१६ चैत्र २०८० शुक्रबार
समाज

जुम्लाबाट रारा जाने छोटो सडक

जुम्ला खलंगादेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ। पहिले खलंगा, नाग्म, सिँजा क्षेत्र हुदै राराताल जाने गरेकोमा पछिल्लो समयमा खलंगाबजारदेखि छोटो सडक निर्माण भएपछि निकै सहज भएको हो। अहिले सदरमुकाम खलंगा, पातारासीको उर्थु, पट्मारा, खाली हुदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हुदै राराताल जानेको लर्को लाग्ने गरेको छ।  

नाग्म गमगडी सडक भन्दा यो सडक झण्डै तीन घण्टा छिटो पुगिन्छ। कर्णाली प्रदेश सरकारबाट खलंगा रारा सडकको स्तरोन्नति भएकोले यात्रा गर्न सहज हुने गरेको हो। यो समयमा दैनिक दुई तीन गाडी पर्यटक ओहोरदोहार गर्छन्।  पातारासी गाउँपालिकाका जयबहादुर बुढा यो सडक रारायात्राको लागि निकै उत्तम भएको बताउँछन्।  

उनले भने, ‘यो सडकबाट यात्रा गर्दा पाटनमा पर्यटकले रमाउन पाउँछन्। विभिन्न जडिबुटी, फुलसंग रमाउँछन्। यहाँका पाखापखेरामा पाल हालेर पर्यटक बस्छन्। निकै रमाइलो अनुभुत हुन्छ ।’ जहाजबाट जुम्ला सदरमुकाम खलंगा पुगेर छोटो सडक हुँदै रारा पुगेर सिँजा हँुदै नाग्मगमगडी सडकबाट फर्कने गरेको स्थानीय बताउँछन् ।

खलंगा रारा सडक स्तरोन्नतिको काम भइरहेकोछ। यो सडक ग्राभेल गर्ने हो भने वर्षेनी पर्यटक ओहोरदोहोर गर्न सक्ने देखिएको छ। नाग्म हुदै राराताल जाने सडकका कारण जुम्ला सदरमुकाम खलंगा ओझेलमा थियो। प्रशिद्ध चन्दननाथ मन्दिर र डुंडुल चैत्य पर्यटकविहिन हुन्थे। यो सडकले हरेक पर्यटक खलंगा हुदैँ राराताल पुगेर सिँजा हुदैँ फर्कन्छन्।  

चन्दननाथ मन्दिर र डुंडुल चैत्य राष्ट्यि स्तरका पर्यटक गन्तव्य हुन्। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको पहलमा खलंगा रारा छोटो सडक स्तरोन्नति भइरहेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्रीको टोली छोटो सडकको अनुगमन गर्दै राराताल पुगेको थियो।

यो सडकले समयको पनि सदुपयोग हुने र पाटनमा मनमोहक दृश्यसमेत कैद गर्न सकिने पर्यटकहरु बताउँछन्।  नाग्म गमगडी सडक हुँदै राराताल जाँदा ८ घण्टा समय लाग्छ। तर खलंगा रारा सडक हुदैँ जाँदा पाँच घण्टा मात्र। आन्तरिक पर्यटक नमराज सापकोटा भन्छन्, ‘छोटो सडकले यात्रा सहज भइरहेको छ। अब सडकको बीचभागमा सुविधासम्पन्न पर्यटकमैत्री संरचना निर्माण हुन जरुरी छ। ’ग्राभेल नहुँदा बर्षायाममा यो सडक हिलाम्य हुन्छ। तर नाग्मगमगडी सडक भन्दा निकै सजिलो हुने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित: ७ आश्विन २०७७ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App