रभावकारी कदम चाल्ने भएको छ ।

निष्पक्ष र जनउत्तरदायी सूचना समाज निर्माणमा सक्रिय रहने प्रतिबद्धता

विज्ञापन बोर्ड गठन गर्न, नेपालमा डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनबाट प्रसारण हुने विज्ञापन रोक्न र विज्ञापन बोर्डमा सञ्चार उद्यमीको सहभागिता सुनिश्चित गर्न पहल गर्ने उद्देश्यमा उल्लेख छ । सार्वजनिक प्रसारण सेवा गठनसम्बन्धी विधेयकका कमजोरी हटाउने, प्रसारण संस्थाको नियामक प्राधिकरण गठन माग गर्नेसमेत राखिएको छ । म्युजिक रेकर्डिङ कम्पनी, टेलिभिजन कार्यक्रम उत्पादन कम्पनीलाई नियमनको दायरामा ल्याउने, केबल अपरेटरलाई समेत नियमनको दायरामा ल्याउने भनिएको छ । निजी टेलिभिजनलाई पे च्यानलका रूपमा विकास गर्ने, फ्रिक्वेन्सी वितरणमा देखिएका समस्या र जटिलतालाई कम गर्ने पनि एलाइन्सको उद्देश्य छ । आवश्यकताभन्दा बढी रेडियो, टेलिभिजन खुल्ने क्रम जारी रहेकाले सकारात्मक विभेदका आधारमा लगानी कम गर्दै जाने पनि एलाइन्सले जनाएको छ । मिडिया काउन्सिल विधेयक र मिडिया काउन्सिलमा सञ्चार उद्यमीको प्रतिनिधित्व गराउँदा एलाइन्सले सिफारिस गरेका व्यक्तिलाई प्रतिनिधित्व गराउन माग गरिएको छ ।  

एलाइन्सले सूचना तथा प्रसारण विभाग र मुद्रण विभागलाई गाभेर एउटै बनाउने र दुवै विभागले गर्ने काम एउटैबाट गराई अभिलेखीकरणको काम प्रेस रजिस्ट्रारको कार्यालय स्थापना गरी व्यवस्था मिलाउन पहल गर्ने भएको छ । सञ्चारमाध्यमको पुनर्परिभाषा गरी सामाजिक सञ्जाल, ब्लग, युट्युबलाई सञ्चारमाध्यमको मान्यता नदिने एलाइन्सले जनाएको छ । सञ्चार क्षेत्रका काम नलाग्ने कानुन खारेज वा संशोधनका लागि पहल गर्ने, एउटा सञ्चार गृहमा रकम भुक्तानी नगरी अर्कोमा कारोबार गर्ने व्यक्ति, संस्था वा निकायलाई कालोसूचीमा राख्ने व्यवस्थाका लागि पहल गर्ने, सञ्चार उद्यमीका समस्या समाधानमा सामूहिक प्रयास गर्ने तर कुनै संस्थाको आन्तरिक मामिलामा प्रवेश नगर्नेलगायत ३० बुँदे उद्देश्य एलाइन्सको छ ।

प्रकाशित: ८ आश्विन २०७७ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App