विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।
५ असोजमा काठमाडौं बौद्धस्थित छोरीको घरमा उनको निधन भएको थियो।
बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पालाई हिम चितुवाका उपनामले समेत चिनिन्थ्यो।
कालिमाटीस्थित टेकु दोभानमा धार्मिक परम्परा अनुसार आज उनको अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए भने सुरक्षाकर्मीहरुले सलामी अर्पण गरेका थिए।
शवयात्रामा हिमाल आरोहीहरु, लामा धर्मगुरुहरु, उनका आफन्तजनलगायतको सहभागीता थियो।
गत मंगलबारकाे मन्त्रीपरिषद् बैठकले उनकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र काजक्रिया खर्च सरकारले नै व्यहाेर्ने निर्णय गरेकाे थियाे।
प्रकाशित: ७ आश्विन २०७७ ०७:१८ बुधबार